पत्रकारहरुलाई एप्रोन र मास्क

  • प्रकाशित मितिः जेठ 22, 2077
  • 82 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ २२–जिल्लामा रहेका प्रेस सङ्गठनमा आबद्ध क्रियाशील पत्रकारहरुलाई एप्रोन र मास्क वितरण गरिएको छ । नेपालका केन्द्रीय सदस्य हरिवोल आचार्य र सल्लाहकार डम्बरसिं राईले खोटाङमा क्रियाशील प्रेस संगठनमा आबद्ध पत्रकारहरुलाई एप्रोन र मास्क वितरण गरेका हुन् । केन्द्रीय सदस्य आचार्य र सल्लाहकार राईले विश्वभर फैलिएको कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी समाचार सङ्कलन तथा प्रशारण गर्न अग्रभागमा खटिने ३० जना पत्रकारलाई प्रेस सङ्गठन नेपालको लोगोसहित प्रेस लेखिएको एप्रोन र केएन नाएन्टिन मास्क उपलब्ध गराएका हुन् ।
मोफसल तथा राष्ट्रिय सञ्चार माध्यममा आवद्ध रहेर जिल्लामा क्रियाशील रहेका पत्रकारलाई समाचार सङ्कलन र प्रशारणमा सहजता दिलाउन स्वास्थ्य सामग्रीको रुपमा एप्रोन र मास्क उपलब्ध गराइएको सल्लाहकार राईले बताए । ‘कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दीको समयमा एप्रोन नलाइ समाचार सङ्कलन गर्न हिँड्दा प्रहरीले दुःख दिने गरेका छन् ।’ राईले भने–‘आगामी दिनमा सहज रुपमा समाचार सङ्कलन र प्रशारण गर्ने वातावरण मिलाउन अग्रभागमा खटिने पत्रकारलाई एप्रोन र मास्क उपलब्ध गराइएको हो ।’
दिक्तेलस्थित इन्द्रेणी होटलमा जेठ २२ गते आयोजित कार्यक्रममा केन्द्रीय सदस्य आचार्य र सल्लाहकार राईले सङ्गठनका जिल्ला संयोजक खेमराज अधिकारी र सहसंयोजक सूर्य तामाङलाई एप्रोन र मास्क हस्तान्तरण गरेका हुन् ।
दश स्थानीय तह रहेको खोटाङ जिल्लामा हालसम्म चार जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । कोरोना भाइरसको सङ्क्रमण देखिएका जिल्लाका चारै जना हलेसी तुवाचुङ नगरपालिकाका स्थानीय बासिन्दा हुन् ।
छिमेकी स्थानीय तहका व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि अन्य स्थानीय तहमा उच्च सतर्कता अपनाइएको छ । जिल्लाका हरेक स्थानीय तहले आ–आफ्नो क्षेत्रको प्रवेश नाका पूर्णरुपमा बन्द गरेको छ भने, परीक्षणलाई तीव्रता दिएका छन् ।

प्रतिक्रिया दिनुहोस


Copyright © 2020 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित