करारका कर्मचारीहरुले महुरेगढी बहुउद्देश्यीय प्राविधिक शिक्षालयमा ताला लगाए

  • प्रकाशित मितिः जेठ १, २०८०
  • 299 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता-
खोटाङ, जेठ १–देशब्यापी कार्यक्रम अन्तरगत महुरेगढी बहुउद्देश्यीय प्राविधिक शिक्षालयमा कार्यरत करारका कर्मचारीहरुले कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेका छन् । विभिन्न चार बुँदे माग राख्दै देशभर आन्दोलित बनेका करारका कर्मचारीहरुले जेठ १ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा सञ्चालित महुरेगढी बहुउद्देश्यीय बहुप्राविधिक शिक्षालय कार्यालयमा समेत अनिश्चितकालीन तालाबन्दी गरेका हुन् ।

तत्काल विनियमावली संसोधन गरी सेवा करारलाई कर्मचारीको रुपमा परिभाषित गर्दै सिटिइभिटी सेवा आयोग गठन गरेर खुला विज्ञापनको ८० प्रतिशत पदमा उमेर हदबन्दी नलाग्ने गरी थप दरबन्दीसहित सीमित खुलाको व्यवस्थामार्फत स्थायी पदपूर्ति प्रकृयामा सामेल गर्नुपर्ने लगायतका चार बुँदे माग राखेका छन् । आफूहरुको माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम गर्ने सेवा करार सङ्घर्ष समिति, महुरेगढी बहुउद्देश्यीय प्राविधिक शिक्षालय इकाई समिति अध्यक्ष सिर्जन शर्माले बताउनुभएको छ ।

उनीहरुले करारका कर्मचारीलाई स्थायी कर्मचारीको रुपमा परिभाषित नहुञ्जेल स्थायी पदपूर्ति प्रकृया रोक्नुपर्ने, स्थायी पदपूर्ति प्रकृयामा छनोट हुन नसकेका सेवा करारलाई सेवा करार अवधि अनुसार न्यूनतम प्रतिवर्ष तीन महिनाको तलब बराबरको रकम उपदानको व्यवस्था हुनुपर्ने र सेवामा प्रवेश गरिसकेपछि कर्मचारी संचयकोष, बिदा, बीमा तथा अन्य सुविधाहरु अनिवार्य रुपमा स्थायी कर्मचारी सरह हुनुपर्ने, निर्मल लामा, सेती नेपाल बनेपा तथा लाहान बहुप्राविधिक शिक्षालय लगायत देशका विभिन्न शिक्षालयमा देखिएको कर्मचारी विस्थापनको समस्या र करारले पाउँदै आएको महङ्गी भत्ता उपलब्ध नभएको र बेरुजु जस्ता समस्याहरु तत्काल समाधान गर्नुपर्ने र स्थायी पदपूर्ति गर्दा सेवा करार समयावधिको मुल्याङ्कन हुनुपर्ने लगायतका माग राखेका छन् ।

सिटिइभिटीमा कार्यरत सेवा करार केन्द्रीय कार्यसमितिको वैशाख–१३ गते बसेको बृहत भेलाले विभिन्न माग राख्दै आन्दोलनका कार्यक्रमहरु तय गरेको थियो । सोहि क्रममा वैशाख–३१ गते देशभरका शिक्षालयमा कार्यरत सेवा करारका कर्मचारीहरुले हातमा कालोपट्टी बाँधेर काम गरेका थिए ।

शिक्षालयको प्रशासन र लेखा शाखामा तालाबन्दी गरिए पनि पठनपाठन र परीक्षा भने नियमित सञ्चालन हुने विज्ञप्तिमार्फत जनाइएको छ । सङ्घर्ष समितिले जारी गरेको विज्ञप्ति अवगतका लागि जिल्ला प्रशासन र वोदार्थका लागि प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् केन्द्रीय कार्यालय सानोठिमी भक्तपुर तथा प्रदेश कार्यालय सुनसरी इटहरीमा समेत पठाइएको छ ।

janakari

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित