शिक्षाका लागि चालु आर्थिक वर्षमा मात्र ६७ अर्ब १९ करोड रकम बाहिरियो : प्रधानमन्त्री दाहाल

  • प्रकाशित मितिः जेठ ४, २०८०
  • 297 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता-
काठमाडौँ, जेठ ४–प्रधानमन्त्री पुष्पकमल दाहालले विदेश पढ्न जाने विद्यार्थीमार्फत् चालु आर्थिक वर्षमा मात्र ६७ अर्ब १९ करोड रकम बाहिरिएको बताएका छन् । प्रतिनिधिसभामा सांसदहरूसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमका क्रममा कांग्रेस सांसद ईश्वरी न्यौपानेले सोधेको प्रश्नको जवाफमा उनले यो आर्थिक वर्षको पहिलो ९ महिनामा पढाइका लागि नेपालीले विदेश जाँदा उक्त रकम बाहिरिएको जानकारी दिएका हुन् ।

सरकारी स्कुलमा अभिभावकको विश्वास घट्दै जाँदा निजी विद्यालयको व्यापार बढ्दै गएको तथा स्वदेशमा रोजगारमूलक शिक्षा नहुँदा विद्यार्थी विदेसिँदा कति रकम बाहिरियो भनेर सांसद न्यौपानेले सोधेको प्रश्नको जवाफमा प्रधानमन्त्री दाहालले भने, ’आर्थिक वर्ष २०७९÷८० को पहिलो ९ महिनामा ९०३ अर्ब ३९ करोड रुपैयाँ रेमिट्यान्स प्राप्त भएको छ । जुन गत आर्थिक वर्षको तुलनामा २४ दशमलव २ प्रतिशत वृद्धि हो । यहि अवधिमा नेपाली विद्यार्थी विदशेमा पढ्न जाँदा ६७ अर्ब १९ करोड रुपैयाँ बाहिरिएको देखिएको छ ।’

प्रधानमन्त्री दाहालले सरकारी शिक्षा सुधारलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए । त्यसका लागि सबै तहका सरकारहरूले समन्वयमा काम गरिरहेको बताए । ’सरकारी एवं सार्वजनिक शिक्षा सुधारलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ । सरकारी विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्न सरकार प्रतिबद्ध रहेको जानकारी गराउन चाहन्छु । सबै सरकारी विद्यालयमा गुणस्तरीय र रोजगारमूलक शिक्षा प्रदान गरी स्वदेशमा नै रोजगारीका अवसर सिर्जना गर्न हालको शिक्षा नीतिमा केही गुणात्मक सुधार गर्ने सरकारको धारणा रहेको छ । साथै विद्यालयको संरचनागत र भौतिक सुधारमा जोड दिइएको छ,’ उनले भने, ’शिक्षकको क्षमता विकासका कार्यक्रम संचालनमा रहेका छन् । स्थानीय तह र प्रदेश सरकारसँग प्रवभाकारी समन्वय गरी विद्यालयको अनुगमन र मूल्यांकन गरिँदै आएको छ । यस्ता कार्यलाई निरन्तरता दिई थप सुधार गरिने व्यवस्था छ ।’

नेपालमा नै रासायनिक मल कारखाना खोल्नका लागि सम्भाव्यता अध्ययन भइरहेको पनि प्रधानमन्त्री दाहालले बताए । उनले भने, ’नेपालमा रासायनिक मल उत्पादन गर्ने सम्बन्धमा नेपाल लगानी बोर्डमा प्राप्त भएका विभिन्न प्रस्तावहरूको सम्भाव्यता अध्ययन कार्य भइरहेको जानकारी गराउन चाहन्छु । मल कारखाना उत्पादन गर्ने कार्यलाई उच्च प्राथमिकता दिई अगाडि बढाउने जानकारी गराउन चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित