दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले विपद व्यवस्थापन योजना निर्माण ग¥यो

  • प्रकाशित मितिः श्रावण ११, २०७७
  • 864 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, साउन ११–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले विपद व्यवस्थापन योजना निर्माण गरेको छ । नगरप्रमुख दीपनारायण रिजालको संयोजकत्वमा गठन गरिएको नगर विपद व्यवस्थापन समितिको साउन ११ गते बसेको बैठकले विपद व्यवस्थापन योजना निर्माण गरेको हो ।
विशेषगरी भारी वर्षाका कारण आइपर्न सक्ने बाढीपहिरो तथा कोभिड–१९ लाई लक्ष्यीत गर्दै विपद व्यवस्थापन योजना बनाइएको नगरप्रमुख रिजालले बताए । वर्षाका कारण हुने सम्भावित बाढी पहिरोबाट जनधनको बचाउ गर्न १५ वटै वडाका जोखिमपूर्णस्थलको नक्साङ्कन गर्ने, जोखिमयुक्त स्थलका नागरिकलाई सचेत गराउने, उद्धार तथा विपद प्रतिकार्यका लागि सुरक्षाकर्मी एवम् स्वयम्सेवक परिचालन गर्ने, विपदपछि निम्तिने समस्या हल गर्नका लागि राहत तथा उद्धारका सामग्री तयारी अवस्थामा राख्ने, वडा–वडाबाटै राहत वितरणको प्रबन्ध गर्ने लगायतका योजना बनाइएको छ ।
जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, रेडक्रस, गैसस महासंघ लगायतका प्रमुख तथा प्रतिनिधिको राय र परामर्शका आधारमा नगरपालिकाको विपद व्यवस्थापन योजना बनाइएको छ । वर्षा याममा अवरुद्ध हुने सडक सुचारु गराउनका लागि जेसिभि तयारी अवस्थामा राखिएको, आगलागीका लागि दमकललाई कन्डिसनमा राखिएको नगरपालिकाले जनाएको छ ।
यस्तै, कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि नगरपालिका भित्रिने स्थानीयलाई अनिवार्य क्वारेन्टीनमा राखेर पिसिआर परिक्षण गर्ने व्यवस्था मिलाइएको नगरप्रमुख रिजालले बताए । प्राकृतिक तथा गैर–प्राकृतिक विपदलाई व्यवस्थापनका लागि गत माघ २९ गते कार्यविधि पारित गरेको थियो ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी श्यामकुमार राई, सुरक्षा निकायका प्रमुख, रेडक्रस, गैसस महासंघ, उद्योग बाणिज्य संघ, विषयत समितिका संयोजक, वडाध्यक्ष लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित