सुरक्षा सचेतना अभियान सुरु

  • प्रकाशित मितिः असार १२, २०७७
  • 1036 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–

खोटाङ, असार १२–विपद जोखिम न्यूनीकरण गर्न सुरक्षा सचेतना अभियान सुरु भएको छ । प्राकृतिक विपत्तीबाट जनधनको क्षति न्युनीकरण गर्न समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत असार १२ गतेदेखि सुरक्षा सचेतना अभियान सुरु गरिएको हो ।
बाढी, पहिरो, डुबान, आगलागी, भूकम्पजस्ता प्राकृतिक विपत्तीबाट सुरक्षित रहन जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयले सुरक्षा सचेतना अभियान सुरु गरेको समुदाय प्रहरी जिल्ला समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए ।
यसबाहेक जिल्लाका नागरिक काम विशेषले तराई वा लेकाली क्षेत्रमा समेत पुग्ने भएकाले शितलहर र लेक लाग्नबाट बच्ने उपायका बारेमा समेत जानकारी मुलक कार्यक्रम सञ्चालन गरिने समुदाय प्रहरी जिल्ला समितिले जनाएको छ ।
सुरक्षा सचेतना अभियानका क्रममा खोटाङका ४२ हजार ६४७ घरधुरीमा पुगेर सुरक्षा सचेतनासम्वन्धी सचेतनामुलक पुस्तिका वितरण गरिने प्रहरी नायव उपरीक्षक नारायण चिमोरियाले बताए । विभिन्न प्राकृतिक विपत्तीबाट सर्वसाधारणको जीवन बचाउका लागि हरेक घरमा एक–एक प्रति सचेतनामुलक पुस्तिका पु¥याउने लक्ष्यका साथ अभियान थालिएको डिएस्पी चिमोरियाले जनाए ।
जिल्लाका १० स्थानीय तहमध्ये हालसम्म ६ वटा स्थानीय तहको सहयोगमा २२ हजार पाँच सय घरपरिवारलाई पुग्ने सचेतनामुलक पुस्तिका प्रकाशन गरी सकिएको डिएस्पी चिमोरियाको भनाई छ । अन्य स्थानीय तहको सहयोगमा थप पुस्तिका प्रकाशन गरिने डिएसपी चिमोरियाले जनाए । सचेतनामुलक पुस्तिका समुदाय–प्रहरी पालिका समिति, वडा समिति र टोल समितिमार्फत घर–घरमा वितरण गरिने छ ।
जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै संविधानसभा सदस्य दुर्गाजयन्ती राईले पुस्तिका शैक्षिक संस्थाहरुमा समेत पु¥याउनु पर्ने सुझाब दिइन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले समाजमा मानवीय क्षति रोक्न नगरपालिका अग्रपङ्क्तिमा रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । जिल्ला समन्वय समिति खोटाङकी उपप्रमुख गोमादेवी खत्री, नेपाली कांग्रेसका सचिव ज्ञानेन्द्र जोशी लगायतले विपद जोखिम न्यूनीकरणका लागि सुरक्षा सचेतना अभियान अन्तरगत वितरण हुने पुस्तिका अध्ययन गर्न सर्वसाधारणलाई आग्रह गरेका छन् । कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख रिजालले डिएसपी चिमोरियालाई सचेतनामुलक पुस्तिका हस्तान्तरण गरेका थिए । उक्त पुस्तिका प्रकाशनमा नगरपालिकाको आर्थिक सहयोग रहेको प्रमुख जिल्ला अधिकारी शर्मा पौडेलले सुनाए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित