दिक्तेलमा फेरि १२ जनालाई कोरोना संक्रमण

  • प्रकाशित मितिः कार्तिक २२, २०७७
  • 1420 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, कात्तिक २२–दिक्तेलमा फेरि १२ जनालाई कोरोना संक्रमण भएको छ । प्रदेश १ प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाले कात्तिक २२ गते एकै दिन १२ जनामा कोरोना संक्रमण पुष्टि गरेको हो ।
जिल्ला अस्पताल श्रोतका अनुसार ६१, ५६, ४२, ३२, ३२ वर्षका पुरुष तथा ५४, ३४, २५, ३०, १५, ४७ र ३२ वर्षीया महिलामा कोरोना देखिएको हो । उनीहरु कसैलाई पनि लक्षण देखिएको छैन । गत कात्तिक १४ गते एकै दिन १२ जनामा कोरोना संक्रमण पुष्टि भएपछि उनका नजिक रहेकाहरुको कात्तिक १७ गते स्वाब सङ्कलन गरेर परीक्ष्ँणमा पठाइएको थियो । त्यतिखेर पठाइएको एक सय ४७ मध्ये कात्तिक २१ गते पनि एक जना महिलामा कोरोना देखिएको थियो । उनी संक्रमित ६२ वर्षीया महिला हुन् ।
जिल्ला समन्वय समिति खोटाङका जिल्ला समन्वय अधिकारी राजेश गिरी, जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङका स्वकीय सचिव मिलनचन्द्र राई, समन्वय प्रमुख बबि चाम्लिङकी श्रीमती सर्मिला राई, पत्रकार दिवश रिजाल लगायत १२ जनालाई कोरोना संक्रमण भएको थियो । यसबाहेक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का ५२, ३२, ४५, ३३, ३२, ३५, ४२ र ५७ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला अस्पतालका चिकित्सक झाले सुनाए ।
कात्तिक ९ गते जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङ, प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठ र प्रहरी नायव उपरीक्षक नारायणप्रसाद चिमरीयालाई कोरोना पुष्टि भएको थियो । यसबाहेक दिक्तेलबजारका अन्य तीन जना सर्वसाधारणलाई समेत कोरोना पुष्टि भएपछि कात्तिक १३ गतेदेखि दिक्तेलबजार सिल गरिएको थियो । दिक्तेलका व्यवसायीहरुमा समेत कोरोना देखिएपछि बजारबासीको आग्रहमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बजार सिल गरेको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले सुनाए । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका प्रमुख दीपनारायण रिजालका अनुसार दिक्तेल बजारका तीन जनामा कोरोना संक्रमण देखिएपछि बजारीबासीको अनुरोधमा अनिश्चितकालीन सिल गरिएको हो ।
कोरोना संक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालय, मालपोत, नापी, कृषि, सिंचाई, वन, खानेपानी, जिल्ला समन्वय समिति, दिक्तेल रुपाकोट मmझुवागढी नगरपालिका लगायतका नगरक्षेत्रभित्र पर्ने सरकारी अड्डाहरु तथा गैरसरकारी निकायहरु बन्द भएका हुन् । यसबाहेक सबै बैंकहरु समेत बन्द गरिएका छन् । औषधी पसल, दैनिक उपभोग्य वस्तु लगायतका पसल बाहेक अन्य सबै बन्द गरिएको छ । अत्यावश्यक बाहेक यातायात समेत बन्द गरिएको छ । अर्को व्यवस्था नभइन्जेलसम्मलाई बन्द गरिएको नगरप्रमुख रिजालले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित