ठूला खालका हत्या काण्डको नयाँ शिराबाट छानविन गर्नु पर्छ : प्रधानमन्त्री दाहाल

  • प्रकाशित मितिः जेठ ४, २०८०
  • 276 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
काठमाडौँ, जेठ ४—प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको इतिहासमा भएका ठूल्ठूला हत्याकाण्डको नयाँ शिराबाट छानबिन गर्नुपर्ने पक्षमा आफू रहेको बताएका छन् । उनले विगतमा भएका घटना बिर्साउने प्रयास भइरहेको पनि बताएका हुुन् ।
प्रतिनिधिसभामा सांसदहरूसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमका क्रममा आम जनता पार्टीका सांसद प्रभु साहले गरेको प्रश्नको जवाफमा विगतमा भएका बीभत्स हत्याकाण्डको नयाँ शिराबाट छानबिन हुनुपर्ने बताएका हुन् ।
सांसद साहले गौर हत्याकाण्डको छानबिनका लागि प्रश्न सोधेका थिए । जवाफमा प्रधानमन्त्री दाहालले गौर हत्याकाण्डसहित दरबार हत्याकाण्ड र मदन–आश्रित घटनाको छानबिन गर्नुपर्ने पक्षमा आफू रहेको बताए । ’गौर हत्याकाण्डको कुरा उठाउनुभयो । म चाहिँ के पक्षमा छु भने विगतका ती सबै बीभत्स र भयानक हत्याकाण्डहरूको नयाँ शिराबाट छानबिन हुनुपर्दद्धछ । चाहे त्यो गौरको केस होस्, चाहे त्यो भयानक दरबार हत्याकाण्ड नेपालको इतिहासकै सबैभन्दा बिभत्स हत्याकाण्डको पनि नयाँ शिराबाट छानबिन हुनुपर्दछ,’ उनले भने, ’अहिले जे जसरी ती कुरालाई बिर्साउने कोसिस भइराखेको छ त्यसलाई हामीलाई गम्भीर रूपमा लिनुपर्छ भन्ने म ठान्दछु । मदान–आश्रितको बारेमा पनि नयाँ शिराबाट छानबिन हुनुपर्दछ भन्ने ठान्छु ।’
यी विषयमा सबैले परामर्श गर्नुपर्ने पनि दाहालको भनाइ थियो । ती विषयमा सबैले विचार विमर्श गरेर उपयुक्त बाटो पहिल्याउनुपर्ने प्रधानमन्त्रीले बताए । एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा जीप दुर्घटनामा निधन भएको थियो ।
दरबार हत्यकाण्ड २०५८ जेठ १९ मा भएको थियो । दरबार हत्यकाण्डमा तत्कालीन राजा वीरेन्द्र शाह, रानी ऐश्वर्य शाह, युवराज दीपेन्द्र शाहलगायतको हत्या भएको थियो । राजा वीरेन्द्रको पूरै परिवारको हत्या भएपछि उनका भाइ ज्ञानेन्द्र शाह राजा भएका थिए ।
रौतहटको गौरमा २०६३ चैत ७ मा घटना भएको थियो । तत्कालीन मधेसी जनअधिकार फोरम र माओवादीनिकट मधेसी राष्ट्रिय मुक्ति मोर्चाले एकैदिन रौतहटको गौर नगरपालिका–५ स्थित राइस मिल्सको चौरमा आमसभा आयोजना गरेका थिए । सोही क्रममा २७ जनाको हत्या भएको थियो । इकान्तिपुरअनलाइनले छापेको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित