१० औं राष्ट्रिय खेलकुद प्रतियोगिता : खोटाङका खेलाडी उत्साहित (भिडिओ सहित)

  • प्रकाशित मितिः कार्तिक 28, 2083
  • 68 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, कात्तिक २७–१० औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खोटाङबाट छनौट भएका खेलाडीहरू उत्साहित छन् । बन्द प्रशिक्षणमा रहेका कराते, भलिबल, कबड्डी लगायतका खेलाडी उत्साहित देखिन्छन् ।
करातेका १७ इभेन्टका खेलाडीहरू गत कात्तिक ८ गतेदेखि बन्द प्रशिक्षणमा छन् । प्रदेश र दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा जित हात पार्ने लक्ष्यका साथ प्रशिक्षण लिइरहेको खेलाडीहरूको भनाइ छ । करातेकै खेलाडी युमसाम राईले पनि यो चोटी पदक जित्ने गरी बन्द प्रशिक्षण भइरहेको बताएकी छन् । नवौं राष्ट्रिय खेलकुदमा मेडल जितेका र विभिन्न राष्ट्रियस्तरका खेलहरूमा सहभागी भइसकेका खेलाडीहरू भएकाले दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्ने प्रशिक्षक सञ्जयकुमार राईले सुनाएका छन् ।
खोटाङबाट छनौट भएका कराते खेलाडीहरू सुनसरीको इटहरीमा मङ्सिर ३ गतेदेखि हुने कोशी प्रदेशस्तरीय खेलमा सहभागी हुने छन् । प्रदेश स्तरीय छनौटमा परेका खेलाडीहरू कर्णाली प्रदेशमा हुने १० औं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने छन् ।


त्यस्तै खोटाङबाट छनौट भएका भलिबल खेलाडीहरू पनि उत्साहित छन् । जित हात पार्ने लक्ष्यका साथ कात्तिक १५ गते जिल्ला छनौट हुनासाथ बन्द प्रशिक्षणमा जुटेका छन् । अहिलेको अवस्थामा खेलाडीहरूलाई हेर्दा महिला र पुरुष दुवैले जित हात पार्ने अपेक्षा गरेको भलिबल प्रशिक्षक जितेन्द्र राईको भनाइ छ ।
उमेरको हिसावले २१ वर्ष पार नगरेका ६ फिट अग्ला अनुभवी खेलाडीहरू भएकाले मेडल चुम्ने लक्ष्यका साथ बन्द प्रशिक्षणमा राखिएको जिल्ला भलिबल संघ खोटाङका अध्यक्ष दिलचक्र राईले बताए । जिल्ला छनौटमा उमेर र उचाइलाई मुख्य आधार मानेर छनौट गर्नुका साथै उनीहरू त्यही आधारमा बन्द प्रशिक्षणमा राखिएको उनको भनाइ छ ।
तर दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आवश्यक बजेट उपलब्ध नगराएकाले सहयोग उठाएर बन्द प्रशिक्षणमा राख्नु परेको राईको गुनासो छ । आगामी मङ्सिर ७ गतेदेखि प्रदेश छनौटमा सहभागी हुने र प्रदेशमा छनौट भएका खेलाडीहरू १० औं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने राईले सुनाएका छन् । खोटाङबाट महिला १२ जना, पुरुष १२ जना खेलाडी तथा महिला र पुरुष गरी १–१ जना व्यवस्थापक सहित २६ जनाको टोली हुने छ ।


तेक्वान्दोमा राम्रो हुदा हुदै पनि आर्थिक अभावले बन्द प्रशिक्षणमा राख्न नसकिएको तेक्वान्दो प्रशिक्षक मोहन राईले बताए । तेक्वान्दोमा महिला १२ र पुरुष १२ गरी २४ खेलाडी छनौट गरी प्रदेश र राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी गराउने तयारी गरिएको राईले सुनाएका छन् ।
जिल्ला खेलकुद विकास समिति खोटाङका अध्यक्ष मिलन कसजूका अनुसार कोशी प्रदेश खेलकुद विकास बोर्डले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बजेटै कम पठाएकाले समस्या भएको बताएका छन् । कसजूका अनुसार जिल्ला छनौट र व्यवस्थापनका लागि दुई लाख ७५ रूपैयाँ मात्र पठाएको छ । यसले नपुग्ने भएकाले सम्वन्धित खेलसम्बद्ध संघहरूको व्यवस्थानमा बन्द प्रशिक्षण सञ्चालन गरिएको कसजूको भनाइ छ । खोटाङमा कराते, कबडडी, भलिबल र क्रिकेटको बन्द प्रशिक्षण सञ्चालन गरिएको छ ।
गत वर्ष भने ८ लाख ४० हजार कोशी प्रदेश खेलकुद विकास बोर्डले पठाएको थियो । तर खेल स्थगित भएपछि उक्त बजेट फर्काइएको कसजूले सुनाए । खोटाङबाट कराते, तेक्वान्दो, पौडी, ब्याटमिन्टन, टेबलटेनिस, बक्सिङ, भारत्वलन, साइक्लिनिङ, आर्चरी, स्क्वास, क्रिकेट, भलिबल, फुटबल, एथ्लेटिक्स, कबड्डी र चेस गरी १६ खेलका लागि २०३ खेलाडी छानिएका छन् । यसबाहेक ३१ जना कोच र व्यवस्थापक पनि खेलाडीसंगै सहभागी हुने छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित