समीको फेदमा आँपको स्वाद

  • प्रकाशित मितिः असार 3, 2083
  • 51 पटक पढिएको
  • संवादताता

तीर्थराज भट्टराई-

काठमाडौंको व्यस्तता, मन्त्रालयका भेटघाट, विकासका योजना, बाँस प्रवर्द्धनको अभियान र बाँदर समस्याको समाधान खोज्ने दौडधूपमै बित्यो यो पटकको एक साताको बसाइ । असार २ गते काठमाडौंबाट दिक्तेल फर्किने यात्रा जीवन, समाज, राजनीति, प्रकृति र मानवीय संवेदनाको गहिरो बहस गर्ने अवसर बन्यो । यो पूर्व योजना पनि थिएन परिस्थितीले जुराएको नियात्रा थियो । “ यात्रा भनेको गन्तव्यमा पुग्नु र आफूभित्रका अनगिन्ती प्रश्नहरूसँग साक्षात्कार गर्नु पनि हो “ भन्ने अनुभूति यो पटकको यात्राले बारम्बार झक्झक्याइरह्यो ।

काठमाडौं पुगेदेखि नै मेले निजी र पारिवारिक काममा समय दिन सकिनँ । हुन त यो पटक मात्रै भए परिवारमा अनौठो हुन्थ्यो । सधैंभरि यही दिनचर्या भएकोले यो मेरो र परिवारका लागि नौलो विषय थिएन पनि । नगरपालिकाको उन्नयन, नागरिकको हित र स्थानीय स्रोतको उपयोगका विषयमा मन्त्रालयदेखि विज्ञसॅगको  छलफलमा नै दिनहरू बिताइयो काठमाडौंमा ।

बाँस, बाँदर र विकासको बहस :

वन मन्त्रालय, उद्योग मन्त्रालय र कृषि मन्त्रालयमा बाँसको राष्ट्रिय नीति निर्माण, बाँसलाई हरित अर्थतन्त्रसँग जोड्ने योजना र बाँदर समस्याको दीर्घकालीन समाधानबारे भएका छलफलहरूले मनमा केही आशा जगाइरहेको थियो । बाँस वनस्पति मात्र होइन ग्रामीण अर्थतन्त्रको आधार, वातावरण संरक्षणको साधन र देश समृद्धिको बलियो आधार हो भन्ने विषयलाई राज्यस्तरसम्म पुर्‍याउन चारैतिरबाट प्रयास भइरहेको देख्दा आत्मसन्तुष्टि मिल्यो। निराश होइन आशावादी छु म त । गरिन्छ पटकपटक बहस तर हात लाग्यो शुन्य भएको छ विगतमा पनि । शासकले एउटा कानले सुन्छ र उडाई दिन्छ अर्को कानबाट ।

तर मलाई यो पटक विश्वास र भरोसा छ । युवा नेताहरू सरोज भट्टराई, विकास थापा र मदन खत्रीको सक्रिय समन्वयले मन्त्रालयका भेटघाट सहज बनेका थिए । अझ गहिरो अभिरुचि सरोज भट्टराईमा देखेँ । बाँसलाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्ने विषयमा मेजर विपीन नगरकोटीको निरन्तरको चासोले पनि मलाई थप ऊर्जा छोडिरहेको थियो । “ देशको भविष्य राजधानीका पट्यारलाग्दा भवनहरूमा होइन स्थानीय स्रोतको सम्मान र रैथाने संस्कृतिमा लुकेको हुन्छ “ भन्ने मेरो विश्वास झन् बलियो बन्यो यो भेटबाट ।

कृषि, वन तथा वातावरण मन्त्रालयका माननीय मन्त्रीज्यूको सचिवालय सदस्य आयुस मानन्धर, विकास भुषाल तथा उद्योग मन्त्रालयका मन्त्रीज्यूको सचिवालय सदस्य विनोद रिमालसँगको छलफलले नीति निर्माणको बाटोले गति लिने आशा जगाइरहेको थियो । नयॅा सोच वोकेका युवा र लुकेको स्रोतको साक्षात्कार आफैंमा अनौठो थियो । सम्माननीय प्रधानमन्त्री बालेन्द्र साहको सचिवालयको समेत यस विषयमा गहिरो चासो हॅुदा बॅासको विकास  र बॅादरको समस्या समाधान सन्निकट छ भन्ने विश्वास जगाएको छ मलाई ।

भेटघाटमा प्रमुख प्रशासकीय अधिकृत तीर्थप्रकाश पौडेल, साहित्यकार वम बानियाँ, समाजसेवी मणिराज खत्री र बाँस विज्ञ इन्जिनियर आश्रव खनालको उपस्थिति तथा उहॅाहरूका तर्कसंगत अभिव्यक्तिले यो मुद्दालाई अझ शक्तिशाली बनाउन मद्दत पुऱ्यायो ।

मानव-वन्यजन्तु द्वन्द्वको पीडा :

सिंहदरबारको छलफल सकेर म, हाकिमसाब र मणीसर सातदोबाटोस्थित एनटीएनसीको कार्यालय पुग्यौं । त्यहाँ नेपाल सरकारले गठन गरेको मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापन प्राविधिक कार्यदलसँग भएको छलफल अत्यन्त महत्वपूर्ण रह्यो । आमरण अनशनको समयमा भएको संझौता कार्यान्वयन गर्न आग्रह गऱ्यौं ।

बाँदरले किसानको खेती नष्ट गर्दा उत्पन्न भएको निराशा, गाउँमा बढेको असुरक्षा र त्यसको समाधानका सम्भावित उपायबारे लामो बहस भयो । कार्यदलका संयोजक होमबहादुर खत्री, विभिन्न मन्त्रालयका वरिष्ठ प्रशासक र वन्यजन्तु विज्ञहरूको उपस्थितिले राज्य अब किसानको पीडाप्रति संवेदनशील बन्दै गएको अनुभूति गरायो ।  “ समस्या आफैं बोल्दैन तर पीडितको संवेदना राज्यका लागि सबैभन्दा ठूलो प्रश्न बन्छ । ” यो मुद्दा अहिले राष्ट्रिय विषय बनेको छ ।

कार्यदलका सदस्यहरूसँगको छलफलपछि उहॅाहरू पनि समाधानको मोडेल खोज्ने अन्योलतामा रूमल्ली रहेको महसुस भयो । कहाँ टेक्ने र कसरी अघि बढ्ने भन्ने द्विविधा रहेछ मेरो बुझाईमा । कार्यदलका  संयोजक होमबहादुर खत्री र सदस्य सचिव अशोक सुवेदीलगायतको  मनोविज्ञान बुझ्दा  समस्यालाई दीर्घकालीन र अल्पकालीन दुवै ढंगले समाधान गर्न दृढ देखिनुभयो ।

घर र परिवारको न्यानोपन :

साँझ घर फर्किएपछि साहित्यकार श्रीराम राईसँग नगरको समृद्धि, साहित्य र गतिशील समाजबारे लामो छलफल भयो । खोटाङको लागि आश्रव खनालले ल्याइदिनुभएका बाँसका बिरुवाहरू ग्रहण गर्दा उहाँको बाँसप्रतिको समर्पण स्पष्ट देखिन्थ्यो । उहाँको अन्तिम लक्ष्य नै बाँसको प्रयोग, विकास र प्रवर्द्धन थियो । 

दिनभरको दौडधूपपछि म घर पुगेँ । बिहान ६ बजे निस्किएर बेलुका ८ बजे घर पुग्दा न परिवारलाई समय दिन सकेको थिएँ न माया बाँड्न भ्याएको थिएँ । तर आमा कुमारीको मेहनत र उत्प्रेरणाबाट जेठो छोरा अध्ययनको चित्रकलाप्रतिको रुचि र कान्छो अनुसन्धानको ज्योतिष विज्ञानप्रतिको लगाव देख्दा मन प्रफुल्लित भयो। “ परिवार भनेको माया, प्रेम र भावनाको अन्तरंग स्पर्श दिने सबैभन्दा सुरक्षित चौतारो हो ।” मैले परिवारलाई समय दिन नसकेकोमा सधैं मनमा खड्की रहन्छ । कुमारीजीको दृढता र व्यवहारिक दक्षता मेरो जीवनको उज्यालो नक्षत हो । मलाई होईन आमाप्रति सम्मान गर र सधैं स्मपण गरिरहनु भन्छु दुवै छोराहरूलाई ।

सडकका धुलाम्मे प्रश्नहरू :

भोलिपल्ट २ गते जेठ बिहान ५:३० बजे महाराजगञ्जबाट दिक्तेलतर्फको यात्रा सुरु भयो । यात्राको क्रममा गाडी भित्र  प्रमुख प्रशासकीय अधिकृत तीर्थप्रकाश पौडेल, आलेप अधिकृत मोहन भट्टराईसॅग विकास मोडल, संघीयता, स्थानीय सरकारको भूमिका र प्रशासनिक संरचनाबारे गम्भीर संवाद चलिरह्यो ।

भकुण्डेवेसीमा चिया पिउँदा होटल सञ्चालक ईश्वर अधिकारी राजनीति मानिस रहेछन् । उनको अभिव्यक्तिमा आशा र निराशा मिसिएका थिए । अहिलेको परिस्थितीमा नागरिकको मनोविज्ञान बुझेर मात्रै राजनीति गर्नुपर्ने आवश्यकता त्यहाँबाट स्पष्ट भयो । इलामेली भएकोले तीर्थसर चियाको पारखी हुनुहॅुदो रहेछ भन्ने यात्राको क्रममा बुझ्ने अवसर मिल्यो ।

रोशी खोलाको किनार हुँदै यात्रा अघि बढ्यो । विकासको नाममा भइरहेको अव्यवस्थित उत्खनन, क्रसर उद्योगको धुलो र डोजर आतंकले मन खिन्न बनायो । बाटोमा विद्यालय जाँदै गरेका बालबालिका धुलाम्मे सडकमा हिँडिरहेका थिए । गर्भवती महिला, जेष्ठ नागरिक र सर्वसाधारण धुलो र धुवाँको मुस्लोमा सास फेर्न बाध्य थिए । “ प्रकृतिमाथिको हिंसा अन्ततः मानवतामाथिकै प्रहार हो ।” यो बुझ्न र बझाउन सकिएन ।

नदीको प्राकृतिक बहावलाई डोजरले चिथोरेको दृश्यले जैविक विविधताको मौन विलाप महशुस हुन्थ्यो । मानिसले प्रकृतिलाई जितेको भ्रम पाल्दा अन्ततः आफ्नै भविष्य हारिरहेको हुन्छ भन्ने सत्य त्यहाँ स्पष्ट देखिन्थ्यो । पैसाको लागि राजनीतिक, प्रशासनिक आडमा खुलेका अनियन्त्रित क्रसर उद्योग अव नियमन हुन्छ कि हॅुदैन ? नयॅा जनमतबाट आएको दुईतिहाईको सरकारले पनि यस्ता गलत काम नरोके भविष्यमा अरूबाट सम्भव छैन । सरकारको यता नजर पुगोस् र यस्तै अन्य क्षेत्रका विकृतिमा पनि ।

डायरी, संवाद र आत्ममन्थन :

निरन्तर यात्रा गरिरहेका थियौँ । म ठाउँ-ठाउँका घटनाक्रम डायरीमा उतारिरहेको थिएँ । एआईको युगमा पनि कलम र कागज बोकेर हिँड्दा धेरैले टिप्पणी गर्छन् मेरो । तीर्थसरले समेत यस विषयमा फरक मत राख्दै सुझाव दिनुभयो । तर बाल्यकालदेखि लागेको बानी परिवर्तन गर्न सकेको छैन मैले । मलाई लाग्छ कागजमा टिपोट गर्दा प्रत्यक्ष भावनासॅग स्पर्श गर्छ । तर पनि समयको चापलाई नबुझी प्रविधीको प्रयोग नगर्दा समयसॅग प्रतिष्प्रधा गर्न सकिन्न भन्नेमा म सचेत छु ।

स्वामीको फेदमा आँपको स्वाद :

सिन्धुलीको ग्वालटारमा सडक किनारको विशाल स्वामीको रूखमुनि गाडी रोकियो । तलतिर कृषि सहकारीको प्रयोगविहीन भवन थियो । प्रयोग नहुँदा राज्यकोषको दुरुपयोग भएको दृश्यले आफ्नै नगरका संरचनाहरूको अवस्था मलाई स्मरण गरायो । अरूतिर हेर्दा आफ्ना कमजोरीहरू पनि घोत्लिन सकिन्छ भन्ने मनमा गहिरो अनुभूति भयो ।

हामी त्यहींको चौतारोमा बस्यौं । हाकिमसाब मंगलवारको व्रतमा हुनुहुन्थ्यो । खुर्कोटबाट किनेको पाकेको आँप र बखडा थियो । आँप निकालेर खान शुरू गऱ्यौं । पहिलो गॅास आँप टोकाइमा मलाई बाल्यकालको याद आयो । विद्यालयबाट फर्किएर साथीहरूसँग राति आँप चोर्न जाँदाको रमाइलो वालापन, पकड्ने हुन् कि भन्ने डर हुन्थ्यो । घर फर्केर आएपछि आमाको मायालु गाली खाएको स्मृति एकैचोटि आँखा अगाडी आए ।

तीर्थसर र मोहनसरले आँपको कोया चुस्तै गर्दा रस कुहिनासम्म बगिरहेको थियो । म पनि कहाँ कम थिएँ र ! पाइन्ट र सर्टमा आँपको पहेंलो दाग परिसकेको रहेछ । त्यो क्षणमा पद, प्रतिष्ठा र औपचारिकता सबै हराएका थिए । हामी केवल चारै जना नेपाली थियौँ । प्रकृतिको छहारीमा बाल्यकाल खोजिरहेका हामी । नेपालीपन र खानपानको शैलीले मलाई वास्तवमै नयॅा आनन्द दिई रहेको थियो । तीर्थ सर , मोहन सर र निश्चल सर पनि रमाई रहनु भएको अनुभूति  गरें ।

हामीले आंप खाएको वरीपरी झिंगाहरू रसमा रमाइरहेका थिए । रूखबाट कमिला र किरा फाट्टफुट्ट झरेको देखियो । म पलेटी कसेर चौतारोमा बसें तर सरहरू सायद किरा फट्यॅाग्रासॅग डराएर होला सतर्कताका साथ उभिनुभयो । मलाई त्यो प्रकृतिसँगको आत्मीयतामा रमेको क्षण अद्भुत आनन्द लाग्यो । “ सुख करोडौँ कमाएर वा प्रतिष्ठामा हुँदैन । कहिलेकाहीँ चौतारोको छहारीमा आँपको रससँग पनि जीवनको सन्तुष्टि भेटिन्छ । “  भन्ने भावमा हराएर आत्मानुभूति साटासाट गरिरहेका थियौं । म त फलफूलमा पनि रमाउन सक्थें तर हाकिमसाबको व्रतले मोहन सर र निश्चल सरलाई असहज भयोकी मेरो मनमा कुरा खेलीरहेका थिए ।

संयम, साधना र आत्मशक्ति :

दिक्तेल यात्राको क्रममा तीर्थसरले डा. विकासानन्दको जीवनपद्धतिबारे सुनाउनुभएको प्रसंगले मनलाई निकै गहिरोसँग छोयो ।आधुनिक युगमा पनि संयम, अनुशासन र आत्मशक्तिको अभ्यासद्वारा मानिसले आफ्नो शरीर र चेतनालाई असाधारण उचाइमा पुर्‍याउन सक्छ भन्ने उहाँको अनुभव सुन्दा म चकित भएँ ।

विशेषगरी २०-२१ दिनसम्मको उपवासपछि प्राप्त हुने ऊर्जा, मनको स्थिरता र चेतनाको विस्तारबारे उहाँले सुनाउनुभएको आत्मकथनले जीवनलाई हेर्ने दृष्टिकोणमै नयाँ प्रश्नहरू जन्मायो ।

हामी भोकलाई केवल अभावको रूपमा बुझ्छौं । तर साधकका लागि भोक आत्मअनुशासनको पाठशाला पनि हो । पेट खाली हुँदा मन भरिन थाल्छ । दिव्य दर्शन सम्भवतः यहीँ कतै लुकिरहेको  हुन्छ । मैले गोरखपुरमा बस्दा सन्तहरूको साधनालाई नजिकबाट बुझेको छु र यदाकदा स्वयं लिन पनि भएको थिएं । त्यही प्रयोग र साधनाले मलाई अहिले पनि उर्जा दिई रहेको महशुस गर्छु ।

चौतारामा पलेटीं कलेर बसीरहँदा मेरो मन हजारौँ वर्षअघिका ऋषिमुनिहरूतिर पुगेको थियो । हिमालका कन्दराहरू, वनका निर्जन कुटी र नदीकिनारका तपोभूमिहरूमा वर्षौंसम्म ध्यान, साधना र कठोर तप गर्ने ती महापुरुषहरू आखिर किन यति दृढ थिए ? उनीहरूलाई पदको लोभ थिएन । सम्पत्तिको मोह भएन ।  सत्यको खोजीमा जीवन समर्पण गरे । आत्मबोधको यात्रामा  निक्लिए । सन्तहरूको तप केवल व्यक्तिगत उन्नतिको लागि नभएर सम्पूर्ण मानव सभ्यताको चेतना उज्यालो बनाउने दीपशिखा तर्फ हुन्थ्यो ।

आज हामी सुविधा खोज्दै दौडिरहेका छौं तर शान्ति हराउँदै गएको छ । साधन बढे तर साधना घटेको छ । भवनहरू अग्ला भए तर विचारको उचाइ खुम्चिँदै गएको छ ।

फोहोर, चेतना र जिम्मेवारी :

ठाउॅठाउॅ सडक किनारमा छरिएका प्लास्टिकका बोतल, जंकफुडका खोल र अन्य फोहोरले वातावरण दूषित थियो । हामी विकास, सभ्यता र आधुनिकताको कुरा गर्छौं तर आफ्नै व्यवहारले प्रकृतिलाई घाइते बनाइरहेका हुन्छौं । “ सभ्यता सडकको कालोपत्रे वा विकासले मापन हुँदैन नागरिकको चेतना र व्यवहारले मापन हुन्छ । “ यो भावनालाई बुझेनौं हामीले ।

नगर प्रमुखको रूपमा मैले आफ्नै जिम्मेवारी सम्झिएँ । अरूलाई दोष दिनुभन्दा पहिले आफ्नै घररूपी नगर सफा गर्नुपर्छ भन्ने निष्कर्षमा पुगेँ । अब प्लास्टिक तथा शिशाजन्य फोहोर व्यवस्थापनलाई अभियानकै रूपमा अघि बढाउनुपर्ने दृढता मनमा जागृत भयो । सबैको सहकार्य र सहभागिताले मात्रै यो सम्भव छ ।

कदुवाको लस्सी र  आनन्द मन :

कदुवाको लस्सी पसलमा पुग्दा फौदसिं कार्कीको मेहनत र पारिवारिक सहकार्यले उद्यमशीलताको प्रेरणादायी उदाहरण प्रस्तुत गर्छ । मानिसहरूको घॅुइचो लाग्छ पसलमा । शाकाहारी खाजा र मिठाईका विभिन्न परिकार बन्छन् । लस्सी र कुराउनीको स्वादसँगै परिवार, प्रशासन, राजनीति र समाज विकास बारे भावनात्मक संवाद चलिरह्यो हाम्रो वीचमा ।

यस्तो यात्रा र संवादले मानिसलाई भावनासॅग जोड्छ । एकअर्कालाई बुझ्ने, सिक्ने र यात्रा संस्मरण बन्ने अवसर दिन्छ । यही नै सामुहिक यात्राको ठूलो उपलब्धि हो । मैले उहॅाहरूसॅग धेरै कुरा बुझ्ने र सिक्ने अवसर पाएं । मेरो जीवनमा यो यात्रालाई महत्वपूर्ण अवसरको रूपमा ग्रहण गरेको छु ।

निष्कर्ष :

साँझ दिक्तेल पुग्दा शरीर थकित थियो । उमेर ढल्किंदै गएकोले होला विगतमा भन्दा शरीर सिथिल हुन थालेको छ । तर शरीर थकित भए पनि मन भने अनुभव, स्मृति र आत्मसन्तुष्टिले भरिएको थियो ।

वास्तवमा, यात्रा केवल बाटो काट्ने र गन्तव्यमा पुग्ने माध्यम मात्र होइन । जीवनलाई बुझ्ने एउटा खुला पाठशाला पनि हो । एउटै गाडीमा सँगै हिँड्दा मानिसका विचार, व्यवहार, संवेदना र संस्कारलाई नजिकबाट नियाल्न सकिन्छ । यात्रा सडक, भवन र प्रकृतिको अवलोकन गर्दै चेतना निर्माण गर्ने निरन्तरको प्रक्रिया पनि हो । मेरो ठम्याईमा यात्राले कुनै मनमुटाव भए सम्बन्धहरूलाई न्यानो बनाउँछ । आत्मानुभूतिलाई फराकिलो बनाउन मद्दत पनि गर्छ ।

समीको छायाँमा बसेर खाएको आँपको स्वाद जिब्रोमा मात्र सीमित रहेन । त्यो स्वाद बाल्यकालको स्मृतिसँग मिसियो । प्रकृतिप्रतिको श्रद्धा , मित्रताको संवाद र सहयात्रामा अन्तरघुलन भएको थियो । यो यात्रा जीवनदर्शनको एउटा मधुर अध्याय बन्यो । प्रेम मन भित्रको अन्तष्करणमा गॅासिएको हॅुदा यो यात्रा एउटा महत्वपूर्ण अध्याय बनेको अनुभूति गरें मैले ।

अन्ततः जीवन पनि एउटा यात्रा नै हो । जीवन धुलाम्मे, हरियाली, संघर्षपूर्ण र पीडादायी पनि हुन्छ । यात्राको वास्तविक सौन्दर्यता गन्तव्यको समयमा बाटोमा भेटिने अनुभूति, सम्बन्ध, आत्मबोध र सिकाइमा लुकेको हुन्छ । मेरो बुझाई र निष्कर्ष यही हो ।

समीको फेदमा खाएको त्यो आँपले मलाई फेरि एकपटक सम्झायो । मानिसले संसार जित्नुभन्दा पहिले आफूभित्रको संसार चिन्न सक्नुपर्छ । त्यही आत्मबोध, चेतना, सरलता र आत्मीयताको स्वाद नै जीवनको सबैभन्दा मधुर फल हो।

 ( स्तम्भकार दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख हुन् । )

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित