स्वास्थ्यकर्मीको आन्दोलनले अस्पतालको सेवा बन्द

  • प्रकाशित मितिः माघ २९, २०७९
  • 349 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, माघ २९–स्वास्थ्यकर्मीको आन्दोलनले जिल्ला अस्पताल खोटाङको आकस्मिक बाहेकका सेवा बन्द भएको छ । गत माघ २७ गते काठमाडौंमा राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा ट्रमा सेन्टरका चिकित्सक डा. जनिथलाल सिंहमाथि भएको कुटपिटको विरोधमा आकस्मिक बाहेकको ओपीडी सेवा बन्द गराएको हो ।
यस विषयमा माघ २९ गते सरकार र नेपाल चिकित्सक संघ (एनएमए) बीचको वार्ता सहमतिपछि फागुन १ गतेदेखि भने सेवा सुचारु हुने भएको छ । सरकारका प्रतिनिधि तथा नेपाल चिकित्सक संघका प्रतिनिधिबीच प्रधानमन्त्री कार्यालयमा भएको वार्तासँगै ६ बुँदे सहमति भएपछि आन्दोलनका सम्पूर्ण कार्यक्रम तत्काल स्थगित गरी चिकित्सकहरू काममा फर्किने भएका हुन् ।
सहमति अनुसार सरकार एक साताभित्रै ’विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७’लाई अध्ययन गरेर पुनरावलोकन गर्ने र त्यसलाई तत्काल कार्यान्वयन गर्ने भएको छ । यस्तै, भीभीआईपीको आवागमनको नाममा चिकित्सकमाथि कुटपिट गर्ने प्रहरीलाई कारबाही गर्नुका साथै अन्य संलग्न माथि पनि अनुसन्धान गरेर कारबाही अगाडि बढाउने सहमति भएको छ । यसका साथै नेपाल चिकित्सक संघ र सरकारबीच स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीको सुरक्षाका लागि बनाइएको कानुनलाई पूर्णरुपमा लागू गर्दै त्यसलाई थप सशक्त बनाएर लैजाने विषयमा पनि सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित