खोटेहाङमा रामप्रसाद राईको सालिक अनावरण गरियो

  • प्रकाशित मितिः फाल्गुन ८, २०७९
  • 1036 पटक पढिएको
  • संवादताता

दिनेश राई–
खोटाङ, फागुन ८–एक वर्षदेखि घुम्टोमा राखिएको २००७ सालका क्रान्तिका नायक रामप्रसाद राईको सालिक फागुन ८ गते अनावरण गरिएको छ । खोटेहाङ गाउँपालिका–७ खोटाङबजार टुडिखेलमा सालिक प्रतिनिधिसभा सदस्य रामकुमार राईले सोमबार अनावरण गरेका हुन् ।
करिब ७९ लाखको लागतमा विभिन्न संरचना सहित सालिक निर्माण गरिएको खोटेहाङ गाउँपालिका–७ खोटाङबजारका वडाअध्यक्ष शिव फुयालले बताए । गत वर्षको पुसमै काम सकिने बित्तिकै राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट उद्घाटन गर्ने योजना बनाइए पनि स्थानीय तहको चुनाव आएपछि त्यत्तिकै रहेको फुयालको भनाई छ ।
२००७ सालमा क्रान्तिको नेतृत्व गर्ने राईको सम्मानमा उक्त सालिक राखिएको हो । खोटाङ बजारलाई पर्यटन तथा विकासको केन्द्रविन्दु बनाउँने उद्देश्यले सालिक राखिएको फुयालले बताए । सालिक सहितका विभिन्न संरचनाका लागि खोटेहाङ गाउँपालिकाको ४९ लाख र प्रदेश सरकारको ३० लाख रुपैया“ खर्च भएको फुयालको भनाई छ ।
उक्त ठाउँमा राईले रोपेको स्वामीको रुख पनि छ । त्यसै नजिक सालिक राखिएको हो । सन्तान वियोगमा राईले उक्त रुख रोपेको स्थानीय तथा खोटाङ बजारस्थित दीनानाथ भगवती उच्च माविका पूर्व प्रअ ७९ वर्षीय माणिकलाल प्रधानको भनाई छ । भोजपुरको बासिखोरा हालको रामप्रसाद राई गाउँपालिका–७ बासिखोरामा जन्मिएका राई तत्कालीन सेनाका लेफ्टिनेन्ट थिए । २०१८ सालअघि खोटाङ बजारमा भोजपुरको प्रशासनिक अड्डा थियो । राई त्यही अड्डामा कार्यरत थिए । त्यसै बेला कांग्रेससंग मिलेको आरोपमा २००६ सालमा जागिरबाट बर्खास्त गरिएपछि २००७ सालमा क्रान्तिको नेतृत्व गरेका थिए । त्यसपछि २००८ सालमा सिंहदरबार कब्जा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित