सविना अछामे–
खोटाङ, माघ २–दिप्रुङ चुइचुम्मा गाउँपालिका १ याम्खा खामडाडाँकी ४० वर्षीया नैनकला अधिकारीले खाँडी कपडा बुनेको २८ वर्ष भयो । धनकुटाको महाभारत गाविस (हालको सागुरीगढी गाउँपालिका–९ महाभारत)मा जन्मिएकी उनले १२ वर्षदेखि नै खाँडी कपडा बुन्न थालेकी हुन् ।
खोटाङ दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाका दीपबहादुर अधिकारीसंग २०५५ सालमा बिहे गरेपछि यो पेशालाई निरन्तरता दिएकी छन् । हाते तानबाट खाँडी बुन्दै आएकी उनले पछिल्लो समयदेखि आधुनिक औजारबाट मनग्गे उत्पादन थालेकी हुन् । खाँडी र अल्लो गरी मासिक ५०–६० हजार रुपैयाँ आम्दानी हुने अधिकारीले बताइन् । ‘यसबाट राम्रो आम्दानी भइरहेको छ ।’ उनले भनिन्–‘श्रीमान र छोराले पनि साथ दिइरहेकाले राम्रो भइरहेको छ ।’
कपडा उत्पादन गर्ने आधुनिक औजार आफ्नै श्रीमानले बनाउँने गरेकाले सहज भएको उनको भनाई छ । छोरा बबिनलाई पनि यसबारेमा राम्रो ज्ञान भएकाले सहज भएको उनले सुनाइन् । बबिन अहिले खाँडी कपडासम्वन्धी १८ महिने तालिमका लागि बिराटनगरमा छन् । आफूले उत्पादन गरेको खाँडी कपडा थानको तीन हजारदेखि पाँच हजार रुपैयाँमा विक्री हुने गरेको उनले बताइन् । अल्लोको भाउ भने महङ्गो हुने उनले जनाइन् । अल्लोको कपडा थानको पाँच हजारदेखि ४५ हजारसम्म पर्ने उनले सुनाइन् ।
उक्त गाउँमा अरुले पनि अल्लो र खाडी उत्पादन गर्छन् । रातमाटाकी शान्ता राई, लिलिमाकी गङ्गा श्रेष्ठले पनि उत्पादन गर्ने गरेका छन् । यसबाहेक साकेला गाउँपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका लगायतका विभिन्न ठाउँमा खाँडी तथा अल्लो कपडा उत्पादन हुने गरेको छ । उनीहरुले उत्पादन गरेको कपडा जिल्लामै खपत हुन्छ ।
हलेसी तुवाचुङ नगरपालिकामा पनि खाँडी कपडा उत्पादनमा जोड दिइएको छ । उक्त नगरपालिकाको वडा नं ७ हलेसीका ८० जना महिला सहभागी दुई समूहलाई खाँडीको धागो उत्पादनका लागि कपास खेती गर्न दश लाख नगरपालिकाले अनुदान दिएको छ । अहिले कपास उत्पादन भइरहेको योजना शाखा प्रमुख रमेश श्रेष्ठले बताए । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकामा अल्लोको धागो उत्पादनका नगरपालिका र घरेलुसंग सहकार्य भइरहेको वडाअध्यक्ष मुगाधन राईले बताए ।
माझकिरात खोटाङको तुवाचुङ–जायजुममा तयामा–खियामाले किराती संस्कृतिको खाँडी, छिट, अल्लो लगायतका कपडा बुन्ने शीप आविस्कार गरेको किराती मिथकमै उल्लेख भएकाले खोटाङमा उत्पादित खाँडी, अल्लोका लागि प्रख्यात मानिन्छ ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, माघ १६–हलेसी मन्दिरमा चोरी ... ... ...
सविना अछामे–खोटाङ, माघ १३–जापानको तोचिगी नगर प... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ११–साकेला ग... ... ...
सविना अछामे–खोटाङ, माघ ११–जिल्लाको दिक्तेल रु... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ९–लालुपाते ... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2023 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित