घर्तीभीर फोरेर सडक निर्माण, तराई जोड्ने छोटो दूरीको सडक सञ्चालनमा (भिडिओ सहित)

  • प्रकाशित मितिः असार 14, 2083
  • 84 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असार १४–पहरा  छिचोलेर आहाले–रेग्मीटार सडक निर्माण गरिएको छ । उक्त सडक खण्ड अन्तरगत हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा पर्ने घर्तीभीर छिचोलेर रेग्मीटारसम्मको १४ किलोमिटर सडक निर्माण गरिएको हो ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले गौरवको आयोजनामा राखेर कोशी प्रदेशसंगको सहकार्यमा २०७९ सालबाटै वर्षेनी काम गर्दे आएको थियो । तर घर्तीभीर छिचोल्न नसकेपछि कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटबाट काम सम्पन्न भएको हो । नगरपालिका र प्रदेश सरकारको सहकार्यमा करिब २ करोड बढी खर्च भइसकेको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले बताए । करिब दुई सय मिटरको घर्तीभिर छिचोल्नका लागि चालु आर्थिक वर्ष कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले दुई करोड बजेट विनियोजन गरेको थियो ।
यसमध्ये एक करोड ७ लाख ७८ हजारको लागतमा जेठ ३१ गतेसम्म सम्पन्न गर्ने गरी कमला कन्स्ट्रक्सन एण्ड सप्लायर्स उदयपुरले पूर्वाधार विकास कार्यालय खोटाङसंग २०८२ माघ ११ गते संझौता गरेको थियो । उक्त बजेटबाट भिर फोरेर सडक बनाउने, भिर खसाउदा भत्किएका सिचाइ कुलो बनाउने, कज्वे ढलान गर्ने, ग्याबियन जाली लगाउने लगायतका काम गरिएको पूर्वाधार विकास कार्यालय खोटाङका प्रमुख विनम दाहालले सुनाएका छन् ।
यो सडक निर्माण भएपछि तराई जान गाईघाट–दिक्तेल सडक अन्तरगत माहुरे–बुइपा–राजापानी हुदै रेग्मीटार पुग्न घुम्नु पर्ने वाध्यता हटेको र छोटो दूरीको सडक भएकाले छ । दिक्तेलबाट सिधै रेग्मीटारसम्म सडक जोडिएपछि करिब १५ किलो मिटर दूरी छोटिएको दाहालले सुनाए ।
आहाले–रेग्मीटार सडक सडक निर्माण भएपछि कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले असार १३ गते उद्घाटन गरेका छन् । जोखिम मोल्दै पहरा फोरेर सडक निर्माण गर्ने एक्साभेटरका अपरेटरहरू सिन्धुलीका प्रकाश लामा र हेटौंडाका प्रकाश पाख्रिनलाई जनही नगद १० हजार रूपैया“ सहित सम्मान समेत गरिएको छ ।
उक्त कार्यक्रममा हलेसी तुवाचुङ नगरपालिकाका उपप्रमुख रमेश राउत, उक्त कार्यक्रममा बाराहापोखरी गाउ“पालिकाका अध्यक्ष शालिकराम बन्जरा, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका वडाअध्यक्ष खगेन्द्र राई, हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीका अनिष कार्की लगायतको उपस्थिति थियो । उक्त गाईघाट–दिक्तेल सडक अन्तरगत पर्ने फोक्सिङटारको पुल अघिल्लो वर्षको बाढीले बगाएपछि बर्खामा सास्ती खेप्नु परेको छ । त्यस्तै दिखुवा खोलामा निर्माणाधीन पुल पनि अलपत्र परेपछि सास्ती खेप्नुपर्ने वाध्यता छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित