दसैअघि जिल्ला अबरुद्ध सबै सडक मर्मत गरी यातायात सञ्चालन गरिने

  • प्रकाशित मितिः असोज 2, 2083
  • 44 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज २–जिल्ला विपद् व्यवस्थापन समिति खोटाङले दसैंअघि जिल्लाभित्र अबरुद्ध सबै सडक तथा बाटो मर्मत–सम्भार गरी यातायात सञ्चालन सहज बनाउने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको अध्यक्षतामा असोज २ गते बसेको समितिको बैठकले विपद् व्यवस्थापन, सडक मर्मत तथा चाडपर्वका समयमा यातायात व्यवस्थापनलाई प्राथमिकतामा राख्दै विभिन्न निर्णय गरेको हो ।
बैठकले अघिल्लो बैठकबाट भएका निर्णयहरूको कार्यान्वयन अवस्थाको समीक्षा गर्दै विपद्को समयमा तत्काल परिचालन हुने द्रुत प्रतिकार्य टोली तथा घटना प्रतिकार्य टोलीको योजना र जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना अनुमोदन गर्ने निर्णय गरेको छ । त्यस्तै, चाडपर्वका समयमा मध्यपहाडी लोकमार्गलाई सुचारु राख्न मध्यपहाडी लोकमार्ग आयोजना, सडक डिभिजन कार्यालय हर्कपुर, गाईघाट–दिक्तेल सडक आयोजना तथा सम्बन्धित स्थानीय तहबीच समन्वय गरी आवश्यक सामग्रीसहित व्यवस्थापन गर्ने निर्णय गरिएको छ । समितिले जिल्लाभित्र रहेका सबै सडक तथा बाटोको मर्मत–सम्भार गरी दसैंअघि नै यातायातका साधन सञ्चालन हुने अवस्था सुनिश्चित गर्न स्थानीय तह तथा सम्बन्धित कार्यालयले आवश्यक पहल गर्ने निर्णयसमेत गरेको छ ।
बैठकले खोटाङ जिल्लाका विभिन्न पालिकामा निजी आवास पुनर्निर्माण तथा प्रबलीकरणका लागि प्राप्त दोस्रो किस्ताबापतको ३ लाख ४० हजार रुपैयाँ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका सुबिन श्रेष्ठ र कुमार श्रेष्ठलाई वितरण गर्न अनुमोदन गरेको छ । यसैगरी, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१० पातेका र २ सोल्मामा अविरल वर्षाका कारण सडक तथा बाटोमा लगाइएको तटबन्धमा क्षति पुगेकाले मर्मत–सम्भारका लागि आवश्यक बजेट माग गर्न सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय भएको छ । विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन जिल्लामा विपद् व्यवस्थापनसम्बन्धी अनुकरणात्मक अभ्यास सञ्चालन गर्ने निर्णयसमेत गरिएको छ। जिल्लामा हुन सक्ने विपद्का घटनामा तत्काल उद्धार तथा राहतका कार्यलाई प्रभावकारी बनाउन सबै जिल्ला विपद् व्यवस्थापन समिति र सम्बन्धित पक्षको सहभागितामा यस्तो अभ्यास गरिने भएको हो ।
त्यस्तै, जालपा–खार्मी हुँदै केपिलासगढी गाउँपालिका जोड्ने सडकखण्डअन्तर्गत पर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित खुदुकु खोलामा अविरल वर्षाका कारण पहिरो गई क्षति पुगेकाले प्रहरीको स्थलगत सर्जमिन मुचुल्कासहित विपद् व्यवस्थापनका लागि आवश्यक बजेट माग गर्न सम्बन्धित मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरिएको छ । समितिको बैठकले चाडपर्वलाई लक्षित गर्दै सडक तथा यातायात व्यवस्थापन, विपद् पूर्वतयारी र विपद् प्रतिकार्यलाई प्राथमिकतामा राखेर आवश्यक तयारी अघि बढाउने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित