कोरोना महामारीमा खटिएका चिकित्सकको मृत्यु भए उनका परिवारलाई २५ लाख क्षतिपूर्ति दिने

  • प्रकाशित मितिः वैशाख २३, २०७८
  • 1161 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, बैशाख २३–प्रदेश नम्बर १ सरकारले कोरोना महामारीमा मृत्यु हुने चिकित्सकका परिवारलाई २५ लाख क्षतिपूर्ति दिने निर्णय गरेको छ । कोरोना भाइरस पहिचान, निदान, उपचार, बिरामीको ओसारपसार र शव व्यवस्थापनमा प्रत्यक्ष रुपमा संलग्न भएका चिकित्सक, स्वास्थ्यकर्मी, चालक र सफाइकर्मीका साथै कर्मचारीहरुको कोरोनाले मृत्यु भए २५ लाख क्षतिपूर्ति दिने निर्णय गरेको हो ।
बैशाख २२ गते बसेको मन्त्री परिषद बैठकले मृतकका परिवारलाई क्षति पूर्ति स्वरुप २५ लाख दिने निर्णय गरेको सामाजिक विकास मन्त्री उषाकला राईले बताइन् । कोरोना महामारीमा खटिने क्रममा संक्रमित भई बिरामी भएकाहरुलाई प्रदेश सरकारले तोकेको सरकारी तथा निजी अस्पतालमा उपचार गर्दा लागेको खर्च समेत प्रदेश सरकारले व्यहोर्ने निणर्य भएको मन्त्री राईले सुनाइन् ।
प्रदेश सरकारद्वारा सञ्चालित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, विराटनगर तथा प्रदेश सरकार मातहातका सम्पूर्ण अस्पतालको कोभिड वार्डमा प्रत्यक्ष रुपमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी, चालक र सफाइकर्मीका साथै कर्मचारीहरुलाई सुरु तलब स्केलको ५० प्रतिशत जोखिम भत्ता प्रदान गर्ने समेत मन्त्री परिषदले निणर्य गरेको मन्त्री राईले बताइन् ।
चिकित्सक र स्वास्थ्यकर्मीका लागि होम क्वारेटाइनमा बस्न सक्ने अवस्था नभई होटल क्वारेन्टाइनमा बस्नु पर्ने भएमा तोकिए बमोजिमको होटल क्वारेन्टाइन तथा चालक, सफाइकर्मी, कार्यालय सहयोगीका साथै व्यवस्थापनमा खटिने अन्य कर्मचारीहरुका लागि प्रदेश सरकारले प्रबन्ध गरेको खाना तथा खाजा सहितको क्वारेन्टाइन वा होटल क्वारेन्टाइनको प्रबन्ध गर्ने मन्त्रीपरिषद बैठकले निणर्य गरेको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित