स्थानीयले वडा कार्यालयमा ताला लगाए

  • प्रकाशित मितिः चैत्र ६, २०७७
  • 809 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, चैत ६–ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलका वडाअध्यक्षसंग असन्तुष्ट जनाउदै स्थानीयले वडा कार्यालयमा ताला लगाएका छन् । वडाध्यक्ष सन्तवीर तामाङले एकलौटी ढङ्गले काम गरेको भन्दै ताला लगाएका हुन् ।
आफूहरुसंग समन्वय नगरी बिस्खाम खोलाको पानी अन्यत्र लैजान अनुमति दिएको र कोठे बैठक राखेर बादेल–बिस्खाम सडक उपभोक्ता समिति गठन गरेको लगायतको गतिविधि गरेको भन्दै वडा कार्यालयमा तालाबन्दी गरेका हुन् ।
बाकाचोल बिस्खाम खोलाको पानी अन्यत्र लैजान बन्द गर्नु पर्ने र संसद विकास कोषबाट विनियोजन भएको दश लाख रुपैया बादेल–बिस्खाम सडक निर्माण उपभोक्ता समिति पुनः गठन गर्नु पर्ने माग राख्दा वडाध्यक्षले बेवास्ता गरेपछि ताला लगाइएको स्थानीय नन्दकुमार तामाङले बताए । बाकाचोल वडा कार्यालयमा स्थानीयले तालाबन्दी गरेको यो तेस्रो चोटी हो ।
वडाध्यक्षसंगको असमझदारीका कारण यसअघि २०७७ जेठ २८ गते र २०७६ पुस ७ गते वडा कार्यालयमा ताला लगाइएको थियो । तेश्रो चोटी चैत ४ गते लगाएको हो । माग पूरा नभए ताला नखोल्ने स्थानीयको भनाई छ । उनीहरुले वडाध्यक्षले मनपरी गरेको भन्दै असन्तुष्ट पक्षले चार सय पाच जनाको हस्ताक्षरसहितको बिरोध–पत्र ऐसेलुखर्क गाउँपालिकालाई समेत बुझाएका छन् । छलफल नै नगरी बिस्खाम खोलाको पानी ऐसेलुखर्कबजार लगायतका ठाउँमा लैजाने तयारी गरिएपछि स्थानीयले असन्तुष्ट भएका हुन् ।
बिस्खाम खोलाको पानी अन्यत्र लैजाँदा पर्ने प्रभाव र असरलाई ध्यान नै नदिई माथिल्लो खानेपानी आयोजना नाम दिएर खानेपानी आयोजना सञ्चालन गर्न लागिएको असन्तुष्ट स्थानीय तामाङले बताए ।
वडाध्यक्ष तामाङको कार्यशैलीमाथि प्रश्न उठाउँदै २०७६ पुस ७ गते वडासदस्य जयकुमार तामाङले वडा कार्यालयमा ताला लगाएका थिए । आगामी दिनमा वडाध्यक्षले योजना सञ्चालनका क्रममा एकलौटी नगर्ने, योजनाका विषयमा वडा सदस्यसँग पनि समन्वय गर्ने लगायतका सहमतिमा २०७६ पुस १४ गते वडाको ताला खुलाइए पनि आफूलाई सहज हुने व्यक्तिलाई राखेर बादेल–बिस्खाम सडक उपभोक्ता समिति गठन गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
वडाध्यक्ष तामाङले भने हलासम्म बिस्खाम खोलाको पानी अन्यत्र लैजानका लागि कसैलाई अनुमति नदिइएको बताए । वडाध्यक्ष तामाङले सम्बन्धित ठाउँकै स्थानीयलाई राखेर बादेल–बिस्खाम सडक उपभोक्ता समिति बनाइएको दाबी गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित