तीर्थराज भट्टराई-
किसानका लागि नेपाल सरकारले वर्षभरिको आशा, श्रम र उत्पादन बढाउन असार १५ गतेलाई दिवसको रूपमा देशभरी मनाउने गरेको छ । यो दिनलाई हाम्रो देशमा राष्ट्रिय धान दिवस तथा दही-चिउरा खाने दिनका रूपमा लिइन्छ । किसानले हिलोमा पाथी छरेर मुरी बनाउन खेतमा धान र बारी कोदो, मकै, तोरी लगायत खाद्यन्न लगाउॅछन् । वर्षभरि परिवारको लालनपालन र घर व्यवहार चलाउन अन्न भित्र्याउने सपना देख्छन् । त्यसैले असार १५ गतेलाई श्रम, सम्मान र उत्पादनको उत्सवको रूपमा मनाईन्छ ।
नेपालमा राष्ट्रिय धान दिवस वि.सं. २०६१ सालदेखि औपचारिक रूपमा मनाउन थालिएको हो । धानको उत्पादन वृद्धि , कृषि क्षेत्रप्रति समाजको ध्यानाकर्षण तथा परनिर्भरता हटाउने उद्देश्यले सुरु गरिएको यो दिवस आज २२औं वर्षसम्म आइपुग्दा यो दिवसको सान्दर्भिक अझ बढ्न गएको छ । जलवायु परिवर्तन, खेतीयोग्य जमिनको संकुचन, कृषि पेशाप्रति युवाको घट्दो आकर्षण र बढ्दो खाद्यान्न आयातले यस दिवसलाई उत्सव मानाउॅदै आत्मसमीक्षा समेत गर्नुपर्ने टड्कारो आवश्यकता महशुस भएको छ ।
दही-चिउराको सांस्कृतिक महत्त्व :
असार १५ को अर्को विशेषता दही-चिउरा खाने परम्परागत संस्कृति हो । रोपाइँको समयमा श्रमपछि किसानले दही, चिउरा र मौसमी फलफूल खाएर थकान मेटाउने चलन परापूर्वकालदेखि चलिआएको छ । दहीलाई शीतलता, शुभ साइत र समृद्धिको प्रतीक मानिन्छ । त्यसैगरी चिउरा पौष्टिक र सहजता पूर्वक तयार गरिने श्रमिकको उपयुक्त भोजनको रूपमा लिइन्छ । त्यसैले दही- चिउरा खाने नेपाली परम्परागत संस्कृतिले किसानको श्रमप्रतिको सम्मानलाई अभिव्यक्त गर्दछ ।
धान दिवस- उत्सव कि खोक्रो प्रदर्शन ?
पछिल्ला वर्षहरूमा धान दिवस मनाउने शैलीमाथि धेरै तिरबाट प्रश्न उठ्न थालेका छन् । कतिपय मन्त्री, मुख्यमन्त्री, जनप्रतिनिधि र स्थानीय तहका प्रमुखहरू फोटो खिच्नकै लागि खेतमा पुग्ने, केही समय हिलो खेल्ने, गमलामा धान रोपेर औपचारिकता पूरा गर्ने वा सामाजिक सञ्जालका लागि दृश्य सिर्जना गर्ने प्रवृत्तिले यस दिवसको गरिमा घटेको छ । आगामी दिनमा किसानको मनोवल बढाउने उत्सवको रूपमा यो दिवसलाई मनाउन सकियो भने अझ प्रभावकारी बन्न सक्छ ।
किसानका लागि असार १५ मनोरञ्जनको दिन होइन । यो वर्षभरिको जीविकोपार्जनको आधार तयार गर्ने दिन हो । त्यसैले यो दिवसलाई केवल हिलो खेल्ने कार्यक्रम वा रंगीन तस्बिरको माध्यम बनाइनु हुँदैन । किसानका समस्या सुन्ने, उनीहरूको मनोबल र कृषि उत्पादन बढाउन योजना बनाउने उत्सवको रूपमा विकास गर्न आवश्यकता खड्किएको छ । यो दिवस मनाउॅदै गर्दा राज्यले कृषि पेशा र किसानको हितमा प्रतिबद्धता व्यक्त गर्ने अवसरका रूपमा मनाइनुपर्छ । किसानसँग सॅगै बसेर दही-चिउरा खाने र उनीहरूको पीडा तथा सम्भावना बुझ्नु नै यसको वास्तविक मर्म हुनुपर्छ । तर हामीले कोट, पेन्ट र टाई लगाएर रोपाई गऱ्यौं र यो दिवसको मर्म र भावना माथि प्रहार गर्ने काम गरेका छौं ।
यो वर्ष सोल्माको खेतमा असार १५ :
यो वर्ष राष्ट्रिय धान दिवस तथा दही- चिउरा खाने काम वडी नं. -२ सोल्मामा गऱ्यौं । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कृषि शाखा र कृषि ज्ञान केन्द्रको संयुक्त आयोजनामा सोल्मास्थित कृषक काजी गुरुङको खेतमा आयोजित कार्यक्रममा सहभागी हुने अवसर जुट्यो ।
कार्यक्रमको सञ्चालन नगर कृषि शाखाका प्रमुख तेजप्रकाश जैसीले गर्नुभएको थियो भने सभापतित्व कृषि ज्ञान केन्द्रका प्रमुख विशाल मोदीले गर्नुभएको थियो । कार्यक्रममा नगर उपप्रमुख विसन राई, प्रमुख जिल्ला अधिकारी रेखा कण्डेल, प्रमुख प्रशासकीय अधिकृत तीर्थप्रकाश पौडेल, समन्वय अधिकारी अनुनय बास्तोला, आर्थिक प्रशाशन शाखा प्रमुख राजकुमार राई , तथ्यॅाक कार्यालयका प्रमुख विक्रम मल्ल , नगरका सल्लाहकार सूर्यबहादुर राई , कर्मचारी, कृषक, पंच माविका शिक्षक तथा विद्यार्थी एवम् स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता थियो ।
हामी सबैले किसानसँगै खेतमा धान रोप्यौँ । गोरुको सट्टा आधुनिक प्रविधि हाते हलोबाट खेत जोत्यौं । मैले कुशलता पूर्वक चलाएंभने प्रमुख जिल्ला अधिकारीले चलाउनुभएको हलो भने भित्तामा ठोक्किए पनि कुनै अप्रिय घटना भएन । केही समय हिलोमा बिताउँदा किसानको श्रमलाई नजिकबाट अनुभूति गर्ने अवसर प्राप्त भयो । खेत मलिलो भन्दा डॅाडो प्यॅागखर रहेछ । सूर्यबहादुर राईले साउण्ड सिस्टमलाई साथ दिंदै “ छुपुमा छुपु धानैमा रोप्दा ………. लयमा सुरिलो भाकामा गीत गाउनुभयो । पंच माविका शिक्षक दीपक दहालको नेतृत्वमा आएको शिक्षक तथा विद्यार्थी साथीहरूले मादल बजाउॅदै असारे गीत गाए । हिलोमा डोरी तानातान गर्दै असार १५ को धान दिवस मनाइयो ।
सिडीयोसावको नेतृत्वमा धान रोपाई चल्दै गर्दा नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक प्रकाश बुढाथोकीले कोदालीले वाउसे गर्दै हुनुहुन्थ्यो । उपप्रमुख विसन राई र प्रमुख प्रशासकीय अधिकृत तीर्थप्रकाश पौडेलले कुम जोडेर रोपाई गरिरहनु भएको दृष्य वरिष्ठ पत्रकार डम्बर हम्रुंगले ध्यान पूर्वक क्यामरामा कैद गरिरहनु भएको थियो । राष्ट्रसेवक कर्मचारी, शिक्षक, विद्यार्थी, सुरक्षाकर्मी र कृषकलाई शान्ता भट्टराई लगाषत साथीहरूले दही- चिउरा, आंप र केरा थपिथपि खुवाउनु भएको थियो ।
यो पटकको धान रोपाई अविष्मरणीय :
कतिपयले यस्ता कार्यक्रमलाई सरकारी औपचारिकता वा बजेट खर्च गर्ने माध्यमका रूपमा आलोचना पनि गर्छन् । ती आलोचनामा केही सत्यता सत्यता पनि छ । तर किसानको मनोबल बढाउने, कृषि क्षेत्रलाई प्राथमिकतामा राख्ने र समाजको ध्यानाकर्षण गराउने सरकारी दायित्व पुरा गर्नलाई नै नेपाल सरकारले बजेट व्यवस्था गरेको हुन्छ । यस्ता कार्यक्रमकै माध्यमबाट कृषकका समस्या र पीडा बुझ्ने अवसर पनि हुन्ऱ्छ । त्यसैले यस्ता कार्यक्रम औपचारिकतामा सीमित नभई परिणाममुखी बनाउन आवश्यक छ । वास्तविक कृषकको आलोचना र सरकारी काम गर्ने ढर्रामा तालमेल गरेर व्यवस्थित र परिणाममिखी गतिविधी गर्न जरूरीछ ।
मेरो बाल्यकालको सम्झना :
आज सोल्मामा धान रोप्दै गर्दा मलाई मेरा बाल्यकालका अनेक सम्झनाहरू मानसपटलमा झल्झल्ति आए । दोर्पाको बाह्रमुरे र छमुरेका फाँटिला खेत, तिल्के र माले गोरुले हिल्याएको खेत , कोदालोले आँठा लगाएको दृश्य, बाउसेले फ्याउरी र दाँधेमा चढ्दा हिलोमा लडेको रमाइलो सानो उमेरको अनुभव मैले सम्झिएँ ।
कोदोको रोटी र गुन्द्रुकको अचार खाएर खेतमा दिनभरि पसिना बगाउने त्यो समय वास्तवमै जीवनको पाठशाला थियो । अहिले समय फेरिएको छ । खेतालाहरू रोटी , गुन्द्रुक र दही खॅादैनन् । खेतालालाई ड्यू र चाउचाउ खुवाउनु पर्छ । चटपटे र पानी पुरीको व्यवस्था नगरे मेलामा मानिस जान मान्दैनन् । आधुनिकताका नाममा हामीले हाम्रो संस्कृति र मान्यता हराई सक्यौं । त्यो खेती नै परिवारको आधार थियो । खेतमा पसिना बगेपछि मात्र घरको चुल्हो बल्थ्यो । तर अहिले खेतमा गएर रमाइलो गर्ने , टिकटक र फोटो खिचेर मनोरंजन गर्ने प्रचलन बढेको छ ।
यस्तै सोख र रमाईलोपनले खेत बाँझिँदै गएका छन् । गोरुको ठाउँ मिनी टिलर र हाते ट्र्याक्टरले टाउॅ लिएको छ । गाई गोरूको मल र प्राकृतिक मलको ठाउॅमा डिएपी र युरियाले कब्जा जमाएको अवस्था छ । रोजगारी र बैज्ञानिक खेति प्रणाली नहॅुदा युवाहरू रोजगारीको खोजीमा विदेशिएका छन् । खेतीको महत्त्व घट्दै गएको छ र मेहनत गर्ने संस्कार पनि विस्तारै हराउँदै गएको अनुभूति हुन थालेकोछ ।
आत्मनिर्भरताबाट परनिर्भरता उन्मुख :
खोटाङ विगतमा पनि चामलमा पूर्ण आत्मनिर्भर जिल्ला थिएन । राष्ट्रिय पञ्चायतकालमा चामलको कुपन बाँडेर चुनाव जित्ने प्रतिस्पर्धा चल्थ्यो । सडक नपुग्दासम्म अवस्था त्यस्तै थियो ।
तर सडक विस्तारसँगै गाउँ-गाउँमा मधेशबाट ट्रकका ट्रक चामल पुग्न थाले । आज गाउँका भान्सामा तिनै बोराका चामलले कब्जा जमाएका छन् । उब्जाउ हुने खेत बाँझै छन् । जनशक्तिको अभाव, बाँदरलगायत वन्यजन्तुको बढ्दो समस्या र कृषि पेशाप्रतिको घट्दो आकर्षणले खेती गर्ने संस्कार कमजोर बन्दै गएको छ । कुनै जमानामा रावा र सावा खोलाको चामल चर्चित थियो । वतासे र ओख्रोको चामलले हाटडॅाडामा सबैलाई खिच्एथ्यो । तर अहिले तिनै ठाउॅमा आयतित चामलको बोराबाट भात पकाईन्छ । यो देशको लागि दुर्भाग्य हो ।
यो केवल खोटाङको कथा होइन समग्र नेपालको यथार्थ हो । तराईका उब्जाउ खेत प्लटिङ भएर घडेरीमा परिणत भइरहेका छन् । उत्पादन घट्दै जाँदा आयातमा निर्भरता बढेको छ । खाद्य सुरक्षाको दृष्टिले यो चिन्ताजनक अवस्था हो । त्यसैले सरकारले दीर्घकालिन नीति बनाएर आत्मनिर्भर बनाउने कृषि नीति बनाउनु पर्छ । कार्यकर्तालाई वितरण गर्ने अनुदान होइन वास्तविक कृषकलाई आत्मनिर्भर बनाउने व्यवहारिक कृषि योजनाको आवश्यकता छ ।
निष्कर्ष :
असार १५ हिलो खेल्ने दिन हो तर त्यो हिलो किसानको पसिना, संघर्ष र भविष्यको आशाले पवित्र बनेको हिलो हुनुपर्छ । त्यसैले यसलाई केवल मनोरञ्जनको पर्वमा सीमित गर्नु यसको मर्ममाथिको अन्याय हुनेछ।
धान दिवसमा किसानसँग फोटो खिच्नु नराम्रो होइन तर त्यसपछि किसानका समस्या समाधान गर्ने इमानदार प्रयास हुनुपर्छ । केही समय खेतमा रोपाइँ गर्नु मात्र पर्याप्त हुँदैन वर्षभरि किसानका पक्षमा प्रभावकारी नीति, कार्यक्रम र बजेट कार्यान्वयन गर्नु अझ महत्वपूर्ण हुन्छ ।
हामी किसानको सम्मान गर्न खेतमा गएका हौँ कि आफ्नो प्रचारका लागि ? यो प्रश्न बारम्बार पत्रपत्रिका र सामाजिक संजालमा उठिरहन्छ । यसको विश्वसनीय उत्तर व्यवहारबाट दिनु स्थानीय तहदेखि संघीय सरकारसम्म सबैको दायित्व हो ।
असार १५ लाई केवल हिलो खेल्ने र दही-चिउरा खाने दिनका रूपमा होइन कृषक सम्मान, कृषि उत्पादन वृद्धि र खाद्य आत्मनिर्भरताको राष्ट्रिय संकल्प गर्ने दिवसका रूपमा यो पर्वलाई परिणत गरौं ।
राष्ट्रिय धान दिवस तथा दही-चिउरा खाने सॅस्कृतिको सबैमा हार्दिक शुभकामना ।
(स्तम्भकार दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख हुन् ।)
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार १४–पहरा �... ... ...
नमस्ते खोटाङ संवाददाता– खोटाङ, असार १४–दिक्ते... ... ...
सविना अछामे–खोटाङ, असार १२–जिल्ला खेलकुद विका�... ... ...
सविना अछामे–खोटाङ, असार १२–जिल्ला खेलकुद विका�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार १०–साकेला �... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित