एक वर्षमा ७७ दशमलव ४१ प्रतिशत मुद्दा फछ्र्यौट

  • प्रकाशित मितिः श्रावण १, २०७५
  • 1003 पटक पढिएको
  • संवादताता

नमस्ते संवाददाता-

खोटाङ साउन १–जिल्ला अदालत खोटाङले यस आर्थिक वर्षमा ७७ दशमलव ४१ प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ । गत साउन १ गतेदेखि हिजो असार मसान्तसम्ममा दुई सय १६ वटा मुद्दा फछ्र्यौट गरेको हो ।
अदालतले वर्ष दिनभित्र फछ्र्यौट गर्न बनाएको लक्ष्यभन्दा दुई दशमलव ४१ प्रतिशत बढी मुद्दा फछ्र्यौट गरिएको जिल्ला न्यायाधिस किशोर घिमिरेले बताए । “हामीले करीब ७५ प्रतिशत मुद्दा फछ्र्यौट गर्ने लक्ष्य बनाएका थियौं ।” उनले भने, “अदालतमा दर्ता भएका २७९ मुद्दामध्ये २१६ वटा मुद्दा फछ्र्यौट गरिएको छ ।”
अदालतले पत्रकार सम्मेलन गरेर अघिल्लो वर्ष जिम्मेवारी सरेर आएको ११३ र चालु आर्थिक वर्षमा परेको १६६ मुद्दामध्ये फछ्र्यौट गर्न ६३ वटा बाँकी रहेको जनाइएको छ । फछ्र्यौट हुने मुद्दामा दुनियावादी देवानी ४९, सरकारवादी फौजदारी ७४, दुनियावादी फौजदारी ९२ र रिट निवेदन १ वटा रहेको छ ।
नगद जरिवानातर्फ रु छ लाख ७२ हजार ३३८ फछ्र्यौट गरिएको श्रेस्तेदार प्रदिपकुमार उपाध्यायले बताए । श्रेस्तेदार उपाध्यायका अनुसार ९० लाख ७८ हजार ७३५ फछ्र्यौट हुन बाँकी रहेको पाइएको छ ।
कैद जरिवानातर्फ १४३ वर्ष ८ महिना ४ दिन फछ्र्यौट गरिएको अदालतले जनाएको छ । अदालतमा आयोजना गरिएको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार ७८४ वर्ष ७ महिना २ दिन फछ्र्यौट गर्न बाँकी रहेको छ ।
कारागारमा थुनुवा रहेका व्यक्तिको मुद्दातर्फ ३९ वटा रहेकामा ३१ वटा फछ्र्यौट भएको र ८ वटा बाँकी रहेको पाइएको छ । यस्तै, बाल इजलासबाट हेरिने मुद्दातर्फ ४ वटा रहेकामा ३ वटा फछ्र्यौट र १ वटा मात्र बाँकी रहेको जनाइएको छ ।
फैसला कार्यान्वयका लागि परेको निवेदनतर्फ २० वटा रहेकामा १४ वटा फछ्र्यौट भएको र ६ वटा बाँकी रहेको जनाइएको छ । अदालतमा एक वर्ष नाघेका मुद्दा नरहेको श्रेस्तेदार उपाध्यायले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित