कोरोना सन्दर्भ (दुई कविता)

  • प्रकाशित मितिः बैशाख ६, २०७७
  • 1390 पटक पढिएको
  • संवादताता

सोनाम सोल्टी-
कोरोना सन्दर्भ–एक
प्रेमको कविता
समय अत्यन्त प्रतिकूल छ,
कसरी लेख्छौ प्रेमको कविता ?
तिमीले भन्यौ ।
यो बेला प्रेमको कविता नलेखेर कहिले लेख्ने प्रिय ?
जीवनको सबैभन्दा अध्यारो समयमा
अभाव, संकट र कष्टको बेला
प्रेम चाहिन्छ
प्रेमले उत्साह दिन्छ
प्रेरणा दिन्छ प्रेमले
सजिलोमा, सफलतामा, सम्पन्नतामा
शक्ति, समृद्धि र प्रतिस्ठा आर्जन भएको बेला
प्रेम किन चाहिन्छ र
प्रेमको के उपयोग र
संकटमा प्रेमको उपयोग गरिन्छ
सजिलोमा उपयोगका लागि प्रेम गरिन्छ ।
त्यसैले प्रिय,
के अहिले प्रेमको कविता लेख्ने सर्वाधिक उपयुक्त समय होइन र ?
आउ त्यसैले हामी इन्द्रेणी प्रेमका कविता लेखौ प्रिय ।
के थाहा, समयले प्रेमको कविता लेख्न
फेरि–फेरि मौका दिन्छ कि दिदैन ।
सन्दर्भ कोरोना-दुई
नयाँ वर्ष
भन्नलाई त भन्न मन लाग्छ,
आपतका बीच आयो नयाँ वर्ष
पिडाका बीच आयो नयाँ वर्ष
सधै बिहान उत्साहका साथ सुरु हुने जीवन
बिस्तारै घाम जस्तै ढल्दै जान्छ
लालुपाते साँझ घायल हुन्छ
र त्रासद रात हुन्छ जीवन ।
शुभकामनाको बर्सासंगै आयो नयाँ वर्ष
माङ्गलिक सन्देश लिएर आए शुभकामनाहरु
भन्नलाई त भनु झै लाग्छ
टुक्रिएको काचको चुराजस्तो कैल्यै नजोडिने
लास जलेको खरानी जस्तै कहिल्यै नब्युझने
आफै आफ्नो सपनाको मलामी जादैछु
आफै आफ्नो भविष्यको समाधी बनाउँदैछु
के गर्नु र मलाई यत्रो शुभकामना ?
के गरु म यति धेरै शुभेच्छा ?
मान्छेको लास टेक्दै टेक्दै
आयो नयाँ वर्ष ।
मलामी पनि नपाउँने बेला
आयो नयाँ वर्ष ।
आफूलाई अजेय ठान्नेहरुको होस उडाउँदै
आयो नयाँ वर्ष
मान्छेको भन्दा पैसाको मोल धेरै देख्नेहरुको रुप देखाउँदै
आयो नयाँ वर्ष ।
त्यसैले भनु भनु लाग्छ
मलामी नपाएर आफै आफ्नो दाह संस्कार गर्दैछु
आफन्तको अन्तिम अनुहार हेर्न नपाएर एक्लै रुदैछु ।
यस्तो बेला मैले के गर्नु शुभकामना ?
यस्तो बेला मैले कहाँ राख्नु शुभेच्छा ?
तर भन्न सक्दिन सक्दै सक्दिन, किनभने
जिउनुको अर्थ सिकाउँदै–सिकाउँदै
आयो नयाँ वर्ष
ज्यानको मायाँ बुझाउँदै बुझाउँदै
आयो नयाँ वर्ष
धमिलो क्षितिजमा अलिकति आशाको धर्सो देखाउँदै
आयो नयाँ वर्ष
स्तब्ध संरारमा नयाँ सम्भावनाको धमिलो चित्र देखाउँदै
आयो नयाँ वर्ष
प्रिय,
प्रेम पूर्वक तिमीलाई सम्झिरहेछु
भावनाको अङ्गालोमा चपक्क कसेकोछु
प्लीज अहिले उतै बस
कृपया एक मिटर टाढै बस, तीन फिट परै बस
घरमै बस
शुभकामना ।
प्रकाशित मिति २०७७ बैशाख ६

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित