विश्वप्रकाशले हानेको त्यो बाघे झापु

  • प्रकाशित मितिः साउन 31, 2083
  • 6 पटक पढिएको
  • संवादताता

तीर्थराज भट्टराई-
राजनीतिमा असहमति स्वाभाविक हो । फरक विचार, धारणा र नेतृत्वका विषयमा हुने प्रतिस्पर्धा लोकतन्त्रका सुन्दर पक्ष हुन् । तर असहमतिको नाममा अराजकता, असहिष्णुता, व्यक्तिगत लाञ्छना र तुच्छ भाषाको प्रयोग राजनीतिक संस्कार हुन सक्दैन । आज नेपाली काँग्रेसभित्र देखिएका कतिपय कटुता, आरोप–प्रत्यारोप र असहिष्णु अभिव्यक्तिलाई नजिकबाट नियाल्दा मलाई दुई दशकभन्दा अघिको एउटा घटना बारम्बार सम्झना आउँछ । नेपाल विद्यार्थी संघको विवाद उत्कर्षमा पुगेका बेला सयौँ विद्यार्थीको बीचमा डिल्लीबजारस्थित नेविसंघको केन्द्रीय कार्यालयमा विश्वप्रकाश शर्माले भूपेन्द्र राईलाई गालामा हानेको त्यो (बाघे झापु) झापड आज पनि झल्झली सम्झिरहन्छु ।

यो कुनै व्यक्तिको पक्ष वा विपक्षमा लेखिएको आलेख होइन । मेरो आफ्नै राजनीतिक यात्रामा धेरै साथीहरूको भीडमा प्रत्यक्ष देखेको एउटा समयको संस्मरण हो । त्यस घटनालाई आजको राजनीतिक व्यवहारसँग दाँजेर हेर्दा विगतमा पनि असहमति र विमति , नेतृत्वका लागि प्रतिस्पर्धा तथा पक्ष र विपक्षमा विचार बाझिन्थ्यो । त्यतिबेला संगठन भित्रको अराजकता र असंस्कारित व्यवहारलाई नेतृत्वले नियन्त्रण गर्ने प्रयास गर्थ्यो । सम्झाउँथ्यो, सचेत गराउँथ्यो र आवश्यक पर्दा कठोर भएर बमघे झापड पनि हान्थ्यो । अहिले आदरणीय पार्टी सभापति गगन थापा माथि खुलेआम अमर्यादित भाषा प्रयोग हुँदा नेतृत्वले सम्झाउने र सच्याउनेभन्दा नेतृत्वले मुसुमुसु हाँस्दै मौन समर्थन वा प्रोत्साहन गर्ने प्रवृत्ति मौलाउनु आम काँग्रेसजनका लागि चिन्ताको विषय हो ।

नेविसंघमा २०५६ सालको उथलपुथल :

२०५३ सालमा गठन भएको गोविन्द भट्टराई नेतृत्वको पुरानो समितिले समयमै अधिवेशन गर्न नसकेको भन्दै २०५६ साल पुस २१ गते भंग गरी गोविन्द भट्टराईकै नेतृत्वमा २७ सदस्यीय नयाँ केन्द्रीय समिति गठन गरिएको थियो । त्यस समितिमा विश्वप्रकाश शर्मा, किशोरसिंह राठौर, डा। यादव पण्डित, किरण पौडेल, प्रदीप पौडेल, गुरुराज घिमिरे, बद्री पाण्डे, विनोद वान्तवा, प्रेमध्वज लामा, जीवन डंगोल, इन्दिरा तिवारी, रामकृष्ण चित्रकार, हरिप्रिया पाण्डे, कल्याण गुरुङलगायत म पनि केन्द्रीय सदस्य भएको थिएँ ।

त्यो समय नेविसंघभित्र नेतृत्व हस्तान्तरण र उत्तराधिकारीको प्रश्न निकै पेचिलो थियो । देशभरका विद्यार्थी नेता विश्वप्रकाश शर्माको पक्षमा लामवद्ध थिए । किशोरसिंह राठौरको पनि राम्रै प्रभाव थियो । गोविन्द भट्टराईले भने शालीन, अध्ययनशील विद्यार्थी नेता डा। यादव पण्डितलाई अगाडि सार्न खोज्नुभएको थियो ।

म विदेश विभागबाट मनोनित केन्द्रीय सदस्य थिएँ । मेरो मनोनयनमा तत्कालीन पार्टी महामन्त्री सुशील कोइराला र केन्द्रीय सदस्य अर्जुननरसिंह केसीको महत्वपूर्ण भूमिका थियो । भारतको चण्डिगढ, हरियाणा , दिल्ली , मध्य प्रदेश , कर्नाटक , महाराष्ट्र लगायतमा संगठन निर्माण तथा नेपाली जनसम्पर्क समितिका कार्यक्रममा उहाँहरूसँग लामो समय सँगसँगै हिँडेको स्मरण आज पनि ताजै छ । सुशील दा र अर्जुन दाजुसँगको सम्बन्ध राजनीतिक मात्र नभई पारिवारिक आत्मीयतासम्म पुगेको थियो । नेजसका अध्यक्ष तथा नेपाली काँग्रेसका वर्तमान केन्द्रीय सदस्य बालकृष्ण पाण्डे हाम्रो साक्षीको रूपमा अहिले पनि हुनुहुन्छ नै ।

हस्ताक्षरको त्यो धर्मसंकट :

केन्द्रीय समिति बनेपछि हाम्रो मूख्य जिम्मेवारी अधिवेशन गराउनु थियो । तर नेतृत्वको विवाद झन् चर्कियो । विश्वप्रकाशलाई नेताहरूले नयाँ अध्यक्ष बनाउन रोक्न खोजिएको भन्दै देशभर भेला, अन्तरक्रिया र पार्टी नेतृत्वलाई सचेत गराउने अभियान चलिरहेको थियो । अन्ततः केन्द्रीय समितिका सदस्यहरू बाटै दबाब मूलक हस्ताक्षर अभियान सुरु भयो ।

२७ सदस्यीय केन्द्रीय समितिमा गोविन्द भट्टराईको पक्षमा १२ र विश्वप्रकाश शर्माको पक्षमा ११ जना केन्द्रीय सदस्यले हस्ताक्षर गरेका थिए । प्रदीप पौडेल र मैले दुवै पक्षमा हस्ताक्षर गरेका थिएनौं ।

मेरो गोविन्द दाइसँग आत्मीयता थियो भने विश्वप्रकाशसँग पनि पारिवारिक र राजनीतिक सम्बन्ध थियो । म गोरखपुर बस्थे त्यसैले काठमाडौं मेरो लागि भूगोल र राजनीतिक दाउपेमा नयाँ थियो । विद्यार्थी राजनीतिमा सक्रिय हुँदै गर्दा विभिन्न कोणबाट आउने आग्रह र दबाबलाई सन्तुलन गर्नुपर्ने अवस्था थियो । प्रदीप पौडेल प्रभावशाली विद्यार्थी नेता हुनुहुन्थ्यो । गोविन्द भट्टराईको जिल्लावासी भएको कारण प्रदीप पनि विभिन्न कोणबाट दबाबमा हुनुहुन्थ्यो । मलाई पनि नेताहरूबाट प्रत्यक्ष दबाब थियो । पार्टीका नेता गोविन्द भट्टराईको पक्षमा देशभरिका विद्यार्थी विश्वप्रकाशको पक्षमा देखिन्थे ।

एउटै डेरामा बस्ने श्याम पोखरेल मामा र स्वर्गीय गुणराज पोखरेलले झापाली भएको नाताले विश्वप्रकाशलाई समर्थन गर्न आग्रह गर्नुहुन्थ्यो । मेरो मन, मुटु र मस्तिष्कले पनि योगदान, लोकप्रियता, क्षमता र नेतृत्वको सम्भावनाका आधारमा विश्वप्रकाशकै पक्षमा हस्ताक्षर गर्न प्रेरित गरिरहेको थियो ।

विश्वप्रकाशको एउटा कुरा मलाई त्यतिबेला विशेष मन पर्थ्यो । उहाँ आफ्ना समर्थकलाई अराजक र असहिष्णु नबन्न आग्रह गर्नुहुन्थ्यो । उहाँको विनम्र भएर बोल्ने र बुलन्द भएर समर्थन गर्ने तर विरोधीलाई गाली गर्दै नगर्ने आचरण थियो ।

अन्ततः प्रदीप पौडेल र मैले विश्वप्रकाश शर्माको पक्षमा हस्ताक्षर गर्ने निघो गर्‍यौं । बहुमत केन्द्रीय सदस्यले अध्यक्ष गोविन्द भट्टराईको विरूद्ध हस्ताक्षर भएपछि नेतृत्वमाथि अल्पमत भएको नैतिक प्रश्न उठ्यो । राजीनामा माग्ने र केन्द्रीय कार्यालय घेराउ गर्ने क्रम दिनिदनै बढ्दै गयो ।

आँखाले देखेको ‘बाघे झापु’ :

२०५७ साल जेठ १३ गते नेविसंघ केन्द्रीय कार्यालयमा शक्ति प्रदर्शन गर्ने कार्यक्रम थियो । उपत्यका तथा देशभरिका क्याम्पसबाट विद्यार्थी नेता र जिल्ला अध्यक्ष आएका थिए । डिल्लीबजारस्थित केन्द्रीय कार्यालयमा खुट्टा राख्ने ठाउँ थिएन । संघको हलमा गोविन्द भट्टराईसँग भेटघाटको समय मिलाइएको रहेछ ।

त्यही भीडमा आरआर क्याम्पसका तत्कालीन नेविसंघ इकाइ अध्यक्ष भूपेन्द्र राईले गोविन्द भट्टराईप्रति असहिष्णु र अराजक व्यवहार देखाए । त्यसपछि विश्वप्रकाश शर्माले भूपेन्द्र राईको गालामा थप्पड हान्नुभयो । त्यो दृश्य आज पनि मेरो आँखाअगाडि घुमिरहेको छ ।

त्यो समयमा पाँचथरका स्वर्गीय टंक नेम्वाङले पनि विश्वप्रकाशको गाली खानुपरेको मेरो सम्झनामा छ । अवस्था थप बिग्रन नदिन राष्ट्रिय खेलाडी शेरोम कार्कीले भूपेन्द्र राईलाई कठालोमा समातेर बाहिर निकाल्नुभएको थियो । विद्यार्थी नेता मनोजमणि आचार्य र दीपक अधिकारीलगायतका युवाहरू त्यहाँ नहुनुभएको भए स्थिति अझ अप्रिय बन्न सक्थ्यो ।

मैले त्यो घटनालाई संगठनभित्र बढ्दै गएको अराजकता, असहिष्णुता र नेतृत्वको मर्यादामाथिको चुनौतीको प्रतिक्रियाका रूपमा पनि महसुस गरेको थिएँ । आज सत्ताइस वर्षपछि सम्झँदा विश्वप्रकाशले हान्नु भएको झापुको समर्थनमा होइन त्यस घटनाले दिएको राजनीतिक सन्देश सम्झाउन लेखिरहेको हुँ ।

विगतका पात्र र आजको व्यवहार :

आज नेपाली काँग्रेसको नेतृत्वमा रहेका धेरै साथीहरू त्यही पुस्ताबाट आएका छन् । त्यसैले विगत सम्झँदा समय, परिस्थिति र प्रविधि बदलियो तर हाम्रो राजनीतिक संस्कार अझै पनि बद्लिएको रहेनछ भन्ने निष्कर्ष निकालेको छु ।

भूपेन्द्र राईले इतरपक्षको राष्ट्रिय भेलामा दिएको अभिव्यक्तिका विषयमा विभिन्न टिप्पणी र आरोपहरू सार्वजनिक भएका छन् । केही दिनअघि इतरपक्षको राष्ट्रिय भेलामा आदरणीय पार्टी सभापति गगन थापामाथि गिरिजाबाबुको नाम जोडेर गरिएको तुच्छ र संकिर्ण अभिव्यक्ति सुन्दा मलाई फेरि पुरानो समय सम्झना भयो । असहमतिको सीमा नाघेर गरिने यस्ता अभिव्यक्तिले राजनीतिक बहसलाई अस्वस्थ बनाउँदछ ।

नेतृत्वको आलोचना गर्न पाइन्छ । विदेशीबाट परिचालित भएको वा अन्य गम्भीर आरोप लगाउने हो भने त्यसको प्रमाण पनि सार्वजनिक गर्नुपर्छ । आरोप लगाउन सजिलो हुन्छ तर आरोप प्रमाणित गर्न कठिन हुन्छ ।

२०७० सालमा पार्टीको आन्तरिक क्षेत्रीय अधिवेशनको विषयमा निष्ठा, सदाचार र नैतिकताको राजनीति गर्ने नेपाली काँग्रेस खोटाङका सभापति विष्णुकुमार राई र विजय गुरुङ, सुमन गुरुङलगायत साथीहरूमाथि लगाइएका ज्यानमार्ने धम्की सम्बन्धि आरोप र त्यसपछि उत्पन्न कानुनी प्रक्रियाको प्रसंग पनि मेरो स्मरणमा छ । राजनीतिक मतभेद वा संगठनभित्रको विवादलाई व्यक्तिगत प्रतिशोधमा रूपान्तरण गर्दा त्यसले व्यक्ति मात्र होइन संगठनको संस्कारलाई पनि कमजोर बनाउँछ भन्ने हेक्का हुनुपर्छ ।

२०५८ साल असारमा रातोपुलस्थित नेपाली काँग्रेसका नेता राजन दाहालको घरमा महेन्द्र कटुवाल, खेमबहादुर खड्का, योगेन्द्र राईलगायत साथीहरूको उपस्थितिमा पूर्व मन्त्री शिवकुमार बस्नेतले भूपेन्द्र राईलाई आफ्नो व्यवहार सुधार्न सुझाव दिनुभएको प्रसंग पनि मेरो स्मरणमा छ । यी प्रसंग कसैको चरित्र हत्या गर्न होइनन् । विगतबाट नै त्यही चरित्र र प्रवृत्तिका मानिसलाई अनावश्यक प्रश्रय दिनु नै आजको अवस्था सिर्जना भएको हो ।

एउटै गाडीमा यात्रा र सहयात्रा :

राजनीतिमा बाटो र गन्तव्य एउटै नहुन सक्छ । आज एउटै पार्टीभित्र फरक धारमा रहेका हामीमध्ये धेरैले हिजो एउटै संगठनमा बसेर संघर्ष गरेका थियौं । भोलि फेरि एउटै मञ्चमा उभिनुपर्नेछ । केही दिन ढिलोचाँडो होला अन्ततः हामीले एउटै गाडीमा यात्रा गर्नु नै पर्नेछ ।

त्यसैले आजै किन एकअर्कालाई तुच्छ शब्दले घोच्ने रु किन कपोलकल्पित आरोप लगाउने ? किन सामाजिक सञ्जालमा क्षणिक तालीका लागि आफ्नो राजनीतिक संस्कारलाई धुमिल बनाउने ?

गगनजी स्वास्थ्य मन्त्री हुँदा भूपेन्द्र राईले आफू कोशी प्रदेश हेर्ने मन्त्रीको ‘मुखिया’ हुँ भन्दै दिक्तेलमा दाबी गर्दै हिँडेको एउटा प्रसंग पनि मलाई सम्झना आउँछ । युवा नेताहरू प्रकाश श्रेष्ठ, ज्ञानेन्द्र जोशी, दिनेश घिमिरे, भोजकुमार बस्नेत, अञ्जना बस्नेत र कान्ता केसीलगायत साथीहरूले त्यसबेला उनले लगाएको फुँईं सुनेर खित्का छोडेर हाँसेको घटना मेरो स्मरणमा छ । त्यस्तो कलुषित मननिसलाई भूमिका दिंदा नेतृत्वलाई हेक्का थियो कि थिएन ?

राजनीतिक जीवनमा नेतृत्वको नाम भँजाएर प्रभाव देखाउनेहरू हुन्छन् । नेताहरूले पनि सबैलाई समयमा नै न चिन्न र मूल्यांकन गर्न नसक्दाको अवस्था हो यो । त्यसैले यस्ता चरित्र र प्रवृत्तिबाट अन्ततः नेतृत्वले नै अपमानित हुनु परेको दृष्टान्त हाम्रो सामु ज्वलन्त छ ।

झापड होइन अब संस्कार चाहिन्छ :

आज म यो आलेख विश्वप्रकाश शर्माले हानेको त्यो झापडको समर्थन गर्न लेखिरहेको छैन । त्यस घटनाबाट दिएको राजनीतिक सन्देश सम्झाउन लेखिरहेको छु । भूपेन्द्र राई लगायत काँग्रेसका साथीहरूलाई मेरो आग्रह छ( अग्रज र नेतृत्वका बारेमा सार्वजनिक रूपमा बोल्दा एकपटक आत्ममूल्यांकन गरौं । अर्काका कमजोरीलाई हतियार बनाएर राजनीति नगरौं । प्रमाण नभएका आरोप लगाई व्यक्तिगत चरित्र हत्या गर्ने भाषा प्रयोग नगरौं । आज बोलेको शब्द भोलि आमनेसामने हुँदा आफैंलाई लाज लाग्ने अवस्था नआओस् ।

राजनीति कसैलाई होच्याएर ठूलो हुने साधन होइन । आफूलाई राम्रो बनाएर समाजलाई संस्कारी बनाउने अभियान हो । फरक मत राखौं तर सम्मानका साथ । नेतृत्वको आलोचना गरौं तर तथ्यका आधारमा । प्रश्न गरौं तर प्रमाणसहित । गल्ती भयो भने स्वीकार गरौं । आवश्यक परे एक कदम पछि हटौं । किनकि एक कदम पछि हट्नु पराजय नभई लामो राजनीतिक यात्राका लागि बाटो खोल्नु पनि हो ।

आज गिरिजाबाबुको होस् वा बीपीको नाम लिएर एकअर्कालाई समाप्त पार्ने राजनीति नेपाली काँग्रेसको संस्कार होइन । बीपीले प्रतिपादन गर्नुभएको राष्ट्रिय मेलमिलापको भावना आज झन् आवश्यक छ । विचारमा मतभेद हुन सक्छ तर मनमा वैमनस्य हुनु हुँदैन । प्रतिस्पर्धा हुन सक्छ तर शत्रुता हुनु हुँदैन । हामीले अब झापु खाएर राजनीति गर्ने होइन संस्कार सम्झेर राजनीति गर्नुपर्छ ।
विगतका नकारात्मक प्रसंगबाट पाठ सिकेर भविष्यका लागि सकारात्मक र सिर्जनात्मक राजनीति निर्माण गरौं । हुने कुरा बोलौं तर कपोलकल्पित कुरा बोल्न आजैबाट बन्द गरौं । असहमति राखौं तर असहिष्णुता होइन । प्रतिस्पर्धा गरौं तर शत्रुता होइन ।

अन्ततः नेपाली काँग्रेसलाई बलियो बनाउने कुरा कुनै एक व्यक्ति, गुट वा पुस्ताबाट सम्भव हुँदैन । विचार, संगठन, एकता, अनुशासन र लोकतान्त्रिक संस्कारको विजय हो । हामीले अब हिजोको ू बाघे झापु ू खाने अराजक चरित्रलाई इतिहासमा विलय गरेर संस्कार, संवाद, मेलमिलाप र एकताको बाटो रोज्नुपर्छ । यही आजको आवश्यकता हो । यही सम्भव छ । यही हो भोलिको पुस्ताप्रतिको हाम्रो जिम्मेवारी र जवाफदेहीता ।

(भट्टराई नेपाली काँग्रेस खोटाङका उपसभापति हुन् ।)

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित