दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विसन राईले प्रस्तुत गरेको बजेट तथा कार्यक्रम

  • प्रकाशित मितिः असार १०, २०७९
  • 536 पटक पढिएको
  • संवादताता

यस गरीमामय नगरसभाका आदरणीय सभाध्यक्ष महोदय,

सभाका आदरणीय सदस्यज्यूहरु,

राष्ट्रसेवक कर्मचारीहरु, सञ्चारकर्मी एवं समस्त नगरवासी महानुभावहरु,

आर्थिक वर्ष २०७९/८० को बार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्न म यस गरिमामय नगरसभामा उपस्थित भएको छु । सर्वप्रथम राष्ट्रियता र भौगोलिक अखण्डतालाई अक्षुण्ण राख्दै लोकतान्त्रिक शासन प्रणाली स्थापना र जातीय तथा वर्गीय विभेद अन्त्य गर्ने अभिलाशाका साथ राष्ट्र र राज्य निर्माणको संघर्षपूर्ण दौरानमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने ज्ञात अज्ञात सहिदहरू प्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दछु। दशवर्षे जनयुद्ध, मधेश आन्दोलन लगायत अधिकार प्राप्तिसँग जोडिएको सम्पूर्ण आन्दोलनमा घाईते तथा अपाङ्ग हुनु भएका देशभक्तहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै उहांहरूको योगदान प्रति उच्च सम्मान प्रकट गर्न चाहन्छु ।

नेपालको संविधान अनुसार २०७९ वैशाख ३० गते सम्पन्न भएको स्थानीय सरकारको दोश्रो निर्वाचनमा आफ्नो अमूल्य मत दिई अत्याधिक बहुमतबाट हामीलाई निर्वाचित गर्नु हुने मतदाता लगायत सम्पूर्ण नगरवासीप्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहान्छु ।

विश्वव्यापी महामारी कोरोना भाइरसका कारण जीवन गुमाउनु हुने सबै नागरिकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु। वहाँहरूको परिवारजनमा समवेदनाका साथै संक्रमितहरूको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु। यस महामारीका विरुद्ध अग्रपंक्तिमा रहेर खटिनुभएका सबै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, जनप्रतिनिधि र सम्पूर्ण नागरिकहरूप्रति हार्दिक धन्यवाद र कृतज्ञता ज्ञापन गर्न चाहन्छु।

यति बेला विश्व बजार कोभिड-१९ को नकारात्मक प्रभावसँग जुधिरहेको छ । विश्वका शक्ति राष्ट्रहरु बीचको सामरिक र व्यापारिक अस्वस्थ प्रतिस्पर्धाले नेपाल जस्तो विकासोन्मुख राष्ट्रको अर्थतन्त्रमा प्रत्यक्ष असर परेको छ । सोही कारण नेपाली अर्थतन्त्र तरलताको अभावमा गुज्रिरहेको चुनौतिपूर्ण परिप्रेक्षमा हामीले नगरबासीसँग गरेको बाचा र नगरबासीले हामीसँग गरेको आशा, भरोसा र विश्वासको धरोधरलाई यो बजेटले थप उचाईमा पुग्ने विश्वास लिएको छु ।

"शासक होईन सेवक बनौं स्वाबलम्वी र पारदर्शी भई समृद्ध बनौं" भन्ने सुशासनको नीतिलाई व्यवहारमा उतार्दै नगरबासीले अपेक्षा गरे बमोजिम नगरपालिकाबाट प्रवाह हुने सबै प्रकारका सेवाहरु छिटो छरितो, गुणस्तर, सरल र सहज रुपमा उपलब्ध गराई नागरिकले खोजेको र रोजेको जस्तो अनुमानयोग्य सेवा प्रवाहमा यो बजेट केन्द्रित हुने विश्वास गर्दछु ।

स्थानीय तहको पहिलो निर्वाचनबाट गठित स्थानीय सरकारले गरेको राम्रा कामहरुलाई आत्मसाथ गर्दै नगरभित्रको प्राकृतिक स्रोत साधनको वृहत्तर सदुपयोग गरी नगरलाई आर्थिक, सामाजिक, भौतिक, वौद्धिक, साँस्कृतिक र वातावरणीय लगायत सर्वपक्षीय दृष्टिकोणबाट समृद्ध बनाउन "नगर हाम्रो प्राण- नगर हाम्रो शान, नगरमै छ जिन्दगी-विकासमा छ ध्यान" भन्ने नगरले लिएको विकासात्मक नीतिलाई कार्यान्वयन गर्न यो बजेट कोशेढुङ्गा सावित हुने आशा लिएको छु ।

नीतिगत, कानूनी एवं संस्थागत संरचनाको सिमितता र सिमित स्रोत साधन तर असिमित आवश्यकताको बीचबाट हामीले लिएको दीर्घकालीन सोच, लक्ष्य र सपना पुरा गर्न अनेकौ चुनौतिहरूको सामना गर्दै विकास र समृद्धिको गन्तव्यसम्म पुग्न हामी स्वर्णिम यात्रामा अघी बढिरहेका छौं।

हामी सामु कयौँ अवरोधहरु छन् । हामी हाम्रो हरेक पाइलाहरु सुझबुझका साथ चाल्ने छौँ । यस्ता अफ्ठ्याराहरु सबै जनप्रतिनिधि, राजनैतिक दल, संघ-संस्था, निजी क्षेत्र, सरोकारवाला निकायहरू तथा आम नगरवासीहरूको सहयोग, सहकार्य र ऐक्यबद्धताले परास्त गर्दै गन्तव्यसम्म पुग्ने कुरामा कुनै सन्देह छैन । समय सापेक्षित रुपमा खडा हुने चुनौतीलाई सामना गर्दै प्राप्त अवसरलाई उपयोग गर्ने तर्फ आगामी वर्षको बजेट केन्द्रित हुनेछ । बजेट कार्यान्वयनको क्रममा आउने परिस्थितिले निर्माण गरेको प्रतिकूलतालाई कानुनी तथा संस्थागत व्यवस्था गरी बजेटलाई पूर्ण कार्यान्वयन गरेर सफल बजेटको रुपमा अवतरण गरिने छ ।

सभाध्यक्ष महोदय तथा सदस्यज्यूहरु,

आन्तरिक श्रोत परिचालन क्षमता अत्यन्त न्यून रहेको यो नगरपालिकासामू नगरबासीहरुको असिमित अपेक्षाहरु सम्बोधन गर्न चुनौतिका चाँङहरु छन् । तथापि भौगोलिक विविधता, प्राकृतिक सौन्दर्यता, जातीय तथा धार्मिक सहिष्णुता, पर्यटकीय महत्वले भरिएको यो नगरपालिका सम्भावनै सम्भावनाले सजिएको छ । यिनै सम्भावनाहरुलाई उपयोग गरेर सिमित स्रोत साधनको वैज्ञानिक परिचालन र अन्य संघीय इकाईहरुसँगको सहकार्यबाट यो नगरपालिकालाई विकसित र समृद्ध बनाउने सोचका साथ आर्थिक वर्ष २०७९।८० को यो बजेट तथा कार्यक्रम यस गरीमामय सभामा प्रस्तुत गर्न गईरहेको छु ।

भुई तहमा रहेका गरिब तथा विपन्न समुदाय र सिमान्तकृत वर्गलाई प्रत्यक्ष लाभ पुग्ने, उच्च तथा दिगो आर्थिक प्रतिफल दिने, स्थानीय समुदायको सामाजिक आर्थिक उन्नती हुने, वातावरण संरक्षण र विपद व्यवस्थापनमा योगदान पुर्याउने,  स्थानीय स्रोत साधनमा आधारित रोजगारी प्रवर्ध्दन र सहभागितामूलक प्रणालीलाई आयोजना छनोटका आधार मानिएको छ।

आर्थिक वर्ष 207९।८० को यो बजेट तयारी गर्दा नगरबासीको इच्छा र अपेक्षालाई सबै भन्दा उच्च स्थानमा राखेको छु । नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन तथा अन्य विद्यमान कानूनहरू, संघीय सरकार तथा प्रादेश सरकारका नीति, बजेट तथा कार्यक्रम, पन्ध्रौं योजना र प्रदेशको आवधिक योजना, दिगो विकास लक्ष्य, नेपालले गरेको अन्तराष्ट्रिय प्रतिवद्धताहरु, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रथम आवधिक योजना (२०७५।७६ – २०७९।८०) ले निर्देशित गरेका लक्ष्यहरु, नेपाल सरकारबाट प्राप्त निर्देशिका तथा मार्गदर्शनहरूलाई महत्वपूर्ण आधारको रुपमा लिएको छु। जनप्रतिनिधि, राजनैतिक दल, निजी क्षेत्र, संघ-संस्था, बुद्धिजिवी, पेशाविद् र आम नागरिकबाट प्राप्त भएका रचनात्मक सुझावहरूलाई अंगिकार गरेको छु ।

हाम्रो नगरपालिकाको श्रोत अनुमान तथा सीमा निर्धारण समिति, राजस्व परामर्श समिति, बजेट तथा कार्यक्रम तर्जुमा समिति, सबै विषयक्षेत्रगत समितिहरु, सबै वडा समितिहरु, संघ-संस्थाहरू, वडावासीहरु, विभिन्न लक्षित वर्गका प्रतिनिधीहरुको प्रत्यक्ष उपस्थितिमा सहभागितात्मक ढंगबाट माग भई आएका योजनाहरु, प्राप्त सल्लाह र सुझाव समेतलाई आत्मसात गर्दै नगर कार्यपालिकाको बैठकमा सघन छलफल गरेर सर्वसहमतले पारित भए बमोजिम यो बजेट तथा कार्यक्रम प्रस्तुत गर्न गईरहेको छु ।

सभाध्यक्ष महोदय तथा सदस्यज्यूहरु,

अब म आर्थिक बर्ष २०७७।०७८ को यथार्थ र आर्थिक वर्ष 207८।07९ को आय र व्ययको संशोधित अनुमान प्रस्तुत गर्न चाहन्छु।

  • आर्थिक बर्ष २०७०७८ को आय व्ययको यथार्थ विवरण:-
    • आर्थिक बर्ष २०७७।०७८ को आन्तरिक आय (राजस्व) बाट प्राप्त रकम रु. 9० लाख ७६ हजार ।
    • संघीय सरकार राजश्व बाँडफाँडबाट प्राप्त रु. १० करोड 1९ लाख ३७ हजार ३ सय ८४ र प्रदेश सरकार राजश्व बाँडफाँडबाट प्राप्त रु. १ करोड ९४ लाख २१ हजार १ सय २६ गरी राजश्व बाँडफाँडबाट प्राप्त जम्मा रु. १२ करोड 1३ लाख ५८ हजार ५ सय १० ।
    • संघीय सरकारको वित्तीय समानिकरण अनुदान रु. 14 करोड ४१ लाख, संघीय सशर्त अनुदान रु. ५१ करोड १० लाख ६९ हजार ५ सय ३८,  समपूरक अनुदान रु. ३ करोड ३४ लाख ५९ हजार,  विशेष अनुदान रु. ३ करोड ८९ लाख १ हजार ५ सय ३० र अन्य अनुदान रु.२३ लाख ४१ हजार १ समेत जम्मा प्राप्त रु. ७२ करोड ९८ लाख ७१ हजार ६९ ।
    • प्रदेश सरकारबाट समानीकरण अनुदान रु. ७५ लाख ६२ हजार, सशर्त अनुदान रु. २ करोड ८४ लाख ३४ हजार, समपूरक अनुदान रु.१ करोड गरी जम्मा प्राप्त अनुदान रु. ४ करोड ५९ लाख ९६ हजार ।
    • वास्तविक कुल आय रु. ९० करोड ६३ लाख १ हजार ५ सय ७९ मध्ये ८० करोड ६१ लाख ७९ हजार ५ सय ७६ खर्च भएको । यो वास्तविक कूल आय रकमको ८६.२५ प्रतिशत हुन आउंछ।
  • चालु आर्थिक बर्ष २०७८।०७९ को आय र व्ययको संशोधित अनुमान:-
    • चालु आर्थिक बर्ष २०७८।०७९ को विनियोजन ऐन अनुसार विनियोजित रकम रु. ९० करोड १८ लाख ९७ हजार 9 सय ८२  र  विनियोजन ऐन अन्तर्गत समावेश नभएको संघ तथा प्रदेशबाट प्राप्त विशेष अनुदान, समपूरक अनुदान,  सशर्त अनुदान र अन्य अनुदान समेत रु. ३ करोड ४९ लाख ३० हजार ७५ गरी कुल संशोधित बजेट रु. ९३ करोड ६८ लाख २८ हजार ५७ हुन गएको छ।
    • आन्तरिक आय (राजस्व) तर्फ रु. 1 करोड ९५ लाख अनुमान गरिएकोमा 207९ असार ७ गतेसम्म रु. 5७ लाख ३० हजार १५ मात्र प्राप्त भएको छ।
    • संघीय सरकार तर्फको राजश्व बांडफाडंबाट रु. १1 करोड १५ लाख ६७ हजार प्राप्त हुने अनुमान गरिएकोमा हालसम्म रु. १० करोड २४ लाख ८८ हजार २ सय ४१ मात्र प्राप्त हुन आएको छ।
    • प्रदेश सरकार राजश्व बांडफांडबाट रु. २ करोड २१ लाख ५५ हजार प्राप्त हुने अनुमान गरिएकोमा हालसम्म रु. 1 करोड ८६ लाख ७१ हजार ९ सय 3८ प्राप्त भएको छ।
    • कुल संशोधित बजेट रु. ९३ करोड ६८ लाख २८ हजार ५७ मध्ये 207९ असार पहिलो साता सम्म पूँजिगत तर्फ रु. २३ करोड ४० लाख १२ हजार २ सय २३ रुपैंया र चालु तर्फ रु. ४८ करोड 8४ लाख २६ हजार १ सय ८२ गरी जम्मा रु. ७२ करोड २4 लाख ३८ हजार ४ सय ५ खर्च भएको छ। जसमा पुँजिगत तर्फ ५9.३2 प्रतिशत, चालु तर्फ 7.0 प्रतिशत र कुल वजेटको 6९.७० प्रतिशत खर्च भएको छ ।

 

 

 

सभाध्यक्ष महोदय, तथा सदस्यज्यूहरु,

अब म आर्थिक वर्ष 2079।80 को बजेटका उद्देश्य तथा प्राथमिकताहरु प्रस्तुत गर्न गईरहेको छु ।

बजेटका उद्देश्यहरु :-

  • कृषिमा रोजगारी सिर्जना गरी स्वावलम्बी बनाउने।
  • शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने।
  • दिगो र गुणस्तरीय पूर्वाधार विकास गर्ने ।
  • विभिन्न वर्ग, लिङ्ग, सम्प्रदाय, क्षेत्र र जातजातिको समावेशी र समन्यायिक विकास गर्ने ।
  • सबै क्षेत्रमा सुधार गर्दै सुशासन युक्त नगरपालिकाको रुपमा विकास गर्दै लैजाने ।

बजेटका प्राथमिकताहरु :-

  • "मेरो नगर - म बनाउँछु" भन्ने नीतिलाई कार्यान्वयन गर्न रोजगारी वृद्धि गर्ने, स्थानीय कृषि उत्पादनमा वृद्धि गरी स्वाबलम्बी र आत्मनिर्भर गाउँ बनाउने आयोजना तथा कार्यक्रमहरू।
  • स्थानीय गौरवका आयोजनाहरू।
  • आर्थिक पारदर्शिता सहित "सुशासन युक्त- भ्रष्टाचार मुक्त" नीतिसंग सम्बन्धित कार्यक्रमहरू।
  • शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने आयोजना तथा कार्यक्रमहरू।
  • पर्यावरण प्रवर्द्धन, विपद् व्यवस्थापन सम्बन्धी कार्यक्रमहरू।
  • महिला, शिल्पी समुदाय, फरक क्षमता भएका व्यक्तिहरू, आदिवासी जनजाती, एकल महिला, विपन्न वर्ग लगायत लक्षित आयोजना तथा कार्यक्रमहरू।
  • पन्ध्रौं योजना, दिगो विकास लक्ष्य, आवधिक नगर विकास योजनाले निर्देशन गरेका कार्यक्रमहरू।

 

सभाध्यक्ष महोदय तथा सदस्यज्यूहरु,

उल्लेखित उद्धेश्य तथा प्राथमिकताका आाधारमा यस नगरपालिकाको आर्थिक वर्ष २०७९।८० को बजेट सारमा प्रस्तुत गर्दछु ।

१) आयतर्फः

क) नगरपालिकाको आन्तरिक आय रकम रु. 1 करोड 5० लाख रहने अनुमान छ । आन्तरिक राजस्व तथा गैर राजस्वका दरमा सामान्य परिवर्तन गरिएको छ।जुन अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न वनेको विधेयक, 207९ मा प्रस्तुत गरेको छु।

ख) संघीय सरकार राजस्व बांडफांडबाट रु. १३ करोड ५१ लाख ५० हजार  र प्रदेश सरकार राजश्व बाँडफाँडबाट रु. 2 करोड 2२ लाख ६३ हजार गरी राजश्व बाँडफाँडबाट जम्मा रु. १५ करोड ७४ लाख १३ हजार प्राप्त हुने अनुमान गरेको छु ।

ग) संघीय सरकारबाट प्राप्त हुने अनुदातर्फः वित्तिय समानिकरण अनुदान रु. १६ करोड 3२ लाख, समपूरक अनुदान रु. ४० लाख, विशेष अनुदान रु. १ करोड ८५ लाख, सशर्त अनुदान चालु रु. ४१ करोड ६१ लाख र शसर्त अनुदान पुँजीगत रु.४ करोड ९७ लाख गरी जम्मा रु. 6५ करोड १५ लाख प्राप्त हुने अनुमान गरेको छु ।

घ) प्रदेश सरकारबाट प्राप्त हुने अनुदान तर्फः वित्तिय समानिकरण अनुदान रु. ८९ लाख 48 हजार, समपूरक अनुदान रु. १ करोड, सशर्त अनुदान चालु रु. ३३ लाख २३ हजार र शसर्त अनुदान पुजीगत रु. ६६ लाख ९३ हजार गरी जम्मा रु. २ करोड ८९ लाख ६४ हजार प्राप्त हुने अनुमान गरेको छु ।

ङ)  चालु आर्थिक वर्ष खर्च नहुने (अ.ल्या) रकम रु.७५ लाख अनुमान गरेको छु ।

माथि उल्लेखित श्रोतहरूबाट आर्थिक वर्ष २०७९।०८० को कुल बजेट रु. 8६ करोड लाख ७७ हजार हुने अनुमान गरेको छु।

2) विनियोजनतर्फः

क)  संघीय सशर्त अन्तर्गत चालु कार्यक्रम तर्फ रु. ४१ करोड ६१ लाख र संघीय सशर्त अन्तर्गतकै पुँजीगत कार्यक्रम तर्फ रु. ४ करोड 9७ लाख विनियोजन गरेको छु।

ख)  संघीय विशेष अनुदानबाट संचालित आयोजनाहरुको लागि रु. १ करोड ८५ लाख विनियोजन गरेको छु ।

ग)   संघीय समपूरकबाट संचालित आयोजनाहरुको लागि रु. ४० लाख र प्रदेश समपूरकबाट संचालित आयोजनाहरुको लागि रु. 1 करोड विनियोजन गरेको छु ।

घ)   प्रदेश सशर्त अन्तर्गत चालु कार्यक्रम तर्फ रु. ३३ लाख २३ हजार र प्रदेश शसर्त अन्तर्गतकै पुँजीगत कार्यक्रम तर्फ रु.६६ लाख ९३ हजार विनियोजन गरेको छु।

ङ)   संघीय तथा प्रदेश सरकारसँगको सहलगानीमा निर्माणाधिन र निर्माण हुने नयाँ आयोजनाहरूको लागि रु. 1 करोड ४४ लाख ८६ हजार विनियोजन गरेको छु।

च)   वडागत पूँजीगत योजनाहरूका लागि रु. 4 करोड ७५ लाख ५० हजार विनियोजन गरेको छु।

छ)  क्रमागत ठूला आयोजनाहरूको लागि जम्मा रु ३ करोड ८ लाख विनियोजन गरेको छु।

ज)  कार्यालयतर्फ प्रशासनिक खर्च रु. १३ करोड ७५ हजार र कार्यक्रम संचालन खर्च रु. ३ करोड २४ लाख गरी जम्मा रु. १६ करोड ६ लाख ७४ हजार चालु खर्च विनियोजन गरेको छु। वडागत चालु खर्च तर्फ रु. १ करोड ४६ लाख विनियोजन गरेको छु।

विषयगत विनियोजन तर्फ

1) आर्थिक विकासः

कृषि तथा पशुपन्छी क्षेत्रलाई प्राथमिकतामा राख्दै "मेरो नगर-म बनाउंछु" भन्ने नीतिलाई आत्मसाथ गरिनेछ। अर्गानिक नगर निर्माण अभियानलाई निरन्तरता दिईनेछ। वन पैदावार लगायतका स्थानीय स्रोत साधन तथा मौलिक सीपमा आधारित लघु, घरेलु तथा साना उद्योग स्थापनामा प्रोत्साहन गरिनेछ। युवा लक्षित आर्थिक विकासका कार्यक्रमहरूलाई प्राथमिकतामा राखी रोजगारी सिर्जना गर्ने उद्देश्य लिईएको छ। सहकारी क्षेत्रको प्रवर्द्धन गरिनेछ।

कृषि तथा पशुपन्छी

  • बाली तथा पशु वीमा कार्यक्रम सुरुवात गर्न आवश्यक बजेटको विनियोजन गरेको छु।
  • तेलहन तथा दलहन बाली प्रवर्द्धन कार्यक्रम सुरु गर्न बजेटको व्यवस्था गरेको छु।
  • सामूहिक खेती प्रणाली तथा सामूहिक पकेट कार्यक्रमहरू विकास, विस्तार तथा प्रोत्साहनका लागि आवश्यक बजेट विनियोजन गरेको छु।
  • अर्गानिक नगर निर्माण अभियान कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गरेको छु।
  • कृषि तर्फ युवा स्वरोजगार कार्यक्रम र प्राविधिक विद्यार्थीहरूलाई उद्यम विकासमा प्रोत्साहन गर्न आवश्यक बजेको व्यवस्था गरेको छु।
  • बेमौसमी तरकारी उत्पादन प्रोत्साहन कार्यक्रम र मौरी प्रवर्द्धन कार्यक्रमका लागि बजेटको व्यवस्था गरेको छु।
  • माटो परीक्षण, कृषक सम्मान कार्यक्रम तथा कृषि मेला संचालनका लागि आवश्यक बजेट विनियोजन गरेको छु।
  • कम्पोष्ट प्लान्ट तथा नमुना कृषि स्रोत केन्द्रलाई आवश्यक अध्ययन गरी थप व्यवस्थित गरिनेछ।
  • वन्यजन्तु तथा किटनाशक आक्रमणलाई न्यूनीकरण गर्न अध्ययन गरी उपयुक्त विधि अवलम्बन गर्न बाली संरक्षण कार्यक्रमका लागि बजेटको व्यवस्था गरेको छु।
  • सम्भाव्यता अध्ययन गरी कन्ये च्याउ स्रोत केन्द्र स्थापनाको लागि रु. 25 लाख बजेट विनियोजन गरेको छु।
  • चालु आर्थिक वर्ष 2078।079 मा स्थापना भएका तरकारी बाली पकेट कार्यक्रमलाई निरन्तरता दिएको छु। सुन्तला जात फलफूल पकेट विकास कार्यक्रम र खायन आलु उत्पादन कार्यक्रमका लागि बजेट विनियोजन गरेको छु।
  • उन्नत खाद्यान्न बालीको बीउ उपयोगमा अनुदानको व्यवस्था गरेको छु।
  • कृतिम गर्भाधान मिसन कार्यक्रम कार्यान्वयन, औषधी तथा उपकरण खरिदका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु।
  • स्वच्छ मासु उपयोग सुनिश्चित गर्न मासु जांच सहजीकरण कार्यक्रम कार्यान्वयन गरिनेछ।
  • पशुपालन तर्फ भकारो सुधार, मत्स्य प्रवर्द्धन लगायतका कार्यक्रमहरूको सुरुवात गरिनेछ।
  • युवा लक्षित व्यवसायिक पशुपालन कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गरेको छु।
  • कृषि तथा पशुपालन क्षेत्रको उत्पादन र उत्पादकत्व बृद्धि गर्न कृषि तथा पशुपन्छी विकास कार्यक्रम अन्तर्गत रु. 1 करोड 73 लाख 50 हजार विनियोजन गरेको छु।

सिंचाई

  • खेतियोग्य जमिनमा बाह्रै महिना सिंचाई सुविधा पुर्याउने उद्देश्यका साथ साना तथा मझौला सिंचाई आयोजनाहरू तर्फ संघ, प्रदेश र नगरपालिकाको समेत साझेदारी रहने गरी एकमुष्ठ रु. 2 करोड 75 लाख 93 हजार बजेट विनियोजन गरेको छु।

रोजगारी तथा लघु उद्यम

  • वैदेशिक रोजगारीमा गएर फर्केका र वैदेशिक रोजगारीमा जान चाहने युवाहरूलाई लक्षित गरी सुरक्षित आप्रवासन परियोजना अन्तर्गत रोजगार प्रबर्द्धन कार्यक्रम अन्तर्गत रू. 62 लाख विनियोजन गरेको छु।
  • स्थानीय स्रोत साधन परिचालन गरी रोजगारी प्रवर्द्धन गर्ने पवित्र उद्धेश्यले लघु उद्यम विकास कार्यक्रम तर्फ रु. 30 लाख 20 हजार विनियोजन गरेको छु।
  • नगरपालिका भित्रका सूचीकृत बेरोजगारहरूलाई रोजगारीको सुनिश्चितता गर्न प्रधानमन्त्री रोजगार कार्यक्रम र युवा रोजगारीका लागि रुपान्तरण पहल परियोजनाको लागि रु. 74 लाख विनियोजन गरेको छु।यस कार्यक्रमका लागि सबै वडाले लागत साझेदारी गर्ने व्यवस्था मिलाएको छु।

सहकारी

  • एक वडा- एक महिला कृषि सहकारी स्थापना गर्न पूंजी कोष अनुदान सहयोगको व्यवस्था गरेको छु। नगरपालिका भित्र संचालित सहकारीहरूको संस्थागत क्षमता विकासको लागि बजेट विनियोजन गरेको छु।
  • संघ र प्रदेश सरकार तथा सहकारीहरूसंगको सहकार्यमा सुपथ मूल्य पसल संचालन गर्न र सबै सहकारी संस्थाहरूलाई COPOMIS मा आबद्ध गर्दै नगर सहकारी विकास बोर्ड स्थापनाको लागि पहल गरिने छ ।

पर्यटन पूर्वाधार

  • बुईपामा प्रदेश सरकारसंगको सहकार्यमा निर्माण हुने विश्वकै सबैभन्दा अग्लो यलम्बरको मूर्ति निर्माण कार्यलाई निरन्तरता दिन नगरपालिकाको स्रोतबाट रू. 1 करोड 80 लाख विनियोजन गरेको छु।
  • नेर्पाको साकेला भिलेज पार्क निर्माणलाई निरन्तरता दिन रु. 84 लाख 50 हजार बजेट विनियोजन गरेको छु।
  • नुनथलाको खाम्लामा हँतोलुङ सांस्कृतिक पार्क निर्माण कार्यको थालनी गर्न रु. 80 लाख विनियोजन गरेको छु।
  • रैछाकुले साकेला थान, देविस्थान मन्दिर, बुईपा, थेकछेक मेन्ट्रोल साम्तेन छोलिङ गुम्बा, लफ्याङ साकेलाथान संरक्षण र राई सांस्कृतिक भवन निर्माण, जालपा ससर्काको लागि एकमुष्ठ रु. 40 लाख विनियोजन गरेको छु।

2) सामाजिक विकासः

नगरवासीलाई सर्वसुलभ स्वास्थ्य सेवा र पोषणमा पहुँच वृद्धि गर्ने लक्ष्य रहेको छ। शिक्षा क्षेत्रमा देखिएका समस्याहरू हल गर्ने तथा समग्र सुधार गर्ने नीति लिईएको छ। नगरवासीलाई स्वच्छ पिउने पानी तथा सरसफाइको सुविधामा पहुँच बृद्धि गर्दै लाने उद्देश्य लिईएको छ। खेलकुदको विकास, युवा परिचालन एवं प्रवर्द्धन गर्दै लगिनेछ। भाषा, संस्कार, संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि खोज, अध्ययन, अनुसन्धानहरू गरिनेछ। लैङ्गिक समानता, सामाजिक समावेशीकरण सुनिश्चित गरी समावेशी विकास गर्ने लक्ष्य लिईएको छ।

शिक्षा,

  • प्रारम्भिक वाल विकास सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय लेखा कर्मचारीहरुको नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक सुनिश्चित हुने गरी नगरपालिकाको तर्फवाट रु १ करोड ५४ लाख ७० हजार विनियोजन गरेको छु ।
  • विशेष अनुदान अन्तर्गत ८ कोठे विद्यालय भवन निर्माणका लागि आवश्यक बजेट विनियोजन गरेको छु। नमूना विद्यालयको क्रमागत भवन निर्माणको लागी वजेटको व्यवस्था गरेको छु ।
  • प्रसुति सट्टा शिक्षक कार्यक्रमलाई निरन्तरता दिएको छु। नगर शिक्षक अनुदानको लागी आवश्यक वजेटको व्यवस्था गरेको छु ।
  • विद्यार्थीहरुको प्रोत्साहनको लागी कक्षा ८ मा उत्कृष्ट अंक ल्याउने सामुदायिक विद्यालयका छात्र र छात्रा गरी २ जनालाई पुरष्कृत गर्ने व्यवस्था गरेको छु ।
  • सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको स्वास्थ्यलाई ध्यानमा राखी शैक्षिक गुणस्तर र विद्यार्थी उपस्थिति दर सुधारको लागि सेनेटरी प्याड खरिद र दिवा खाजा कार्यक्रमलाई विस्तार गर्न वजेटको व्यवस्था गरेको छु ।
  • सामूदायिक विद्यालयमा अध्यायनरत छात्रछात्रालाई यौन हिंसा, विद्युतीयजन्य अपराध र लागु औषध अपराध न्यूनिकरण सम्वन्धी कानूनी अभिमुखिकरण कार्यक्रम गरिने छ ।
  • प्रविधियुक्त विद्यालय शिक्षा विस्तार, व्यवस्थित पुस्तकालय र वालमैत्री कक्षा व्यवस्थापनको लागी आवश्यक वजेट विनियोजन गरेको छु ।
  • सूचना तथा संचार प्रणाली (IEMIS) र श्रेष्ता व्यवस्थापन सम्वन्धी क्षमता विकास तालिमको लागी वजेट विनियोजन गरेको छु ।शैक्षिक सुधारको लागी विज्ञहरुवाट राय सुझाव लिने, प्रधानध्यापकहरुसँग अन्तरक्रिया गरिने छ ।
  • स्थानीय मातृभाषामा पठन पाठनका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु।
  • शिक्षा क्षेत्रमा सबैको पहुंच पुर्याई शैक्षिक गुणस्तर सुधारको लागि शिक्षा क्षेत्रमा रु. 31 करोड 7 लाख 30 हजार विनियोजन गरेको छु।

युवा तथा खेलकुद

  • माटिकोरे स्थित दिक्तेल रंगशाला निर्माण कार्यलाई निरन्तरता दिन रु. 1 करोड 28 लाख विनियोजन गरेको छु।
  • राष्ट्रपति रनिङ शिल्ड, मेयर कप फुटवल, नगर भलिकप कप लगायत नगरभित्रका प्रतिष्ठित खेलकुद प्रतियोगिता संचालन गर्न, ग्रासरुट फुटवल प्रशिक्षण, सितेरियो करांते र व्याडमिण्टन खेलकुदको लागि आवश्यक बजेटको व्यवस्था गरेको छु।
  • उपयुक्त स्थानमा खुला व्यायामशाला निर्माण गरिनेछ। यसका लागि आवश्यक बजेट विनियोजन गरेको छु।
  • क्रमागत योजना अन्तर्गत जालपा कवर्ड हल निर्माण गर्न रु. २० लाख बजेट विनियोजन गरेको छु।

स्वास्थ्य

  • नगरपालिका भित्रका बेसहारा व्यक्तिहरूको पहिचान गरी निःशुल्क वीमा गर्ने कार्य सुरुवात गर्न आवश्यक बजेटको व्यवस्था गरेको छु।
  • नेपाल सरकारद्वारा निःशुल्क वितरण गर्ने भनी तोकिएका औषधिहरू नगरका स्वास्थ्य संस्थाहरूबाट निःशुल्क उपलब्ध गर्न र स्वास्थ्य सेवा सुदृढीकरण गर्न औजार उपकरणका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु।
  • महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई प्रोत्साहन स्वरुप मासिक रु. 1000 उपलब्ध गर्न बजेटको व्वयस्था गरेको छु।वार्षिक रुपमा हुने महिला स्वास्थ्य स्वयंसेविका दिवस र महिला स्वास्थ्य स्वयंसेविकाहरूका लागि आधारभूत स्वास्थ्य सामग्रि बोक्ने झोला व्यवस्थापनका लागि आवश्यक बजेट विनियोजन गरेको छु।
  • जोखिम गर्भावस्था, प्रसुती, सुत्केरी तथा नवजात शिशुहरूलाई स्वास्थ्य संस्थाहरूबाट रेफर भएमा एकतर्फी यातायात खर्च उपलब्ध गराउन आवश्यक बजेटको व्यवस्था गरेको छु। गर्भवती तथा सुत्केरी महिलाहरूलाई निःशुल्क फोलिक एसिड तथा क्याल्सियम चक्की वितरण गर्नका लागि आवश्यक व्यवस्था गरेको छु।PNC HOME VISIT कार्यक्रमलाई निरन्तरता दिएको छु।
  • बर्थिङ सेन्टरहरूमा 24 घण्टे स्वास्थ्य सेवाका लागि हटलाईन सेवा सुचारु गर्न आवश्यक बजेटको व्यवस्था गरेको छु।
  • प्रयोगशाला संचालनलाई निरन्तरता र जालपा सामुदायिक अस्पताल व्यवस्थापनको लागि आवश्यक बजेट विनियोजन गरेको छु।
  • रेडक्रससंगको सहकार्यमा रक्तसंचार केन्द्रलाई प्रभावकारी रूपमा संचालनका लागि बजेटको व्यवस्था गरेको छु।
  • महिलाहरूको स्तन तथा पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ शिविर संचालनको लागि आवश्यक व्यवस्था गरेको छु।
  • कुपोषणको अबस्थामा सुधार ल्याउन बहुक्षेत्रीय पोषण योजना कार्यक्रमलाई निरन्तरता दिन व्यवस्था मिलाएको छु ।
  • स्वास्थ्य सेवामा सबैको पहुंच पुर्याई स्वास्थ्य सेवाको स्तरोन्नति कार्यको लागि स्वास्थ्य तथा पोषण क्षेत्रमा रु. 6 करोड 88 लाख 16 हजार विनियोजन गरेको छु।

खानेपानी

  • विभिन्न स्थानहरूमा स्वच्छ खानेपानी विस्तार तथा पहुँच वृद्धिका लागि रु. 1 करोड 33 लाख विनियोजन गरेको छु।

महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाजकल्याण

  • महिला मैत्री पूर्वाधारहरु निर्माण, महिला तथा लक्षित वर्गहरूको आर्थिक, सामाजिक शसक्तिकरणका लागि उपप्रमुख संग महिला उत्थान कार्यक्रमलाई परिस्कृत गर्दै संचालन गर्नका लागि रु. 50 लाख विनियोजन गरेको छु ।
  • घरायसी कामकाज गर्ने महिलाहरूको जीवनस्तर सहज बनाउन महिला समूहहरूलाई मिल वितरण गर्न आवश्यक व्यवस्था मिलाएको छु।
  • शिल्पी समुदाय-फरक क्षमता भएका व्यक्तिहरू-सिमान्तकृत वर्ग आदिको सीप विकास तथा सचेतना लगायत कार्यक्रमका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु।
  • जेष्ठ नागरिक पुस्ता हस्तान्तरण तथा सम्मान कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गरेको छु।
  • नगर तथा माविस्तरीय बालक्लब गठन गरिने छ।
  • हिंसामा परेका व्यक्तिहरूको उद्दार, संरक्षणको लागि लैंगिक हिंसा निवारण कोषको लागि बजेट व्यवस्था गरेको छु।
  • प्रदेश संगको साझेदारीमा एकल महिला समूहलाई उद्यमशीलता व्यवसाय तालिम दिई व्यवसाय संचालनको लागि अनुदान दिन बजेटको व्यवस्था गरेको छु।
  • जेष्ठ नागरीक, अपाङ्गता, एकल महिला र दलित वालवालिका लगायतका व्यक्तिहरुलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्न संघीय अनुदान अन्तर्गत आवश्यक बजेट विनियोजन गरेको छु ।

भाषा, संस्कार, संस्कृति तथा संरक्षण

  • किरात भाषा, संस्कार, संस्कृतिको खोज तथा अनुसन्धानको लागि बजेट विनियोजन गरेको छु।
  • नगर क्षेत्र भित्र रहेका ऐतिहासिक स्थलहरू, किरांत राई जाति लगायत अन्य जातजातिहरूको सांस्कृतिक सम्पदाहरूको खोजी, अध्ययन-अनुसन्धान गरी सूचीकृत गर्ने, संरक्षण, प्रवर्द्धन गर्ने कार्यको सुरुवात गरिनेछ ।
  • आदिवासी जनजाती गुरुयोजना कार्यान्वयनका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु। नेपाल आदिवासी जनजाती महासंघसंगको सहकार्यमा नेतृत्व क्षमता विकास कार्यक्रम संचालन गरिनेछ।
  • बृहत सांस्कृतिक अध्ययन तथा अनुसन्धान कार्यको लागि बजेटको व्यवस्था गरेको छु।

3) पूर्वाधार विकासः

नगर क्षेत्र भित्रका सडकहरूमा बाह्रै महिना यातायात सञ्चालन हुने गरी सडकको स्तरोन्नती कार्यलाई  प्राथमिकता दिईनेछ। नगरले आफ्नो लगानीमा निर्माण गर्न नसक्ने खालका ठूला पूर्वाधार आयोजनाहरूको DPR, IEE, EIA, BES तयारीमा जोड दिईनेछ र त्यस्ता आयोजनाहरूका लागि संघ, प्रदेश तथा अन्तर्गतका निकायहरूमा बजेटका लागि पहल गरिनेछ। नगरका स्थानीय गौरवका आयोजनाहरूलाई प्राथमिकता दिईनेछ। विद्युत विस्तार तथा वैकल्पिक उर्जा प्रयोगमा जोड दिईनेछ।

  • विगत र चालु आवमा सुरु भएका आयोजनाहरू आगामी आवमा सम्पन्न गर्न तथा निरन्तरता दिनको लागि रु. 4 करोड 52 लाख 86 हजार विनियोजन गरेको छु।
  • स्थानीय गौरव वा प्राथमिकता प्राप्त योजनाहरूका लागि रु. 80 लाख विनियोजन गरेको छु।
  • नयाँ योजनाहरूको सम्भाव्यताको आधारमा निर्माण सुरु गर्न संघ तथा प्रदेश सरकारसंगको लागत साझेदारीका लागि आवश्यक विनियोजन गरेको छु।
  • जालपा-खार्मी मूख्यमन्त्री ग्रामिण सडकका लागि नगरको तर्फबाट लागत साझेदारी रकमको व्यवस्था मिलाएको छु।
  • नगरस्तरीय योजनाहरू संचालनका लागि बजेटको व्यवस्था गरेको छु।
  • नगर यातायात गुरु योजना निर्माण गरी कार्यान्वयन गर्ने व्यवस्था मिलाएको छु।
  • नगरमा नयाँ निर्माण हुने संरचनाहरूको गुणस्तर परीक्षणका लागि प्राविधिक प्रयोगशाला निर्माण तथा व्यवस्थापन गर्न आवश्यक व्यवस्था गरेको छु।
  • नगरपालिकाको आधुनिक प्रशासकीय भवन निर्माणका लागि संघ तथा प्रदेश सरकारसंग समन्वय र सहकार्य गरिने छ।
  • विद्यालय, स्वास्थ्य चौकी तथा सामुदायीक भवनहरु आवश्यकताका आधारमा व्यवस्थापन गर्दै स्तरोन्नतीका लागि पहल गरिने छ ।
  • केन्द्रीय प्रशारण लाइनको विद्युत सबै घरधुरीमा जडानको सुनिश्चितता गरी विद्युत क्षमता विस्तारका लागि समन्वय गरिनेछ। संघीय सरकारसंगको समन्वयमा विद्युतीय चुलो वितरण कार्यको सुरुवात गरिनेछ।
  • नविकरणीय उर्जा प्रविधिहरू (लघु तथा साना जलविद्युत, सौर्य उर्जा, वायोग्यास, वायोमास उर्जाको उत्पादन र प्रयोग ) मार्फत उर्जा उत्पादन र प्रयोगको लागि आवश्यक बजेट विनियोजन गरेको छु।
  • दिक्तेल बजार क्षेत्रका विभिन्न स्थानहरूमा निःशुल्क ईन्टरनेट सेवा (फ्रि वाईफाई) उपलब्ध गर्न आवश्यक बजेटको व्यवस्था गरेको छु।

4) बन-वाताबरण, विपद व्यवस्थापन तथा सरसफाईः

  • फोहरमैलाको व्यवस्थापनका लागि वडा नं. 5 मा रहेको डम्पिङ साईटलाई व्यवस्थित गर्न, डम्पिङ साईट जाने बाटो मर्मत, फोहरमैला निर्मलीकरण लगायतका कार्यका लागि बजेट विनियोजन गरेको छु। यसलाई थप व्यवस्थित गर्न संघ तथा प्रदेश सरकारसंग समन्वय गर्ने योजना रहेको छ।
  • फोहरमैलाको व्यवस्थित विसर्जनका साथै यस नगरलाई अर्गानिक नगर बनाउने उद्देश्य अनुसार निर्मित कम्पोष्ट प्लान्ट तथा नमुना कृषि स्रोत केन्द्रलाई कानून बनाई निजी क्षेत्र वा सहकारीसंगको सहकार्यमा व्यवस्थित ढंगले संचालन तथा व्यवस्थापन गर्न आवश्यक वजेट व्यवस्था गरेको छु ।
  • मझुवागढीको पहाडलाई फूलै फूलको पहाडको रुपमा विकसित गर्न आवश्यक व्यवस्था गरिनेछ।
  • विपद व्यवस्थापनका लागि विपद व्यवस्थापन कोषमा आवश्यक बजेट विनियोजन गरेको छु।

     5) संस्थागत विकास, सेवा प्रवाह तथा सुशासनः

  • नगरपालिका भित्रको विभिन्न विषय क्षेत्रको खण्डिकृत तथ्याङ्क व्यवस्थित हुने गरी डिजिटल वस्तुगत विवरण (नगर प्रोफाईल) निर्माण गर्नका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु।
  • नगरपालिकाको पञ्चवर्षीय दोस्रो आवधिक नगर विकास योजना तर्जुमा गर्नका लागि आवश्यक बजेट विनियोजन गरेको छु।
  • नगरपालिकाको आवधिक योजना र वार्षिक नगर विकास योजना बीच तादात्म्यता कायम गर्न तीन वर्षीय मध्यमकालीन योजनाको रुपमा मध्यमकालीन खर्च संरचना (MTEF) तयार गरी लागू गर्न आवश्यक व्यवस्था मिलाएको छु।
  • नगरपालिकाका विभिन्न शाखाहरूबाट हुने कार्यसम्पादनलाई व्यवस्थित र प्रविधिमैत्री बनाउन सफ्टवेयरहरू जडान तथा संचालनका लागि आवश्यक बजेट व्यवस्था गरेको छु।
  • नगर प्रहरीको पदपूर्ती गर्ने व्यवस्थाका लागि आवश्यक वजेट विनियोजन गरेको छु ।
  • राजश्व सुधारका कार्यक्रम, बेरुजु अद्यावधिक तथा बेरुजु फर्छ्यौट अभियान, न्यायिक समितिको कामकारवाही सुधारका लागि आवश्यक व्यवस्था मिलाएको छु।
  • नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालयहरूबाट हुने सेवा प्रवाह सुधारको लागि आवश्यक बजेट विनियोजन गरेको छु। नगर कार्यपालिकाको कार्यालयमा व्यवस्थित हेल्प डेस्क संचालन र डिजिटल नागरिक बडापत्र जडान लगायतका कार्यहरूको व्यवस्था गरिनेछ।
  • सार्वजनिक सुनुवाई, सामाजिक परीक्षण, GESI/GRB Audit लगायत सुशासनका औजारहरूको कार्यान्वयनका लागि आवश्यक व्यवस्था मिलाएको छु। नगरपालिकाको कार्य सम्पादनसँग सम्बन्धित सूचना संचारलाई व्यवस्थित गर्न सूचना अभिलेख केन्द्रको स्थापना गर्ने व्यवस्था मिलाएको छु ।
  • नगरपालिकाको सेवा प्रवाह सुधार र कर्मचारीको मानसिक तथा शारीरिक स्वस्थताको लागि तनाब व्यवस्थापन, प्राकृतिक योग, सकरात्मक सोच र नैतिक शिक्षासँग सम्बन्धी कार्यक्रमको लागि आवश्यक बजेटको व्यवस्था गरेको छु । कर्मचारीको मनोवल उच्च बनाई कार्य सम्पादनमा सकरात्मक नतिजा हासिल गर्न कर्मचारी प्रोत्साहन कार्यक्रम लागू गरिने छ ।
  • जनप्रतिनिधि तथा राष्ट्रसेवक कर्मचारीहरूको क्षमता विकासको लागि आवश्यक बजेटको व्यवस्था गरेको छु।

 

सभाध्यक्ष महोदय तथा सदस्यज्यूहरु,

आगामी आर्थिक वर्षको प्रस्तुत बजेट तथा कार्यक्रमको सफल कार्यान्वयनबाट नगरबासीले सुशासनयुक्त सेवा प्रवाहको अनुभुति गर्नु हुनेछ । नगरपालिकाको आर्थिक, सामाजिक, साँस्कृतिक, पूर्वाधार, पर्यवरणीय विकासमा उल्लेखनीय प्रगति हुनेछ । स्वच्छ, सफा र हरित नगरको रुपमा अगाडि बढ्ने विश्वास लिएको छु। नगरपालिकाले लिएका सुशासन र विकासात्मक नीतिहरूको कार्यान्वयनबाट समृद्ध, सभ्य र विकसित नगर बन्ने तर्फ अग्रसर हुनेछ ।

बजेट तर्जुमाको क्रममा मार्गदर्शन गर्नु हुने अग्रज नेतृत्व गण, विभिन्न विषय क्षेत्रका विज्ञहरू, नगरप्रमुखज्यू प्रति हार्दिक आभार प्रकट गर्दछु। बजेट तर्जुमाको क्रममा प्रत्यक्ष-अप्रत्यक्ष रचनात्मक र सिर्जनात्मक सल्लाह सुझाव दिई सहयोग गर्नुहुने कार्यपालिका सदस्यज्यूहरु, विषयगत समितिका संयोजक ज्यूहरु, नगर सभा सदस्यज्यूहरू, राजनैतिक दलका नेताज्यूहरू, शिक्षक वर्ग, विभिन्न संघ-संस्था, निजी क्षेत्र, सञ्चारकर्मी एवं समस्त नगरवासी महानुभावहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु।

बजेट तथा कार्यक्रम तयारीमा प्रत्यक्ष संलग्न भई अहोरात्र खटिनु हुने सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।

अन्त्यमा, स्थानीय तहहरूको दोस्रो निर्वाचनबाट गठित सम्मानित नगर सभामा सिमित स्रोत साधन परिचालनबाट सबै विषय क्षेत्रलाई सम्बोधन गर्नु पर्ने चुनौतिका बीच प्रस्तुत भएको यो वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयनमा यहाँहरु सबैको रचनात्मक तथा सिर्जनात्मक सहयोग प्राप्त हुने कुरामा विश्वास लिएको छु ।                                                                        

                                                                     धन्यवाद !

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित