देश खोज्दै देश भित्र

  • प्रकाशित मितिः आश्विन १४, २०७७
  • 1071 पटक पढिएको
  • संवादताता

स्वर्गीय सुमन–
यही बाटो
यही घुम्ती, मोड, उकाली ओराली भएर
म हिडिरहेको छु
कहिले बगरै–बगर
कहिले भिरै–भिर
कहिले अक्डको बाटो
कहिले समाउदै रुखको हाँगाहरु
कहिले तान्दै तुइनको लाठ्ठाहरु
म एउटा मान्छे,देश खोज्दै देश भित्र ।
खोइ कहाँ छ मेरो देश ?
कस्तो छ मेरो देश ?
अहँ,देख्दै देखेको छैन
अहँ भेट्दै भेटेको छैन
कतै,बाँदरहरुको हातहरुमा
बाघचाल त, खेलिरहेको छैन ?
त्यसैले त,अझै हिड्नु छ चराहरुसंगै
कहिले आँधीबेहरी
कहिले तुफान
कहिले आगो भएर
म एउटा मान्छे,देश खोज्दै देश भित्र ।
धेरैपछि हिड्दा हिड्दै
यीनै बाटोहरुमा, यीनै माटोहरुमा
मेरो देशलाई देखेको छु
मेरो देशलाई भेटेको छु
कठै...मेरो देश,
दिनहुँ बन्दै गरेको सडक पेटीमा
एक छाक खानाकै लागि
एक सरो कपडा लगाउनकै लागि
पसिनाको सप्तकोसी बगाउदै गिटी कुटिरहेको
हाम्रै आमाहरुको आँखामा देशलाई देखेकोछु
कहिले पहाड जत्रै भारी बोकेर उकालो चड्दै गरेको
साइला दाइको थाप्लोमा देशलाई भेटेकोछु
कहिले झोलाभरि च्यात्तिएको भविष्य बोकेर
उहि पुरानो पाठशाला जाँदै गरेको
नानीहरुको किताबमा देशलाई पढेको छु
कहिले आफै बेचिएर झोलाभरि साहुको ऋण बोकी
सिमाना काटिरहेको चराहरुको आँखाबाट
बगिरहेको आँशुको धाराहरुमा
पटक–पटक देशलाई पढेको छु
त्यसैले त,
अझै नाघ्नु छ,कयौ पाखा पर्वतहरु,
कयौ हिमाल,पहाड र क्षितिजहरु
म एउटा मान्छे,देश खोज्दै देश भित्र ।
सायद !
कति मान्छेहरु,यही बाटो
यही माटो, यही झुपडी भएर
ठूला–ठूला महलमा पुगे, बनाए ताज महल
हाम्रै छातीमा टेकेर सगरमाथा चडे“
तर,
उनीहरुको आँखामा कहिले देशलाई देखिन
कहिले देशलाई भेटिन
त्यसैले, यीनै पैतालाहरुले नाप्नु छ सगरमाथाको उचाई
पुग्नु छ हिमाल, पहाड र तराई
किन कि,
म देश बेचेर, स्वाभिमान बेचेर
मेरो देशको झण्डालाई आगोमा सल्काएर
म न्यानो बन्न सक्दिन
म देशको नक्सालाई टुक्रा–टुक्रा पारेर
मेरो जन्म उत्सव कदापि मनाउन सक्दिन
म एउटा मान्छे,देश खोज्दै देश भित्र ।
प्रकाशित मिति २०७७ असोज १४

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित