अब पुरुषलाई सचेतनता आवश्यक छ : तुम्बाहाम्फे

  • प्रकाशित मितिः फाल्गुन २७, २०७६
  • 951 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ–कानुन न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया“ तुम्बाहाम्फेले पुरुषलाई सचेतनता आवश्यकता भएको बताउकी छन् । फागुन २७ गते दिक्तेल आयोजित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कानुन संग्रह सार्वजनिक कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै मन्त्री तुम्बाहाम्फेले त्यसो भनेका हुन् ।
पछिल्लो अवधिमा हरेक क्षेत्रमा महिलाको सहभागिता बढेको, महिलाहरुमा आफ्नो अधिकारप्रति ज्ञान भएको लगायतका कारण आफू आशावादी भएको तुम्बाहाम्फेले बताइन् । संविधानको प्रस्तावनामै महिला अधिकारको बारेमा उल्लेख गरिएको र यस कार्यान्वयनका लागि संविधानमा उल्लेखित अधिकारहरु कार्यान्वयनका लागि निर्माण गरिने ऐन, नियमहरु निर्माण गर्दा समेत ध्यान दिनु पर्ने तुम्बाहाम्फेले जनाइन् । ‘संविधानको प्रस्तावनामै महिला अधिकारको बारेमा उल्लेख गरिएको छ ।’ तुम्बाहाम्फेले भनिन्–‘तर यसको कार्यान्वयनका लागि ऐन, नियमहरु निर्माण गर्दा ध्यानु दिनु पर्ने हुन्छ ।’
यसै मेसोमा तुम्बाहाम्फेले संविधानभन्दा बाहिर नजान जनप्रतिनिधिलाई निर्देशन दिइन् । तुम्बाहाम्फेले स्थानीय तहका जनप्रतिनिधि जनतासंग सिधा सम्पर्कमा हुने भएकाले जनचाहना अनुसार काम गर्न आग्रह गरिन् । ‘जनताको आशा र भरोसा स्थानीय तहका जनप्रतिनिधिमाथि छ ।’ उनले भनिन्–‘उनीहरुको चाहनालाई सम्बोधन गर्ने गरी नीति तथा कार्यक्रम बनाएर अगाडि बढ्नुहोस् ।’
मन्त्री तुम्बाहाम्फेले जनप्रतिनिधिले मात्र होइन राष्ट्रसेवक कर्मचारीको सहकार्यमा मात्र सरकारले अवलम्बन गरेको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सकिने बताइन् । मन्त्री तुम्बाहाम्फेले नेपालको संविधान परिवर्तनशील भएकाले समय र परिस्थिति अनुसार संशोधन हुदै जाने बताइन् ।
यसै सन्दर्भमा स्थानीय तह सञ्चालन ऐन अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आफ्नो नीति तथा नियम आफै बनाएर कार्यान्वय गर्न सफल भएकोप्रति खुसी व्यक्त गरिन् । नगरपालिकाले लागू गरेको ऐन तथा नियमावली जनचाहना बिपरित रहेको खण्डमा परिमार्जन गर्न पनि आग्रह गरिन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नाम लामो भएकाले यसलाई पनि जनताको सल्लाह अनुसार परिमार्जन गर्न सकिने सुझाव दिइन् ।
अर्का वक्ता प्रतिनिधिसभा सदस्य कृष्णगोपाल श्रेष्ठले खोटाङ हरेक क्षेत्रको विकासका लागि सम्भावना भएको जिल्ला भएको बताए । प्रतिनिधिसभा सदस्य विणा श्रेष्ठ, प्रदेशसभा सदस्य उषाकला राई, नेकपा केन्द्रीय सदस्य दुर्गाजयन्ती राई, जिल्ला न्यायाधिस मातृकाप्रसाद आचार्य, प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल लगायतले शुभकामना मन्तव्य राखे ।
नगरपालिकाले आर्थिक कार्यविधिसम्बन्धी ऐन २०७६, शिक्षा ऐन २०७५, कृषि व्यवसाय प्रवद्र्धनसम्बन्धी ऐन २०७५, सहकारी ऐन २०७५, न्यायिक समितिको कार्यविधिसम्बन्धी ऐन २०७५ र प्रशासकीय कार्यविधिसम्बन्धी ऐन २०७५ पारित गरेको छ । ५७२ पृष्ठको कानून संग्रहमा नगर कार्यपालिका (कार्यसम्पादन) नियमावली २०७४, नगर कार्यपालिका (कार्य विभाजन) नियमावली २०७४, उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापनसम्बन्धी कार्यविधि २०७६, सवारी साधन व्यवस्थापनसम्बन्धी कार्य्विधि २०७६, सरसरफाइ तथा फोहरमैला व्यवस्थापन सम्बन्धी कार्यविधि २०७५, अपाङ्गता भएका व्यक्तिको परिचयपत्र वितरणसम्बन्धी कार्यविधि २०७५, टोल विकास संस्था सञ्चालन कार्यविधि २०७५ समावेश गरिएको छ ।
त्यस्तै प्रसुति सट्टा शिक्षक व्यवस्थापन कार्यविधि २०७५, उपप्रमुखसंग महिला कार्यक्रम सञ्चालन कार्यविधि २०७५, सल्लाहकार तथा परामर्शदाता नियुक्तिसम्बन्धी कार्यविधि २०७५, ‘घ’ वर्गको निर्माण व्यवसायी इजाजतपत्रसम्बन्धी कार्यविधि २०७५, राजपत्र प्रकाशनसम्बन्धी कार्यविधि २०७५, नगर रेन्बोट्राउट विकास कार्यक्रम कार्यान्वयन कार्यविधि २०७४, नमूना कृषि उद्यम कार्यक्रम कार्यान्वयन कार्यविधि २०७४ र बजार अनुगमन निर्देशिका २०७५ समावेश गरिएको छ । नगरपालिकाले पारित गरेको ऐन तथा कार्यविधिहरु कार्यान्वयनमा आइसकेको नगरप्रमुख दीपनारायण रिजालले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित