व्रतको सर्त मन्जुर छैन (कविता)

  • प्रकाशित मितिः भदौ ४, २०७७
  • 1790 पटक पढिएको
  • संवादताता

मिम बहादुर परियार-

तिम्रो शंकाले म जलेकी छु,
तिम्रो पृतिसत्ताले म गलेकी छु,
तिम्रो दासताबाट म,
हररात हरपल मरेकी छु,
तिम्रो नजरमा जिवित देखिए पनि,
म जिउँदै सडेकी छु ।

मलाई दास बनाउने,
तिम्रो धर्म, पृतिसत्ताको कर्म,
मेरो मर्म नबुझी, नसोधी,
धर्म रीतिरिवाजको डोरीले बाँधेर,
आमाको कान फुकेर,
व्रत बस् भन्छौ,
आयुको निम्ति, सुख समृद्धिको निम्ति,
पुरुषार्थको निम्ति ।

म प्रत्येक महिना अपवित्र भएकी,
रजस्वलाको रगतले रङ्गिएकी,
पर सरेर बसेकी, नचल्ने भएकी,
तिम्रो कुल देवताकी अछुत,
भान्साकी अछुत,
कसरी तिम्रो लागि पवित्र हुन्छु ?
तिम्रो समृद्धिभित्र अट्छु ।

मेरो शरीरमा अछुत मानिएको रजस्वलाका दाग,
रक्त कोसिका अझै जिवित छन्,
संस्कारले सिर निहुरिएकै छ,
तिम्रो ,शिव स्वामी , स्वास्थ , सभ्यता ,
मेरो भोको पेटले कसरी थेग्ला,
तिमीलाई कसरी तृप्त देला ।

मेरो भोको पेटको चीत्कार,
तिम्रो देवताले , तिमीले सुन्दैनौं,
सीताको सत्यतालाई नसुन्ने,
तिम्रो भगवानले छाउको आलो घाउ,
बोकेकी म अशुद्धको चित्कार के सुन्लान् ,
तिमी त पृतिसत्ताको पुरुष हौं,
सुन्ने सम्झँने बुझ्ने भाषा बुझ्दैनौं ।

पृतिसत्ताको भारीले थिचिएकी,
कथित संस्कारले पिल्छिएकी,
अब म तिम्रो नाममा व्रत बस्दिँन,
तिमीले कोरिदिएको नियममा अट्दिन,
म अब विद्रोह गर्छु ,अघि सर्छु,
भत्काउ छु ,पृतिसत्ताका पर्खालहरु ।

हत्कडी जस्ता चुरा फुटाउँछु,
फाँसी जस्तो घाटीको मंगलसुत्र त्याग छु,
चुल्ठाको दाम्लो जस्तो डोरी जलाउँछु,
रगत जस्तो रातो पिठो हुत्याउँछु,
तिम्रो नामका, मानक बगाउँछु,
मलाई बाँध्ने यीनै होइनन्,
दासतामा बाँध्ने यीनै होइनन्,
सून ...।

म आजादी चाहान्छु,
तिम्रो धर्म, संस्कार सब त्यागछु ,
कस्तो धर्म, लिङ्गमा अडिएको,
कस्तो परम्परा, कस्तो रीतिरिवाज,
असमानता भएको
म सोध्छु ... ।

मेरालागि तिमी कहिल्यै व्रत बस्यौं ?
कति सर्त राख्छौं , कति संस्कारका कुरा गर्छाैं ,
सधैं सर्त राख्ने कस्तो धर्म हो तिम्रो ?
मेरो मर्म नबुझ्ने कस्तो सभ्यता हो तिम्रो ?
मलाई व्रतको सर्त अब मन्जुर छैन ,
विवसाताको बास बस्नु छैन ,
मलाई विद्रोह मन्जुर छ ,
अब व्रतको सर्त मन्जुर छैन ।
प्रकाशित मिति २०७७ भदौ ४

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित