चर्चामा कुकुर प्रकरण

  • प्रकाशित मितिः भदौ १९, २०७६
  • 1325 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, भदौ १९–दिक्तेलको सामुदायिक कुकुरहरुलाई व्यवस्थापनको सन्दर्भमा यातना दिएर मारिएको भन्ने विषयमा चर्चा चुलिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले गत भदौ १४ गते दिक्तेलको सामुदायिक कुकुरलाई व्यवस्थापन गर्ने क्रममा यातना दिएर मारेको भिडियो भाइरल भएपछि चर्चा चुलिएको हो ।
दिक्तेलको त्रिवेणीचौक र भानुचौकमा यातना दिएर सामुदायिक कुकुर मारेको भिडियो जन्तेढुङ्गा गाउ“पालिका–५ खुट्टाका बाजिन्द्र विष्टले फेसबुकमा राखेपछि भाइरल भएको हो । यो विषयमा ललितपुर भैसेपाटीस्थित स्नेहाज केयर र नेपाल भेटेरीनरी एशोसियसन लगायतका पशुअधिकारकर्मी दिक्तेल आएर नगरप्रमुख दीपनारायण रिजाल लगायत अन्य तीन जना विरुद्ध प्रहरीमा उजुरी समेत दिएका छन् । उक्त पशुअधिकारवादी संस्थाहरुको साथमा विष्टले समेत उजुरी दिएका हुन् । स्नेहाज केयरको तर्फबाट पशु प्राविधिक सुमनकुमार श्रेष्ठ र नेपाल भेटेरीनरी एशोसियसनको तर्फबाट पशु चिकित्सक सिताराम यादवको नाम उल्लेख छ । 
उजुरीपछि काठमाडौं फर्किएका पशुअधिकारकर्मीहरु र विष्टलाई नुनथलाको माहुरेबाट फर्काइएको छ । त्यसपछि स्नेहाज केयरले आफ्नो फेसबुक पेजमा आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै नगरपालिका र जिल्लास्थित प्रशासकले आपत्ति जनाएको छ । यसपछि थप पक्ष–विपक्ष बनेर विवादको श्रृङ्खला चुलिदै गएको छ । यो विषयले राजनीतिक आड समेत पाएको छ । उजुरीकर्तालाई कांग्रेसको साथ पाएको र नगरपालिकालाई नेकपाको साथ देखिन्छ । कांग्रेसका महासमिति सदस्य विष्णुकुमार राईले पशुअधिकारको दृष्टिकोणबाट विष्टले आफ्नो फेसबुकमा भिडियो राखेको र त्यस विषयमा पार्टीभन्दा फरक तवरबाट हेरिनु पर्ने बताएका छन् भने नेकपापक्षधरहरुले भने विष्ट लगायत पशुअधिकारकर्मीहरु समेत कांग्रेसको कार्यकर्ता भएकाले यो विषय राजनीतिक प्रतिशोधले उचालिएको बताएका छन् । यस विषयमा भदौ १७ गते राती  अबेरसम्म र भदौ १८ गते बिहान छलफल भए पनि टुङ्गोमा पुग्न सकेन ।
नगरप्रमुख रिजाल लगायत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का ४५ वर्षीय खेमराज आचार्य र भोजपुर घर भइ हाल नगरप्रमुख रिजालको घरमा बस्ने करिब ४४ वर्षीय श्रेष्ठ थर मात्र उल्लेख गरेर तीन जना विरुद्ध भदौ १७ गते खोटाङका प्रहरी निरीक्षक आमोदकुमार खेरवारलाई भेटेर बुझाएका थिए । उजुरीमा नगर प्रमुख रिजालको निर्देशनमा आचार्य र श्रेष्ठले दिक्तेलको त्रिवेणीचौक र भानुचौकमा गत भदौ १४ गते घरपालुवा, बटुवा तथा सामुदायिक कुकुरहरुको मुख र टाउकोमा चिरुवा दाउराले कुट्ने, डोरीमा झुन्डाउ“ने, विष समेत प्रयोग गरी सार्वजनिक स्थलमा निर्मम तरिकाले मार्न लगाइएको र कुटपिट गरी अचेत अवस्थामा जिउदै करिब दुई सय कुकुर खाडलमा पुरेको भन्दै कारबाही हुनु पर्ने उल्लेख गरिएको छ । यो घटना मुलुकी अपराध संहिता २०७४ परिच्छेद २७ पशुपंक्षीसम्वन्धी कसुरको दफा २९० (१) र दफा २९१ (१) बमोजिम कसुर अपराध गरेको भन्दै संलग्नलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरी कारबाही गर्नु पर्ने उजुरीमा उल्लेख गरिएको छ । 
कुकुर व्यवस्थापनको पक्षमा प्रायजसो सबै देखिन्छन् । तर व्यवस्थापनमा केही कमजोरी भएको भन्दै यसप्रति मात्र मत विभाजन छ । कुटेर मारिएको विषयमा नगरप्रमुख समेतले आपत्ति जनाएका छन् । कामदारको मानवीय त्रुटीलाई राजनीतिकरण गरिएको भन्दै नगरपप्रमुख रिजालले दुःखेसो व्यक्त गरेका छन् । कुकुर नियन्त्रण गर्दा कामदारले कुटेर मारेकाले उक्त कार्य गल्ती भएको र त्यसको छानविन भइरहेको नगरप्रमुख रिजालको भनाई छ । ‘हामीले नगरबासीको अनुरोधको आधारमा कुकुर व्यवस्थापन गरिएको हो ।’ नगरप्रमुख रिजालले भने–‘यसक्रममा कुटेर मारेको भन्ने विषयमा छानविन भइरहेको छ ।’

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित