दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा नगर बस सेवा सुरु
- प्रकाशित मितिः असोज २९, २०७५
- 2108 पटक पढिएको
- संवादताता
नमस्ते खोटाङ संवाददाता-
खोटाङ, असोज २९–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगर बस सेवा सुरु गरेको छ । खोटाङ यातायात प्रालिको सहकार्यमा सोमबारदेखि नगर बस सेवा सुरु गरेको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले दिक्तेल बजारको किरातचौकस्थित जिरो प्वाइन्टमा नगर बस सेवाको उद्घाटन गरेका हुन् ।
खोटाङ यातायात प्रालिका सचिव राम हिङ्माङका अनुसार नगरपालिका भित्रका १२ वटा रुटमा नगर बस सेवा सुरु गरिने छ । उनका अनुसार दिक्तेल–निर्मलीडाडा“, दिक्तेल–पाथेका, दिक्तेल–खार्मी, दिक्तेल–जालपा फेदी (ऐसेलुखर्क रुट), दिक्तेल–जालपा कादेल (बाक्सिला रुट), दिक्तेल–बुइपा, विजयखर्क, दिक्तेल–महुरे–विजुले, दिक्तेल–साप्सु, दिक्तेल–लफ्याङ(दुभे) साप्सु, दिक्तेल–नेर्पा–दोर्पा–निर्मली, दिक्तेल–बाम्राङ–बुइपा लगायतका रुटमा नगर बस सेवा उपलब्ध गराइने छ ।
नगरपालिकाभित्र नगर बस सुरु भएपछि यसको चौतर्फी स्वागत भएको छ । खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष राजु लयालुले नगरपालिकाले राम्रो काम गरेको भन्दै प्रसंशा गरेका छन् । नगर बस सेवा सुरु भएपछि दिक्तेल बजारको ब्यापार व्यवसाय बढ्ने लयालुले सुनाए । नगर बस सेवाले विरामी, अशक्त तथा विद्यार्थीलाई समेत सहज हुने भएको छ । नगर बस सेवा सुरु भएपछि नगरबासी खुसी भएका छन् ।