यातायात भाडादर पुनरावलोकन गर्न माग गर्दै खोटाङका यातायात व्यवसायीहरूले बुझाए ज्ञापनपत्र

  • प्रकाशित मितिः असोज 22, 2083
  • 42 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज २२–खोटाङका यातायात व्यवसायीहरूले जिल्लामा सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर पुनरावलोकन गर्न माग राख्दै प्रमुख जिल्ला अधिकारीमार्फत कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई ज्ञापनपत्र बुझाएका छन् । हाल निर्धारण गरिएको भाडादरबाट यातायात सञ्चालन गर्न कठिन भएको भन्दै नयाँ भाडादर निर्धारण गर्न प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङमार्फत असोज २२ गते ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्रमा पहाडी बाटोमा पक्की तथा ग्राभेल सडकमा बसको हकमा प्रतिव्यक्ति प्रतिकिलोमिटर ५ रूपैयाँ ७८ पैसा र सानो गाडी जिप तथा सुमोको हकमा प्रतिव्यक्ति प्रतिकिलोमिटर ७ रूपैयाँ ६२ पैसा कायम गरिए पनि खोटाङको हकमा पेट्रोलियम पदार्थको मुल्य बृद्धि, सवारी मजदुरको महंगी तलबभत्ता, मर्मतसम्भार तथा सवारीसाधनमा प्रयोग हुने पार्टपुर्जाको महंगीलगायतका कारण उक्त दरमा यातायात सञ्चालन गर्न नसक्ने अवस्था भएकाले उल्लेख गरिएको छ ।
त्यस्तै ग्रामीण तथा पक्की सडकहरू भत्किँदै गएको, यात्रुको चाप पर्याप्त नहुँदा सवारीसाधन खालीखाली सञ्चालन गर्नुपर्ने वाध्यता रहेकोले तोकिएको भाडादरमा व्यवसायीले सवारी सञ्चालन गर्न नसक्ने अवस्था आएकाले बसका लागि पक्की सडकमा प्रतिव्यक्ति प्रतिकिलोमिटर ९ रूपैयाँ ५० पैसा र कच्ची सडकमा १५ रूपैयाँ, सानो गाडी जिप तथा सुमोका लागि पक्की सडकमा प्रतिव्यक्ति प्रतिकिलोमिटर १५ रूपैयाँ र कच्ची सडकमा १७ रूपैयाँ भन्दा कम भाडा दरमा यातायात सञ्चालन गर्न नसकिने भन्दै पुनरावलोकन गर्न माग गरिएको छ । गत असोज १९ गते प्रमुख जिल्ला अधिकारी गुरुङको अध्यक्षतामा बसेको स्थानीय यातायात व्यवस्थापन समितिको बैठकले विभिन्न ठाउँको भाडा निर्धारण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित