दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विसन राईद्वारा प्रस्तुत बजेट तथा कार्यक्रम विस्तृतमा (भिडिओ सहित) । (२०८३ असार ९)
प्रकाशित मितिः असार 9, 2083
83 पटक पढिएको
संवादताता
यस गरीमामय नगरसभाका आदरणीय सभाध्यक्ष महोदय,
सभाका आदरणीय सदस्यज्यूहरु,
राष्ट्रसेवक कर्मचारीहरु, सञ्चारकर्मी एवं समस्त नगरवासी महानुभावहरु,
आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्न यस गरिमामय नगर सभामा उपस्थित भएको छु।
सर्वप्रथम राष्ट्रिय एकता, भौगोलिक अखण्डता र सार्वभौमिकतालाई अक्षुण्ण राख्दै लोकतान्त्रिक शासन प्रणालीको स्थापना तथा जातीय, वर्गीय, लैङ्गिक र सबै प्रकारका विभेदको अन्त्य गर्ने महान् उद्देश्यका लागि राष्ट्र निर्माणको संघर्षपूर्ण कालखण्डमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात–अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु।
त्यसैगरी, दशवर्षे सशस्त्र जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, मधेश आन्दोलन, जेन्जी आन्दोलन तथा अधिकार प्राप्तिसँग सम्बन्धित विभिन्न जनआन्दोलनहरूमा घाइते तथा अपाङ्ग हुनुभएका सम्पूर्ण देशभक्त योद्धाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै, उहाँहरूले राष्ट्र र जनताको अधिकार सुनिश्चित गर्न पुर्याउनु भएको अतुलनीय योगदानप्रति उच्च सम्मान प्रकट गर्न चाहन्छु।
सभाध्यक्ष महोदय तथा सदस्यज्यूहरु,
हाम्रो नगर प्राकृतिक सम्पदा, सांस्कृतिक विविधता, मानवीय क्षमता र विकासका प्रशस्त सम्भावनाले सम्पन्न छ। उपलब्ध स्रोतसाधनको दिगो,परिणाममुखी र वैज्ञानिक परिचालन, सुशासनको प्रवर्द्धन तथा अन्तरसरकारी सहकार्यको सुदृढीकरणमार्फत समुन्नत, समावेशी र समृद्ध नगर निर्माण गर्ने उद्देश्यसहित आर्थिक वर्ष २०८३/०८४ को बजेट तथा कार्यक्रम प्रस्तुत गरेको छु। यसका लागि निम्न कार्यक्रम प्रस्ताव गरिएको छ।
गत आर्थिक बर्ष २०८१।०८२ को आय र व्ययको यथार्थ विवरण:
आर्थिक बर्ष २०८१/०८२ को आन्तरिक आय (राजस्व) बाट प्राप्त रकम रु. १ करोड ६३ लाख ३८ हजार ३ सय ९४ ।
अघिल्लो वर्ष खर्च नभएको अल्या रकम रु. १ करोड ९५ लाख ३३ हजार ५ सय ३७ ।
संघीय सरकार राजश्व बाँडफाँडबाट प्राप्त रु. १२ करोड ५५ लाख ६५ हजार ७ सय ४७, प्रदेश सरकार राजश्व बाँडफाँडबाट प्राप्त रु. २ करोड २ लाख ५२ हजार ७ सय ४७ र स्थानीय राजश्व बाँटफाँड रु. ५० लाख २ हजार ७ सय २१ गरी राजश्व बाँडफाँडबाट प्राप्त जम्मा रु. १५ करोड ८ लाख २१ हजार २ सय १५ ।
संघीय सरकारको वित्तीय समानीकरण अनुदान रु. १२ करोड ९८ लाख ४० हजार ४ सय, संघीय शसर्त अनुदान चालु रु. ४७ करोड ६६ लाख १२ हजार, शसर्त पुँजिगत अनुदान रु. ४ करोड १२ लाख १ हजार, समपूरक अनुदान रु. ५० लाख, विशेष अनुदान रु. ० गरी जम्मा प्राप्त रु. ६५ करोड २६ लाख ५३ हजार ४ सय ।
प्रदेश सरकारबाट समानीकरण अनुदान रु. ८९ लाख ४२ हजार, सशर्त अनुदान चालु रु. ७६ लाख ६१ हजार, शसर्त अनुदान पुँजीगत रु. ७ करोड ४५ लाख २३ हजार र समपूरक अनुदान रु. १ करोड ३० लाख गरी जम्मा प्राप्त अनुदान रु. १० करोड ४१ लाख २६ हजार ।
वास्तविक कुल आय रु. ९४ करोड ३४ लाख ७२ हजार ५ सय ४७ मध्ये ८६ करोड ३८ लाख ७४ हजार ९ सय ०३ खर्च भएको । यो विनियोजित बजेटको ९०.३४ प्रतिशत हुन आउँछ।
चालु आर्थिक बर्ष २०८२।०८३ को आय र व्ययको संशोधित अनुमान:
चालु आर्थिक बर्ष २०८२।०८३ को संशोधित अनुमान रु. ८९ करोड २१ लाख १८ हजार ४ सय ०४ हुन गएको छ।
सो रकम मध्ये संघीय सरकार अनुदान तर्फ समानीकरण अनुदान रु. १३ करोड ३६ लाख ८ हजार ४ सय ५०, शसर्त अनुदान चालु रु. ४९ करोड ८७ लाख ३० हजार, शसर्त अनुदान पुँजीगत रु. १ करोड ४४ लाख ५० हजार र समपुरक अनुदान रु ५० लाख गरी जम्मा संघीय अनुदान रु. ६४ करोड ७२ लाख ८८ हजार ४ सय ५०, त्यसैगरी प्रदेश अनुदान तर्फ समानीकरण अनुदान रु. १ करोड ३६ लाख ८९ हजार, शसर्त अनुदान चालु रु. १ करोड १७ लाख ५३ हजार, शसर्त अनुदान पुँजीगत रु. ५ करोड ७९ लाख र समपुरक अनुदान रु. ५० लाख गरी जम्मा प्रदेश अनुदान ८ करोड ८३ लाख ४२ हजार रहेको छ ।
आन्तरिक आय (राजस्व) तर्फ रु. २ करोड १७ लाख अनुमान गरिएकोमा २०८३ असार ८ गतेसम्म रु. १ करोड ३२ लाख १९ हजार ५ सय ३५ मात्र प्राप्त भएको छ ।
संघीय सरकार तर्फको राजश्व बाँडफाँडबाट रु. १२ करोड ७० लाख २८ हजार ६ सय ७८ प्राप्त हुने अनुमान गरिएकोमा हालसम्म रु. १० करोड ९४ लाख २३ हजार ९ सय २१ मात्र प्राप्त हुन आएको छ।
प्रदेश सरकार राजश्व बाँडफाँडबाट रु. १ करोड २६ लाख ६२ हजार प्राप्त हुने अनुमान गरिएकोमा हालसम्म रु. १ करोड ७ लाख ७९ हजार ६ सय ४२ प्राप्त भएको छ।
स्थानीय राजश्व बाँडफाँडबाट रु. १ करोड प्राप्त हुने अनुमान गरिएकोमा हालसम्म रु. ४६ लाख ७ हजार ७ सय २९ प्राप्त भएको छ।
कुल संशोधित बजेट रु. ८९ करोड २१ लाख १८ हजार ४ सय ०४ मध्ये २०८३ असार पहिलो सातासम्म पूँजीगत तर्फ रु. १० करोड ७० लाख २६ हजार ३ सय ३५ र चालु तर्फ रु. ५४ करोड ९५ लाख ७१ हजार २० गरी जम्मा रु. ६५ करोड ६५ लाख ९७ हजार ३ सय ५५ खर्च भएको छ। जसमा पुँजीगत तर्फ ४३.७९ प्रतिशत, चालु तर्फ ७०.८७ प्रतिशत र समग्रमा कुल बजेटको ७३.६० प्रतिशत खर्च भएको छ ।
सभाध्यक्ष महोदय, तथा सदस्यज्यूहरु,
अब म आर्थिक वर्ष २०८३/०८४ को बजेटका उद्देश्य तथा प्राथमिकताहरु प्रस्तुत गर्न गईरहेको छु ।
बजेटका उद्देश्यहरु :
नगरको दिगो, समावेशी तथा सन्तुलित विकास सुनिश्चित गर्दै नागरिकको जीवनस्तरमा गुणात्मक सुधार ल्याउने ।
वन, वातावरण तथा जैविक विविधताको संरक्षण गर्दै जलवायु परिवर्तनका असर न्यूनीकरण गरी वातावरणमैत्री विकासलाई प्रवर्द्धन गर्ने ।
कृषि क्षेत्रको आधुनिकीकरण, व्यवसायीकरण तथा बजारीकरणमार्फत उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धि गर्दै स्थानीय अर्थतन्त्रलाई सबल बनाउने ।
गुणस्तरीय शिक्षा, सहज तथा प्रभावकारी स्वास्थ्य सेवा विस्तार गरी मानव विकासका सूचकहरूमा सुधार ल्याउने ।
स्थानीय स्रोत, सीप र श्रमको अधिकतम परिचालन गर्दै आत्मनिर्भर तथा स्वावलम्बी समुदाय निर्माण गर्ने ।
सुशासन, पारदर्शिता, वित्तीय अनुशासन तथा उत्तरदायित्व अभिवृद्धि गरी नागरिकमैत्री सेवा प्रवाह सुनिश्चित गर्ने ।
महिला, दलित/शिल्पी समुदाय, आदिवासी जनजाति, अपांगता भएका व्यक्ति, एकल महिला, विपन्न तथा सीमान्तकृत वर्गको सामाजिक तथा आर्थिक सशक्तीकरण गर्ने ।
संघीय तथा प्रादेशिक नीति, आवधिक योजना तथा दिगो विकास लक्ष्यसँग समन्वय गरी विकासका प्रतिफललाई दिगो र प्रभावकारी बनाउने।
बजेटका प्राथमिकताहरु :
वन, वातावरण संरक्षण, जलवायु अनुकूलन तथा विपद् जोखिम न्यूनीकरण सम्बन्धी कार्यक्रमहरू ।
कृषि उत्पादन वृद्धि, पशुपालन, कृषि उद्यम, सिँचाइ, भण्डारण तथा कृषि उपजको बजारीकरण सम्बन्धी कार्यक्रमहरू ।
गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा सुधार तथा मानव पूँजी विकाससम्बन्धी कार्यक्रमहरू ।
रोजगारी सिर्जना, उद्यमशीलता विकास, जनश्रमदान प्रवर्द्धन तथा आत्मनिर्भर गाउँ निर्माण सम्बन्धी कार्यक्रमहरू ।
आधारभूत पूर्वाधारको संरक्षण, मर्मत तथा आवश्यकता आधारित विकास निर्माण कार्यक्रमहरू ।
सुशासन, डिजिटल सेवा विस्तार, सार्वजनिक उत्तरदायित्व तथा भ्रष्टाचार नियन्त्रण सम्बन्धी कार्यक्रमहरू ।
महिला, दलित, आदिवासी जनजाति, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बालबालिका तथा विपन्न वर्ग लक्षित समावेशी विकास कार्यक्रमहरू ।
संघ, प्रदेश र नगरको आवधिक विकास योजना तथा दिगो विकास लक्ष्यसँग आबद्ध उच्च प्रतिफलयुक्त आयोजना तथा कार्यक्रमहरू।
उल्लेखित उद्धेश्य तथा प्राथमिकताका आाधारमा यस नगरपालिकाको आर्थिक वर्ष २०८३।०८४ को बजेट सारमा प्रस्तुत गर्दछु ।
१) आयतर्फः
क) नगरपालिकाको आन्तरिक आय रु. २ करोड २० लाख रहने अनुमान छ । आन्तरिक राजस्व तथा गैर राजस्वका दरमा सामान्य परिवर्तन गरिएको छ। जुन अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न वनेको विधेयक, २०८३ मा प्रस्तुत गरेको छु ।
ख) संघीय सरकार राजस्व बाँडफाँडबाट रु. १३ करोड १८ लाख ७७ हजार, प्रदेश सरकार राजश्व बाँडफाँडबाट रु. १ करोड ४२ लाख ९७ हजार ९ सय र स्थानीय राजश्व बाँडफाँटबाट रु. १ करोड ५० हजार गरी राजश्व बाँडफाँडबाट जम्मा रु. १५ करोड २२ लाख २४ हजार ९ सय प्राप्त हुने अनुमान गरेको छु ।
ग) संघीय सरकारबाट प्राप्त हुने अनुदाततर्फः वित्तिय समानीकरण अनुदान रु. १४ करोड ८४ लाख, सशर्त अनुदान चालु रु. ५० करोड ५५ लाख, शसर्त अनुदान पुँजीगत रु. ७० लाख, विशेष अनुदान चालु रु १ करोड, समपुरक अनुदान पुँजीगत रु ३० लाख गरी जम्मा रु. ६७ करोड ३९ लाख प्राप्त हुने अनुमान गरेको छु ।
घ) प्रदेश सरकारबाट प्राप्त हुने अनुदानतर्फः वित्तिय समानीकरण अनुदान रु. १ करोड ३६ लाख ८९ हजार, समपूरक अनुदान पुँजीगत रु. १ करोड, सशर्त अनुदान चालु रु. ९९ लाख ८१ हजार र शसर्त अनुदान पुँजीगत रु. १ करोड ५२ लाख १ हजार गरी जम्मा रु. ४ करोड ८८ लाख ७१ हजार प्राप्त हुने अनुमान गरेको छु ।
ङ) चालु आ.व. ०८२/८३ मा खर्च नभई बचत हुने अल्या रकम रु. १० करोड ३ लाख ६८ हजार १ सय १३ अनुमान गरेको छु ।
माथि उल्लेखित श्रोतहरूबाट आर्थिक वर्ष २०८३।०८४ को कुल बजेट रु. ९९ करोड७३ लाख ६४ हजार १३ रुपैया ७० पैसा हुने अनुमान गरेको छु।
२) विनियोजनतर्फः
क) संघीय सशर्त अनुदान अन्तर्गत चालु कार्यक्रम तर्फ रु. ५० करोड ५५ लाख र संघीय सशर्त अनुदान अन्तर्गतकै पुँजीगत कार्यक्रम तर्फ रु. ७० लाख विनियोजन गरेको छु।
ख) संघीय समपूरकबाट संचालित आयोजनाहरुको लागि रु. ३० लाख र प्रदेश समपूरकबाट संचालित आयोजनाहरुको लागि रु. १ करोड विनियोजन गरेको छु ।
ग) प्रदेश सशर्त अनुदान अन्तर्गत चालु कार्यक्रम तर्फ रु. ९९ लाख ८१ हजार र प्रदेश शसर्त अन्तर्गतकै पुँजीगत कार्यक्रम तर्फ रु. १ करोड ५२ लाख १ हजार विनियोजन गरेको छु।
घ) संघीय तथा प्रदेश शसर्त अनुदान साझेदारी कार्यक्रमको लागि रु. १ करोड ३० लाख विनियोजन गरेको छु।
ङ) वडागत तर्फ पूँजीगत र चालु योजना तथा कार्यक्रमहरूका लागि रु. ९ करोड २९ लाख ६३ हजार १३ रुपैयाँ ७० पैसा विनियोजन गरेको छु।
च) भुक्तानी दिन बाँकी दायित्व रकमको लागि जम्मा रु. २ करोड ५० लाख विनियोजन गरेको छु।
छ) कार्यालयतर्फ प्रशासनिक तथा कार्यक्रम खर्च रु. १५ करोड ४७ लाख, विषयगत कार्यक्रम तर्फ खर्च रु. २ करोड ६४ लाख, नगरस्तरीय योजना तथा कार्यक्रमको लागी रु. ४ करोड, साझा योजना तथा कार्यक्रम तर्फ ४ करोड र विभिन्न कार्यक्रमको लागत साझेदारी, विपद् व्यवस्थापन कोष, आर्थिक सहायता, फोहोरमैला व्यवस्थापन, खेलकुद प्रवर्द्ध लगायत नियमित योजना तथा कार्यक्रमहरुलाई ४ करोड ४६ लाख १९ हजार विनियोजन गरेको छु।
विषयगत विनियोजन तर्फ
१) आर्थिक विकासः
कृषि, पशुपन्छी, अर्गानिक उत्पादन, स्थानीय स्रोत–साधनमा आधारित उद्योग तथा पर्या–पर्यटनको संयुक्त विकासमार्फत "मेरो नगर-म बनाउँछु" अभियानलाई निरन्तरता दिई स्थानीय उत्पादन, रोजगारी सिर्जना र आर्थिक समृद्धिलाई प्राथमिकता दिइनेछ।
कृषि तथा पशुपन्छी
व्यवसायिक कफि खेती कार्यक्रमको निरन्तरताको लागि आवश्यक बजेट विनियोजन गरेको छु।
कृषि स्रोत केन्द्र स्थापनाको लागि रु. ५० लाख बजेट विनियोजन गरेको छु ।
बाँदर लगायत हानिकारक वन्यजन्तुबाट कृषि बालिमाहुने क्षति न्यूनिकरणका लागी ४५ लाख रकम विनियोजन गरेको छु ।
चैते धान प्रवर्द्धनका लागि रु. ९ लाख ७५ हजार बजेट विनियोजन गरेको छु ।
जैविक विषादी उत्पादन तथा वितरणका आवश्यक बजेट विनियोजन गरेको छु ।
कृषि कर्जाको व्याज अनुदानको कार्यलाई निरन्तरता दिई आवश्यक बजेट विनियोजन गरेको छु ।
प्याज र बेसार उत्पादक कृषकलाई उत्पादनमा आधारीत अनुदान कार्यक्रमलाई निरन्तरता दिँदै आवश्यक बजेट विनियोजन गरेको छु ।
बालि संरक्षण तथा तरकारी उत्पादनका लागी विउ विजन वितरण गर्न आवश्यक बजेट विनियोजन गरेको छु ।
जनतालाई सुनौ उप मेयर कार्यक्रमलाई निरन्तरता दिँदै आवश्यक बजेट विनियोजन गरेको छु ।
बाली संरक्षण तथा पशु स्वास्थ्य सेवाका लागि आवश्यक बजेट व्यवस्था गरेको छु ।
खेतीयोग्य जमिनको माटोको स्वास्थ्य सुधारको लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
प्रांगारिक मल उत्पादन तथा वितरणको लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
पशुपन्छी विकास कार्यक्रम अन्तर्गत बंगुर र भेडा प्रवर्द्धनका लागि रु. १५ लाख बजेट व्यवस्था गरेको छु ।
पशुपंक्षी महामारी रोग नियन्त्रण र खोपका लागी लजिष्ट खरिदका लागी आवश्यक बजेट विनियोजन गरेको छु ।
तेलहन बाली प्रवर्द्धन कार्यक्रमलाई निरन्तरताको लागी बजेटको व्यवस्था गरेको छु ।
मौरी प्रवर्द्धन कार्यक्रमका लागि रु. १० लाख बजेटको व्यवस्था गरेको छु ।
उन्नत खाद्यान्न बालीको बीउ उपयोगमा अनुदानको व्यवस्था गरेको छु ।
कृतिम गर्भाधान मिसन कार्यक्रम कार्यान्वयन, औषधी तथा उपकरण खरिदका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु।
कृषिसँग सम्बन्धित विषेश बाली उत्पादन र प्रोत्साहनका लागी आवश्यक बजेट विनियोजन गरेको छु ।
कृषि तथा पशुपालन क्षेत्रको उत्पादन र उत्पादकत्व बृद्धि गर्न कृषि तथा पशुपन्छी विकास कार्यक्रम अन्तर्गत रु. २ करोड ८१ लाख विनियोजन गरेको छु ।
सिंचाई
कृषियोग्य जमिनमा बाह्रै महिना सिंचाई सुविधा सुनिश्चित गरी कृषि क्षेत्रको आधुनिकीकरण, व्यावसायीकरण तथा उत्पादन वृद्धि गर्ने लक्ष्यका साथ साना तथा मझौला सिंचाई आयोजनाहरूलाई प्राथमिकता दिई संघ, प्रदेश र नगरपालिकाको लागत साझेदारीमा कार्यान्वयन गरिने कार्यक्रमका लागि आवश्यक बजेट व्यवस्था गरेको छु।
रोजगारी तथा लघु उद्यम
वैदेशिक रोजगारीमा जान चाहने युवाहरूलाई लक्षित गरी सुरक्षित आप्रवासन परियोजना अन्तर्गत रोजगार प्रबर्द्धन कार्यक्रम (SaMI) अन्तर्गत रू. ३९ लाख बजेट विनियोजन गरेको छु।
स्थानीय स्रोत साधन परिचालन गरी रोजगारी प्रवर्द्धन गर्ने पवित्र उद्धेश्यले लघु उद्यम विकास कार्यक्रम तर्फ आवश्यक बजेट विनियोजन गरेको छु।
स्थानीय श्रोत साधनवाट निर्मित फर्निचर लगायतका वस्तुहरुको प्रयोगमा जोड दिईनेछ ।
बाँस उद्यम प्रवर्द्धनको लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
नगरपालिका भित्रका सूचीकृत बेरोजगारहरूलाई रोजगारीको सुनिश्चितता गर्न राष्ट्रिय रोजगार कार्यक्रमको लागि आवश्यक बजेट विनियोजन गरेको छु।
पर्यटन पूर्वाधार
कालिका भगवति तथा मझुवागढी सौन्दर्यकरण निरन्तरताको लागी रु. ५५ लाख बजेट विनियोजन गरेको छु।
सहदेव गढी संरक्षणको लागि रु. ८ लाख बजेट विनियोजन गरेको छु ।
२) सामाजिक विकासः
गुणस्तरीय स्वास्थ्य, शिक्षा, खानेपानी तथा सरसफाइ सेवामा पहुँच विस्तार गरिनेछ। खेलकुद तथा युवा विकासलाई प्रोत्साहन गर्दै स्थानीय भाषा, कला, संस्कृतिको संरक्षण र प्रवर्द्धन गरिनेछ। साथै, लैङ्गिक समानता, सामाजिक समावेशीकरण र सामाजिक न्याय सुनिश्चित गर्दै समतामूलक तथा दिगो विकासलाई अगाडि बढाइनेछ।
शिक्षाः
“नगर प्रमुखसँग विद्यार्थी कार्यक्रम”लाई निरन्तरता दिँदै आवश्यक बजेट विनियोजन गरेको छु ।
डिजिटल शिक्षा विकास तथा शैक्षिक सुधार परियोजना सञ्चालनको लागि रु. १ करोड बजेट विनियोजन गरेको छु ।
अहिलेको नयाँ प्रविधि र युगको आवश्यकतालाई मध्यनजर गर्दै विभिन्न विश्वविद्यालय, कलेज, नीजि क्षेत्र, संघ-संस्थासँग सहकार्य गर्दै "प्रविधिको उपयोग र ज्ञान-नगरको शान- विद्यार्थीको सम्मान" भन्ने नाराका साथ शिक्षालाई ए.आई. प्रविधिसँग जोड्न निरन्तरता दिँदै आवश्यक बजेट व्यवस्था गरेको छु ।
प्रारम्भिक बाल विकास सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय लेखा कर्मचारीहरुको पारिश्रमिकका लागि नगरपालिकाको तर्फबाट आवश्यक बजेट विनियोजन गरेको छु ।
हरित विद्यालयको अवधारणालाई कार्यान्वयन गर्न आवश्यक बजेट विनियोजन गरेको छु ।
प्रसुति सट्टा शिक्षक व्यवस्थापनको लागि आवश्यक बजेटको व्यवस्था गरेको छु ।
शिक्षक बैंकको अवधारणालाई कार्यान्वयनको लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको स्वास्थ्यलाई ध्यानमा राखी शैक्षिक गुणस्तर र विद्यार्थी उपस्थिति दर सुधारको लागि सेनेटरी प्याड खरिद र दिवा खाजा कार्यक्रमलाई विस्तार गर्न बजेटको व्यवस्था गरेको छु ।
विद्यालय शैक्षिक सुधार तथा सुशासन प्रवर्द्धनको लागी आवश्यक बजेट विनियोजन गरेको छु ।
उच्च शिक्षा अध्ययन गर्ने दलित, जेहेन्दार तथा गरीब विद्यार्थीहरुका लागी छात्रवृती उपलव्ध गराउन आवश्यक बजेट विनियोजन गरेको छु ।
शिक्षा क्षेत्रमा सबैको पहुंच पुर्याई शैक्षिक गुणस्तर सुधारको लागि शिक्षा क्षेत्रमा रु. ४४ करोड ४५ लाख ८ हजार विनियोजन गरेको छु।
युवा तथा खेलकुदः
दि.रु.म.न.पा. भित्रका विभिन्न खेलमैदान तथा खेलकुद पुर्वाधारहरु निर्माण तथा स्तरोन्नती गर्न आवश्यक बजेट व्यवस्थापन गरेको छु ।
विद्यालय तहमा अध्ययनरत विद्यार्थीहरुको सर्वाङ्गीण विकासको लागी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
मेयर कप फुटबल, भलिवल, नगरभित्रका प्रतिष्ठित खेलकुद प्रतियोगिता संचालन गर्न, ग्रासरुट फुटवल प्रशिक्षण, सितेरियो करांते र व्याडमिण्टन खेलकुद लागि आवश्यक बजेटको व्यवस्था गरेको छु।
स्वास्थ्यः
सामुदायिक स्वास्थ्य प्रवर्द्धन गर्न विद्यालय स्वास्थ्य तथा नर्सिङ कार्यक्रम सञ्चालनको लागि रु. १८ लाख बजेट विनियोजन गरेको छु ।
“म स्वस्थ, मेरो समुदाय स्वस्थ” नारा सहित घर/टोल स्वास्थ्य प्रवर्द्धनको कार्यक्रमलाई निरन्तरता दिँदै आवश्यक बजेट व्यवस्थापन गरेको छु ।
जनसेवा नगर अस्पताल संचालनको लागि बजेट विनियोजन गरेको छु ।
नेपाल सरकारद्वारा निःशुल्क वितरण गर्ने भनी तोकिएका औषधिहरू नगरका स्वास्थ्य संस्थाहरूबाट निःशुल्क उपलब्ध गर्न र स्वास्थ्य सेवा सुदृढीकरण गर्न औजार उपकरणका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु।
महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई प्रोत्साहन स्वरुप मासिक रु. १००० उपलब्ध कार्यलाई निरन्तरता दिँदै बजेटको व्यवस्था गरेको छु।
जोखिम गर्भावस्था, प्रसुती, सुत्केरी तथा नवजात शिशुहरूलाई स्वास्थ्य संस्थाहरूबाट रेफर भएमा एकतर्फी यातायात खर्च उपलब्ध गराउन आवश्यक बजेटको व्यवस्था गरेको छु।
गर्भवती तथा सुत्केरी महिलाहरूलाई निःशुल्क फोलिक एसिड तथा क्याल्सियम चक्की वितरण गर्नका लागि आवश्यक व्यवस्था गरेको छु। PNC HOME VISIT कार्यक्रमलाई निरन्तरता दिएको छु।
स्वास्थ्य संस्थाहरुलाई प्रविधिमैत्री बनाउन बजेटको व्यवस्था गरेको छु ।
प्रशुती सेवा विस्तारको लागि बजेटको व्यवस्था गरेको छु ।
रेडक्रससँगको सहकार्यमा रक्त संचार केन्द्रलाई प्रभावकारी रूपमा संचालन गर्न निरन्तरता दिँदै आवश्यक बजेटको व्यवस्था गरेको छु।
कुपोषणको अवस्थामा सुधार ल्याउन बहुक्षेत्रीय पोषण योजना कार्यक्रमलाई निरन्तरता दिन व्यवस्था मिलाएको छु ।
स्वास्थ्य सेवामा सबैको पहुँच पुर्याई स्वास्थ्य सेवाको स्तरोन्नति कार्यको लागि स्वास्थ्य तथा पोषण क्षेत्रमा रु. ७ करोड ६८ लाख विनियोजन गरेको छु।
खानेपानी
स्वच्छ खानेपानी विस्तार तथा पहुँच वृद्धिका लागि आवश्यक रकम विनियोजन गरेको छु।
महिला,बालबालिका, जेष्ठ नागरिक तथा समाजकल्याण
समावेशी र समतामूलक विकास र शसक्तिकरणको लागि महिला,बालबालिका तथा जेष्ठ नागरिक विकास कार्यक्रमको लागी रु. १४ लाख ५० हजार विनियोजन गरेको छु।
जेष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालन तथा व्यवस्थापनका लागि आवश्यक बजेट व्यवस्था गरेको छु ।
अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको निरन्तरताको लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
सरोकारवाला निकायहरुसँगको सहकार्यमा बालमैत्री स्थानीय तह घोषणा कार्यक्रमको लागि आवश्यक बजेट व्यवस्थापन गरेको छु ।
विपन्न तथा अभिभावक गुमाएका बालबालिकालाई संरक्षणको कार्यक्रम संचालन गरिनेछ ।
नगर तथा मावि स्तरीय बालक्लब गठनको कार्यलाई निरन्तरता दिँदै आवश्यक बजेट व्यवस्था गरेको छु ।
महिला लक्षित विपन्न तथा एकल महिलाहरुका लागि आय-आर्जन कार्यक्रम सञ्चालनको लागि आवश्यक व्यवस्थापन मिलाएको छु ।
जेष्ठ नागरीक, अपाङ्गता, एकल महिला र दलित वालवालिका लगायतका व्यक्तिहरुलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्न संघीय अनुदान अन्तर्गत आवश्यक बजेट विनियोजन गरेको छु ।
भाषा, संस्कार, संस्कृति तथा संरक्षणः
विभिन्न भाषा, संस्कार, संस्कृतिको संरक्षण तथा प्रवर्द्धनको लागि आवश्यक बजेट विनियोजन गरेको छु।
३) पूर्वाधार विकासः
नगर क्षेत्र भित्रका सडकहरूमा बाह्रै महिना यातायात सञ्चालन हुने गरी सडकको स्तरोन्नती कार्यलाई प्राथमिकता दिईनेछ।नगरले आफ्नो लगानीमा निर्माण गर्न नसक्ने खालका ठूला पूर्वाधार आयोजनाहरूको लागि संघ, प्रदेश तथा अन्तर्गतका निकायहरूमा बजेटका लागि पहल गरिनेछ। नगरका स्थानीय गौरवका आयोजनाहरूलाई प्राथमिकता दिईनेछ। विद्युत विस्तार तथा वैकल्पिक उर्जा प्रयोगमा जोड दिईनेछ।
संघीय समपुरक अनुदान र नगरपालिकाको लागत साझेदारीमा क्रमागत योजना अन्तर्गत थापागाउँ चिउरीडाँडा वडा कार्यालय सडक स्तरोन्नती योजनाको लागि यस आर्थिक वर्ष रु. ६० लाख बजेट विनियोजन गरेको छु । सो योजनाको लागि आगामी आर्थिक वर्षमा समेत स्रोत सुनिश्चितता भएको छ ।
दिखुवा खोलामा पुल निमार्णको लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
अस्पताल चोक मियाखोला हुँदै ७ नं. वडा जोड्ने सडक स्तरोन्नती आयोजनाको लागि रु. ७५ लाख बजेट विनियोजन गरेको छु ।
मिया खोला समाधिस्थल निर्माणको लागि रु. १० लाख बजेट विनियोजन गरेको छु ।
विगत र चालु आवमा सुरु भएका आयोजनाहरू आगामी आ.व.मा सम्पन्न गर्न तथा निरन्तरता दिनको लागि आवश्यक रकम विनियोजन गरेको छु।
नगरभित्रका मुख्य कच्चि सडकहरु बाह्रै महिना संचालन हुने गरी स्तरोन्नती गर्नको लागी रोलर र व्याक हु-लोडर निरन्तर संचालन गरिने छ ।
नागरिक श्रमदान अभियानलाई प्रभावकारी कार्यान्वयनको लागि आवश्यक व्यवस्था मिलाएको छु ।
नगरस्तरीय योजनाहरू संचालनका लागि बजेटको व्यवस्था गरेको छु।
नगरमा नयाँ निर्माण हुने संरचनाहरूको गुणस्तर कायम गर्नको लागि अनुगमन प्रणालीलाई प्रभावकारी बनाउन आवश्यक व्यवस्था गरेको छु।
विद्यालय, स्वास्थ्य चौकी तथा सामुदायिक भवनहरु आवश्यकताका आधारमा व्यवस्थापन गर्दै स्तरोन्नतीका लागि पहल गरिने छ ।
४) वन-वाताबरण, विपद व्यवस्थापन तथा सरसफाई र सामाजिक सुरक्षा तथा संरक्षण :
बाँसको प्रवर्द्धन र उपयोगको लागि आवश्यक व्यवस्था मिलाएको छु ।
मझुवागढीको सौन्दर्यकरणको लागि आवश्यक बजेट व्यवस्थापन गरेको छु ।
विपद व्यवस्थापनका लागि विपद व्यवस्थापन कोषमा आवश्यक बजेट विनियोजन गरेको छु।
५) संस्थागत विकास, सेवा प्रवाह तथा सुशासनः
शिघ्र र गुणस्तरीय सेवा प्रवाहको लागि नगरपालिकाका विभिन्न शाखाहरूबाट हुने कार्यसम्पादनलाई व्यवस्थित र प्रविधिमैत्री बनाउन सफ्टवेयरहरू जडान तथा संचालनका लागि आवश्यक बजेट व्यवस्था गरेको छु ।
करार पदमा करार सेवामा कार्यरत कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने कार्यलाई निरन्तरता दिँदै लगिने छ ।
राजश्व सुधारका कार्यक्रम, बेरुजु अद्यावधिक तथा बेरुजु फर्छ्यौट अभियान, न्यायिक समितिको कामकारवाही सुधारका लागि आवश्यक व्यवस्था मिलाएको छु।
नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालयहरूबाट हुने सेवा प्रवाह सुधारको लागि आवश्यक बजेट विनियोजन गरेको छु। नगर कार्यपालिकाको कार्यालयमा व्यवस्थित हेल्प डेस्क संचालन र डिजिटल नागरिक बडापत्र जडान लगायतका कार्यहरूको व्यवस्था गरिनेछ।
सार्वजनिक सुनुवाई, सामाजिक परीक्षण, GESI/GRB Audit लगायत सुशासनका औजारहरूको कार्यान्वयनका लागि आवश्यक व्यवस्था मिलाएको छु। नगरपालिकाको कार्य सम्पादनसँग सम्बन्धित सूचना संचारलाई व्यवस्थित गर्न सूचना अभिलेख केन्द्रको स्थापना गर्ने व्यवस्था मिलाएको छु ।
नगरपालिकाको सेवा प्रवाह सुधार र कर्मचारीको मानसिक तथा शारीरिक स्वस्थताको लागि तनाब व्यवस्थापन, प्राकृतिक योग, सकरात्मक सोच र नैतिक शिक्षासँग सम्बन्धी कार्यक्रमको लागि आवश्यक बजेटको व्यवस्था गरेको छु ।
जनप्रतिनिधि तथा राष्ट्रसेवक कर्मचारीहरूको क्षमता विकासको लागि आवश्यक बजेटको व्यवस्था गरेको छु।
जेष्ठ पत्रकार पेन्सन कोषको लागि आवश्यक व्यवस्था मिलाएको छु ।
सभाध्यक्ष महोदय तथा सदस्यज्यूहरु,
आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रमको सफल कार्यान्वयनबाट नगरवासीले सुशासनयुक्त, गुणस्तरीय तथा प्रभावकारी सेवा प्रवाहको अनुभूति गर्नेछन् भन्ने विश्वास लिएको छु। यसले नगरपालिकाको आर्थिक, सामाजिक, सांस्कृतिक, पूर्वाधार तथा वातावरणीय विकासमा महत्वपूर्ण योगदान पुर्याई स्वच्छ, हरित, समृद्ध र विकसित नगर निर्माणमा टेवा पुर्याउनेछ।
बजेट तथा कार्यक्रम तर्जुमा प्रक्रियामा मार्गदर्शन, सुझाव र सहयोग प्रदान गर्नुहुने सम्पूर्ण जनप्रतिनिधि, राजनीतिक दल, विज्ञ, शिक्षक, निजी क्षेत्र, सञ्चारकर्मी, नगरवासी तथा प्रत्यक्ष रूपमा खटिनुहुने राष्ट्रसेवक कर्मचारीहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु।
अन्त्यमा, सीमित स्रोत–साधनका बीच प्रस्तुत यस बजेट तथा कार्यक्रमको सफल कार्यान्वयनमा सबै पक्षको निरन्तर सहयोग, सहकार्य र सहभागिता प्राप्त हुने विश्वास व्यक्त गर्दै धन्यवाद ज्ञापन गर्दछु।