दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा कक्षा ८ को नतिजा सार्वजनिक

  • प्रकाशित मितिः बैशाख २३, २०७७
  • 912 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख २३–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले एसइइ प्रणालीबाट लिएको कक्षा–८ को परीक्षाफल सार्वजनिक गरेको छ । नगरपालिकाले गत फागुन–२७ गतेदेखि चैत–५ गतेसम्म पहिलो पटक एसईई प्रणालीबाट लिएको परीक्षाको नतिजा बैशाख २२ गते पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
ग्रेडिङ प्रणालीमा नतिजा जोडिएको परीक्षामा ३९ दशमलव ३५ प्रतिशत अर्थात तीन सय ९० जनाले मात्र सबै विषय उर्तिण गरेको नगरप्रमुख दीपनारायण रिजालले बताए । ‘नगरपालिकाभित्र पर्ने ३६ वटा आधारभूत विद्यालयमा अध्ययनरत एक हजार दुई जना विद्यार्थीका लागि २६ केन्द्रबाट कक्षा–८ को परीक्षा लिइएको थियो ।’ रिजालले भने–‘नगरस्तरीय परीक्षाका रुपमा सञ्चालित कक्षा–८ को परीक्षामा गणित विषयमा सबैभन्दा बढी ६० दशमलव ६५ प्रतिशत विद्यार्थी अनुतीर्ण भएका छन् ।’
नगरप्रमुख रिजालका अनुसार परीक्षामा ९९१ जना विद्यार्थीमात्र सहभागी भएका थिए । एक हजार दुई जनाले कक्षा–८ को परीक्षा फारम भरेपनि परीक्षामा ११ जना विद्यार्थी अनुपस्थित भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
गणित विषयमा ३९ दशमलव ३६ प्रतिशत विद्यार्थीमात्र उतीर्ण भएका छन् । नगरपालिकाले सार्वजनिक गरेको नतिजा अनुसार नौँ जनाले ए प्लस, ४१ जनाले ए, एक सय १८ जनाले बी प्लस एक सय ७० जनाले बी, र दुई सय ५४ जनाले सी प्लस ग्रेड ल्याउन सफल बनेका छन् ।
यस्तै, दुई सय ९४ जनाले सी, ९६ जनाले डी प्लस, र तीन जनाले डी ग्रेड ल्याएका छन् । ग्रेड सुधार गर्न चाहाने विद्यार्थीलाई विद्यालय सञ्चालन भएको १५ दिनभित्र पूरक परीक्षा सञ्चालन गरिने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
नगरपालिकाले लिएको परीक्षामा माउण्ट एभरेष्ट इङ्ग्लिस बोर्डिङ स्कूल दिक्तेलका प्रदीप आचार्यले ३ दशमलव ८३ तथा दिक्तेल ईङ्ग्लिस बोर्डिङ स्कूलका प्रेरणा राईले पनि ३ दशमलव ८३ प्रतिशत ग्रेड ल्याउँदै नगरपालिकाका उत्कृष्ट विद्यार्थी बन्न सफल भएका छन् । यस्तै, सामुदायिक विद्यालयका तर्फबाट चम्पावती मावि बुइपाका अभिषेक श्रेष्ठले ३ दशमलव ५५ र चम्पावती मावि विजयखर्ककी रोजिना कटवालले पनि ३ दशमलव ५५ प्रतिशत अङ्क ल्याउँदै उत्कृष्ट विद्यार्थी घोषित भएका छन् ।
कक्षा–८ को परीक्षामा उत्कृष्ठ अङ्क ल्याउने चारै जना विद्यार्थीलाई नगर दिवसमा पुरस्कृत गरिने भएको छ । परीक्षालाई चुस्त तथा निष्पक्ष बनाउन कोडिङ सिस्टमबाट कापी जाँच गराइएको नगरप्रमुख रिजालले बताए ।
परीक्षाको नतिजा थाहा पाउन मोबाइल फोनमा अङ्ग्रेजी अक्षरको ‘एमएलई’ टाईप गरेर एक स्पेश दिएपछि ‘सिम्बल नम्बर’ टाईप गरी ३५०० मा पठाएर हेर्न सकिने व्यवस्था गरिएको छ । नतिजाको लागि सिम्बल नम्बर टाईप गर्दा अगाडीको शुन्यलाई छाड्नुपर्ने नगरपालिकाले जनाएको छ ।
सामुदायिक विद्यालयमा खस्कँदै गएको शैक्षिक गुणस्तर सुधार गर्न कक्षा–८ को परीक्षा एसईई प्रणालीबाट नगरस्तरीय परीक्षाको रुपमा लिइएको जनाइएको छ । नगरपालिकाले एसईई परीक्षालाई मध्यनजर गर्दै एफ रेडियोबाट एसइइ विशेष कक्षा सञ्चालनको तयारीसमेत गरिरहेको छ ।
नगरपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि आफ्नै नगर शिक्षा नियमावली तयार पारेर लागू गरेको छ । संघीय सरकारले स्थानीय तहमा शैक्षिक क्षेत्र बुझाएपछि गुणस्तरीय शिक्षा लागू गर्न शिक्षा नियामावली तयार पारेर लागू गरेको हो ।
नियमावली अनुसार नगरपालिका भित्र सञ्चालित विद्यालयका शिक्षक अब कुनै पनि पार्टीको वडा तथा जिल्ला कार्यसमितिमा रहन नपाइने व्यवस्था गरिएको छ । नगरले सुत्केरी बिदा ९८ दिन र सुत्केरी बिदा लिएको अवस्थामा दुई वटा बच्चासम्मको लागि बिदाको सुविधासँगै पाँच हजार सुत्केरी खर्चको व्यवस्थासमेत लागू गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित