बराहापोखरीको माछा मार्ने पक्राउ

  • प्रकाशित मितिः असार २८, २०७७
  • 1054 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असार २८–धार्मिक तथा पर्यटकीयस्थल खोटाङको बराहपोखरीमा दुर्लभ रातो माछा मार्दै गर्ने दुई जना स्थानीय बासिन्दा पक्राउ परेका छन् । बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा रहेको बराहपोखरीमा पाइने रातो माछा डोकोले छोपेर निकाल्दै गरेको अवस्थामा सोही ठाउँका ५७ वर्षीय प्रेमबहादुर राई र २७ वर्षीय जीतबहादुर राईलाई प्रहरीले पक्राउ गरेको हो ।
संसारबाटै लोपोन्मुख बनेको रातो माछा निकाली रहेको स्थानीय बासिन्दाले दिएको सूचनाको आधारमा प्रहरीचौकी बराहपोखरीकै प्रहरी टोलीले उनीहरुलाई गएराति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले बताए । ‘माछा मार्दै गरेको अवस्थामा पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय झिकाइएको छ ।’ चिमोरियाले भने–‘प्रतिवन्धित रातो माछा मार्ने उनीहरुविरुद्ध चोरी अन्तरगतको कारबाही चलाउने तयारी गरिएको छ ।’
पक्राउ परेका व्यक्तिसँग भेटिएका ज्यूँदो माछालाई पोखरीमै छाडिएको र मरेको माछालाई बरामद गरिएको प्रहरीले जनाएको छ । बराहपोखरीबाट अन्दाजी ३५ केजीभन्दा बढी रातो माछा निकालिएको पाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक गोविन्द साहले बताए ।
नेपालको एक सय गन्तव्यको सूचीमा समावेस बराहपोखरीमा पाइने दुर्भल रातो माछाको अस्तित्व मानवीय क्रियाकलापकै कारण पछिल्लो समय सङ्कटमा परेको छ । बराहपोखरीमा गत तीन÷चार महिनादेखि दिनहु माछा मारिने गरेको स्थानीयले बताएका छन् ।
मुहान र निकास नदेखिने खुर्पा आकारको पोखरीमा पछिल्लो समय बढ्दो फोहरमैलाका कारण रातो माछा मर्न थालेको स्थानीय बासिन्दाको दाबी छ । पोखरीमा स्थानीय बासिन्दाले नुहाउने र लुगा धुने गर्दा बढेको फोहरमैला र साबुनको असरका कारण रातो माछा मरेको हुन सक्ने अनुमान गरिएको छ ।
जिल्लाको एक मात्र ठाउँ बराहपोखरीमा पाइने रातो माछा सुनकोशीबाट बथानका बथान आउने पानी हाँसले समेत खाने गरेको स्थानीय बासिन्दाले बताएका छन् । बिहानपख सुनकोशीबाट बथान नै उडेर आउने हाँसको पञ्जाबाट उम्किए पनि हाँस ठुँगेको चोटका कारण पनि माछा मर्ने गरेको उनीहरुको भनाइ छ ।
दुर्लभ रातो माछा संरक्षण गर्न स्थानीय बासिन्दाले हाँस धपाउने प्रयास गरे पनि पर्याप्त हुन नसकेको वडाध्यक्ष टंक मगरले बताए । पानी आउने मुहान र निकास हुने स्थान नदेखिए पनि बा¥है टम्म पानी हुनु बराहपोखरीको विषेशता हो ।
परापूर्वकालमा स्थानीय १२ घर मगरबस्ती ढुबेर पोखरी बनेको भन्ने कथनका साथ बराहपोखरी नाम रहेको बराहपोखरी तीन सय तीस मिटर लम्बाई र दुई सय दश मिटर चौडाईको क्षेत्रफलमा फैलिएको छ । जिल्लाकै प्रमुख पर्यटकीय स्थलकारुपमा विकास गर्न सकिने भएपनि संरक्षण र संबद्र्धनको अभावमा ओझेलमा परेको छ ।
बराहपोखरीको दक्षिणपट्टी अवस्थित बराहमाई र शंखेश्वरको पूजाआराधना गरेमा चिताएको कुरा पूरा हुने जनविश्वास छ । चारैतिर जङगलले घेरिएर बीच भागमा बनेको बराहपोखरीमा जीवनमा शान्ति मिलोस् भन्ने अपेक्षासहित जोडी परेवा उडाउनुका साथै सुद्धताका लागि नुहाएर पूजाआराधना गर्ने प्रचलन छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित