अदालतको फैसलामाथि सार्वजनिक रूपमा टीकाटिप्पणी नगर्न नेपाल बार एशोसियसन खोटाङको आग्रह

  • प्रकाशित मितिः असोज 6, 2083
  • 92 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज ६–जिल्ला अदालत खोटाङबाट भएको फैसलालाई लिएर सार्वजनिक रूपमा अदालत तथा न्यायाधीशविरुद्ध टीकाटिप्पणी र आलोचना भएको भन्दै नेपाल बार एसोसिएसन इकाइ खोटाङले ध्यानाकर्षण भएको जनाएको छ ।
एशोसियसनले असोज ६ गते विज्ञप्ती जारी गरी असोज ५ गते खोटाङ जिल्ला अदालतबाट भएको फैसलालाई लिएर अदालत र न्यायाधीशविरुद्ध सार्वजनिक स्थानमा बसेर गरिएका अपमानजनक, असान्दर्भिक टीकाटिप्पणी तथा आलोचनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।
दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २६ वर्षीया रेस्मिका परियारको हत्यामा संलग्न आरोपमा पक्राउ परेका ३ जनालाई जिल्ला न्यायधिस फणिन्द्रप्रसाद पराजुलीको असोज ५ गतेको इजलासले सफाइ दिएपछि रेस्मिकाका परिवार तथा आफन्तले अदालत परिसरमै आक्रोश पोखेका थिए । यस विषयलाई लक्षित गरी विज्ञप्ती जारी गरिएको हो ।
वार एशोसियसनका अध्यक्ष कुलप्रसाद शर्मा फुयालद्वारा जारी विज्ञप्तिमा अदालतबाट हुने फैसला तथा न्यायिक आदेशमा चित्त नबुझेमा प्रचलित कानुनबमोजिम पुनरावेदन, पुनरावलोकन, निवेदन लगायतका न्यायिक उपचारका माध्यम अपनाउने अधिकार प्रत्येक पक्षलाई हुदा हुदै फैसलाप्रति असहमति रहेको भन्दै अदालत वा न्यायाधीशको इज्जत, मानप्रतिष्ठा, चरित्र वा निष्ठामाथि प्रश्न उठाउने, अपमानजनक वा लाञ्छनायुक्त अभिव्यक्ति दिने तथा सम्बन्धित विषयलाई अतिरञ्जित रूपमा प्रचार–प्रसार गर्ने कार्यले न्यायपालिकाको स्वतन्त्रता, निष्पक्षता र जनआस्थामा प्रतिकूल प्रभाव पार्न सक्ने भन्दै आगामी दिनमा त्यसो नगर्नु समेत आग्रह गरिएको छ । न्यायिक निर्णयप्रतिको असहमति व्यक्त गर्दा तथ्य र कानुनमा आधारित भएर मात्र धारणा राख्नुपर्ने भन्दै न्यायपालिकाको स्वतन्त्रता र निष्पक्षता संरक्षण गर्नु सबैको कर्तव्य भएको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित