दृष्टिकोण बिना काम गर्दा वर्तमान सरकार आलोचित : नेता राई

  • प्रकाशित मितिः भदौ २, २०७७
  • 803 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, भदौ २–नेकपाका नेता तथा पूर्व सांसद टंक राईले पार्टी ध्वस्त भएको भन्दै असन्तुष्ट व्यक्त गरेका छन् । भदौ १ गते प्रेस संगठन आबद्ध पत्रकारहरुसंगको भेटघाटमा सैद्धान्तिक लडाई भन्दा पनि पदको लडाईले जनताका सामु चुकेको बताएका हुन् ।
कम्युनिष्ट पार्टीको मुल्य मान्यतालाई लत्याएर आफू अनुकुल पार्टी परिचालन गरेको राईले जनाए । ‘कम्युनिष्टको मुल्य मान्यतालाई लत्याएर आफू अनुकूल पार्टी परिचालन गरिरहेका छन् ।’ राईले भने–‘यसले जनतामा कम्युनिष्टप्रति बितृष्णा खडा गरेको छ ।’
बहसको माध्यमबाट पार्टीको सैद्धान्तिक मार्गचित्र बनाउन कार्यकर्ताहरुले माग गरे पनि त्यसलाई पार्टी नेतृत्वले बेवास्ता गर्नाले थप समस्या उत्पन्न भएको राईले जनाए । जनताको बहुदलीय जनवाद मान्ने तत्कालीन एमाले, २१ औं शताब्दीको जनवाद मान्ने तत्कालीन माओवादी बीच एकता गर्दा जनताको जनवादमा सहमत भएको तर अहिले यस विषयमा बहस नै गर्न नचाहेकाले यो अवस्था आएको राईको भनाई छ ।
दृष्टिकोण बिनाको काम गर्दा वर्तमान सरकारले आलोचना खेप्नु परेको समेत राईले औल्याए । दुई तिहाईको पार्टी समेत यस्तो अवस्थामा भएकाले अन्य दलहरुको त झनै हबिगत भएको राईले बताए । यद्यपि अब नेकपा बन्ने विश्वास समेत व्यक्त गरे । ‘दुई तिहाइको कम्युनिष्टको त यस्तो हबिगत छ भने अरुको त के होला ?’ राईले भने–‘तर अब यतिखेर पार्टी बन्ने मौका पनि छ ।’ राईले भने–‘नत्र इतिहासमा नेताहरु कलङ्कित बन्ने छन् ।’
राईले नेकपालाई पार्टीको रुपमा नउभ्याउने हो भने विसर्जनतिर जाने खतरा रहेको समेत औल्याए । न्युनतम मुल्य मान्यता, नैतिकता लगायतका अन्य मापदण्डलाई ख्याल नगरिए पार्टी खतरामा जाने र यसले विसर्जनसम्म पु¥याउन सक्ने राईले तर्क गरे । ‘सिद्धान्त र विचार सहित समाजवादसम्म पुग्न सक्ने कार्यक्रम बनाएर जानु पर्छ ।’ राईले भने–‘नत्र जनताले यत्रो विश्वास गरेको पार्टी समाप्त हुन्छ ।’
हलेसी विकास समितिका अध्यक्ष समेत रहेका राईले विश्व प्रसिद्ध हलेसीको समग्र विकासका योजना निर्माण सुरु भएको सुनाए । हलेसी अन्य धार्मिकस्थलजस्तो नभएर त्रिधार्मिकस्थल भएकाले अन्यभन्दा धेरै महत्वपूर्ण भएकाले त्यसै आधारमा विकास गर्नु पर्ने धारणा राखे । ‘हलेसी अन्य धार्मिकस्थलजस्तो होइन, यो त त्रिधार्मिक स्थल हो ।’ राईले भने–‘त्यसैले त्रिधार्मिकस्थलकै मान्यतामा विकास गरिनु पर्छ ।’ राईले थपे–‘अब हलेसी विकास समितिमा सीमित नराखेर हेलसी विकास कोषसम्म पुग्ने लक्ष्यका साथ काम सुरु गरिएको छ ।’

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित