प्रहरीको निसाना, फरार दोषीमा

  • प्रकाशित मितिः भदौ २४, २०७५
  • 1494 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता
खोटाङ, भदौ २४–अदालतले दोषी ठहर गरेको फरार पक्राउमा प्रहरीले तिब्रता दिएको छ । साउनदेखि यो समाचार तयार पार्दासम्म आठ जना फरारलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयले जनाए अनुसार ज्यान मार्ने उद्योगमा अदालतले कैद सजाय र जरिवाना फैसलापछि फरार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ का ३२ वर्षीय खेमराज बुढाथोकी पक्राउपछि कारागार चलान भएका छन् । स्थानीय २८ वर्षीय रामकुमार विश्वकर्मालाई मरणासन्न हुनेगरी कुटपिट गरेर फरार रहेका बुढाथोकी पक्राउपछि बिहीबार कारागार चलान भएका हुन् । 
चार वर्षपछि पक्राउ परेर कारागार चलान भएका बुढाथोकीले चार वर्ष कैद र पाँच हजार एक सय जरिवाना भुक्तानी गर्न बाकी भएको प्रहरीले जनाएको छ । बुढाथोकी विरुद्ध जिल्ला अदालतले २०७१ साल पुस ८ गते कैद तथा जरिवाना सजायको फैसला सुनाएको थियो ।  
बुढाथोकीलाई जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएका विशेष टोलीले भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका–१० मिलनचोकबाट पक्राउ गरेको थियो । मिलनचोकमा लुकीछिपी बस्दै आएका बुढाथोकीलाई गत भदौ १९ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक राजकुमार केसीले बताए ।  २०७० साल भदौ १० गते बुढाथोकी सहित चार जनाले कुटपिट गर्दा विश्वकर्माको बाँया आँखा समेत फुटेको थियो । घटना लगत्तै पक्राउ परेका बुढाथोकी अदालतको आदेशमा ४५ हजार धरौटी तिरेर छुटेका थिए । घटना संलग्न अन्य तीन जनाले सफाइ पाइसकेको प्रहरीले जनाएको छ ।
कर्तव्य ज्यानमा २०४९ साउन ७ गते अदालतले पा“च वर्ष जेल सजाय सुनाएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ का ५१ वर्षीय देवीराज राईलाई पक्राउ गरी सुक्रबार थुनामा पठाएको छ । हाडनाता करणीमा दोषी ठहरिएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ का १८ वर्षीय साङ्गे सेर्पालाई पक्राउपछि अदालतले फैसला गरेअनुसार चार वर्ष ११ महिना दश दिन जेल सजायका लागि भदौ १३ गते कारागार पठाइएको छ ।
ज्यान मार्ने उद्योगमा दोषी ठहरिएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ का ६४ वर्षीय दावानिमा सेर्पालाई पनि पक्राउपछि अदालतले फैसला गरेको पा“च वर्ष कैदभोगका लागि कारागार पठाइएको छ । कर्तव्य ज्यानमा अदालतले दोषी ठहराएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ का ३६ वर्षीय वीरबहादुर तामाङलाई पक्राउपछि जेल सजायका लागि कारागार पठाइएको छ । उनलाई १८ वर्ष तीन महिना २० दिन जेल सजायको फैसला सुनाएको थियो । जबरजस्ती करणी उद्योगमा दोषी ठहरिएका हलेसी तुवाचुङ नगरपालिका–५ का ४१ वर्षीय टयन राईलाई पनि पक्राउ गरी कारागार पठाइएको छ । उनले दुई वर्ष छ महिना जेल सजाय भोग्नु पर्ने फैसला भएको थियो । त्यस्तै जबरजस्ती करणी उद्योगमा दोषी ठहरिएका दिक्तेल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ का २२ वर्षीय दिनेश राई पनि पक्राउपछि कारागार पठाइएको प्रहरीले जनाएको छ । प्रहरी नायव उपरीक्षक राजकुमार केसी खोटाङ आएलगत्तै यत्तिको फरारलाई पक्राउ गरिएको हो । डिएस्पी केसीले अदालतले दोषी ठहराएकाहरुलाई विभिन्न ठाउ“मा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको बताए । 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित