घर निर्माण गर्न जनता आवास कार्यक्रमको सहयोग

  • प्रकाशित मितिः असार ८, २०७७
  • 1548 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असार ८–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका आठ घर परिवारलाई घर निर्माण गर्न रकम प्रदान गरिएको छ । जनता आवास कार्यक्रम अन्तरगत घर निर्माणका लागि एकमुस्ट तीन लाख पाँच हजारका दरले रकम प्रदान गरिएको हो । प्रदेश सरकारद्वारा सञ्चालित जनता आवास परियोजना अन्तरगत नगरपालिकाका १४ घर गरीब परिवार छनौट गरिएको थियो । यसमध्ये घर निर्माण सम्पन्न गरेका आठ घर परिवारलाई सोमबार रकम प्रदान गरिएको हो ।
प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय शहरी विकास तथा भवन कार्यालय ओखलढुङ्गा फिल्ड युनिट खोटाङले आयोजना गरेको कार्यक्रममा नगरप्रमुख दीपनारायण रिजालले रकमको चेक हस्तान्तरण गरेका हुन् । गरिब घर परिवारलाई रकम हस्तान्तरण कार्यक्रममा नगरस्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, कार्यालय प्रमुख, पत्रकार लगायतको उपस्थिति थियो ।
गरीबीका कारण ओत लाग्ने घर निर्माण गर्न नसकेर छाप्रोमा बस्दै आएका नगरबासी प्रदेश सरकारले उपलब्ध गराएको रकमबाट नयाँ घर निर्माण गर्न पाएपछि हर्षित भएका छन् । दश स्थानीय तह रहेको जिल्लामा उक्त कार्यक्रम अन्तरगत यस वर्ष एक सय वटा घर निमार्ण गरिएको फिल्ड युनिट खोटाङका कार्यालय प्रमुख प्रमोद मण्डलले बताए । कार्यालय प्रमुख मण्डलका अनुसार जिल्लामा सबै घर निर्माण सम्पन्न भइसकेकाले केही दिन भित्रै रकम प्रदान गरिने छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित