तीर्थराज भट्टराई-
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित शुभम् फाउण्डेशनको सफा, शान्त र खुला चौरमा २०८३ जेठ ३ गते बिहानैदेखि एउटा छुट्टै सांस्कृतिक परिवेश थियो । शान्त वातावरण, वरिपरि हरियाली डाँडाकाँडा, प्राविधिक सीप, ज्ञान र व्यवहारिक शिक्षाको नमुना हो शुभम् । यहॅाका विद्यार्थी आत्मनिर्भर र स्वालम्वी छन् । गोवर सोहोर्ने, माटोमा खेल्ने र प्रविधी र सीपमा रमाउने गर्छन् विद्यार्थी । चराचुरूंगी र कुखुरासॅग लुकामारी गर्दै एआई प्रविधिसॅग बोल्छन् ।
त्यहि वातावरणमा नेर्पा निवासी साहित्यकार डा. धनप्रसाद सुवेदी, साहित्यकार भोगेन एक्ले र सॅस्कृति संरक्षणका साधक सूर्यबहादुर राई कार्यक्रम व्यस्थापनमा जुट्नुभएको थियो । म भने यो कार्यक्रम सामान्य ढंगले होइन राष्ट्रिय वहस हुनेगरी भदौ तिर गर्न चाहन्थें । कमजोर होइन हातहतियार र सबै प्रकारको खजना बोकेर युद्धमा हिडेको सैनिकजस्तै । तर थियो समय, परिवेश र समयसापेक्षताको घेरामा बॅाधिएको अवस्था । ३ गते आइतवार म भने विहान सात बजेदेखि नै व्यस्त भएं दुई- तीनवटा कार्यक्रममा ।
दोर्पा, वुढाथोकी गाउॅमा वुढाथोकी समाजको साधारण सभामा सहभागी भएर हामी हस्याङ–फस्याङ गर्दै दिउॅसो १.४० मा आईपुग्यौं शुभम् । बाहिर फलैंचामा स्रष्टा टंक थापा र पत्रकार दिलीप खत्री उमंग हॅासोमा हुनुहुन्थ्यो । स्रष्टा, द्रष्टा र बेला–बेला रमझमा रमाउने वरिष्ठ पत्रकार आदरणीय दाजु कृष्ण आचार्य , राजन दहाल , निष्चल नेवा र मैले विथोलिदियौं उहॅाहरूको कानेखुशी सम्मेलन र हॅासो । पत्रकार मित्र भीम राईको उल्लासमय हॅासो र वोटिलो कलमको झटारोको भावमा मिलायौं गला । समय ढिलाभयो भनेर आएका हामी नेपाली समयपनको सिकार बन्यौं । हात मिलायौं, मन तौलियौं र भावना मिसायौं सभाहलमा पुगेर सबै मान्यजन अतिथिसंग ।
आदिवासी जनजाति आयोग, नेपाल प्रज्ञा–प्रतिष्ठान, मानेभञ्ज्याङ गाउँपालिका, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका, खोटेहाङ र जन्तेढुङ्गा गाउँपालिकाको सहकार्यमा आयोजित १४औँ लोकवार्ता सङ्गोष्ठी (परम्परागत ज्ञान सम्मेलन) कम औपचारिक र ज्यादा खोज र अनुसन्धानमूलक थियो ।
अन्यत्र झैं खोटाङ जिल्लामा पनि लोकभाषा, लोकसंस्कार, परम्परा र सभ्यताको पुनर्जागरण अभियानको थियो शंखघोष गर्ने । नगरपालिका , शुभम् फाउण्डेशन र टेम्के तुवाचुङले स्थानीय आयोजनाको जिम्मा सम्हालेका थिए । लोकवार्ता परिषद्का केन्द्रीय महासचिव प्रवीन पुमा र सूर्य राईको समन्वयले कार्यक्रमलाई अझ आत्मीय र व्यवस्थित बनाएको थियो । जस्मा डा. धनप्रसाद सुवेदीले सिरकनो लगाईरहनु हुन्ऱ्थ्यो दूरभाष यन्त्रबाट ।

कार्यक्रमको प्रारम्भ विद्वताको विनम्रता :
कार्यक्रमको सुरुवात भोगेन एक्लेको मौलिकपन, दक्षता र रैथाने साहित्यीक लबजबाट शुभारम्भ भयो । उहॅाको उद्घोषण रैथाने स्वाद मिसिएको साहित्यिक लयमा हुन्छ । यहि नै हो लोकभाषाको मर्म र आत्मीयता । छुट्टै आनन्द र परिवेश । अतिथि सबैको अनुहारहरूमा उत्साह झल्किएको महशुस गरें मैले । तर नौलो मानिस र औपचारिकता बढी रूचाउनेलाई नजॅच्न सक्छ त्यो शैली । तर म ढुक्क थिएं लोक भाषा र संस्कृतिको संरक्षण गर्न झोलितुम्वा बोकेर मेचीकाली हिड्नभएका विद्वान अभियान्ता खोज्नुहुन्न ज्यादा राजशी औपचारिकता । सन्तुष्टि र उल्लास मान्नु भयो होला यो शैलीमा रमाउन पक्कै पनि ।
लोकवार्ता परिषद्का केन्द्रीय अध्यक्ष प्रा. डा. भवेश्वर पंगेनीको व्यक्तित्वमा मैले पाएं निखारता । अग्लो कद, हँसिलो स्वभाव र बाँसजस्तै लचकता । शारीरिक वनावटले मात्र होइन बॅास जस्तै अग्लो विद्वता र विनम्रताले समेत । पानीले भरिएको गाग्री समुद्रझैँ शान्त हुन्छ भन्ने उक्ति चरितार्थ भयो उहाँमा । सँगै आउनु भएका विज्ञ-विद्वानहरू पनि त्यत्तिकै सरल र तेजस्वी । आमाको शिल स्वभाव हेरेर छोरीको विवाह गर्नु भन्ने पुर्खाको भनाई चरितार्थ भयो नेतृत्वको लचकता र सहभागिको विद्वताबाट ।
डोटीदेखि ताप्लेजुङसम्मका स्रष्टा, संस्कृतिका साधक र विद्वानहरू एउटै चौतारीमा जुट्नु । चानचुने विषय होइन यो । काठमाडौंको सांस्कृतिक चेतना र पोखराको सौन्दर्य बोकेर आएका व्यक्तित्वहरू दिक्तेलको रैथाने भावनासँग मिसिँदा अझ जीवन्त बन्यो संगोष्ठी । त्यहाँ विद्वताको घमण्ड थिएन थियो केवल लोकसंस्कृतिप्रतिको समर्पण र जिज्ञासु मन ।
दिक्तेलको लोकभाका र उल्लास :
लोकभाका र लोकसंस्कारबारे गहिरा छलफल भइरहेका बेला कवि वम बानियाँले उँभोखोले भाकामा लोकलय गाउँदा सभाहल नै जुरुक्क जुर्मुरायो । तीन घण्टासम्म लगातार बसेका सहभागीहरूमा नयाँ ऊर्जा छऱ्यो नयॅा परिवेश ल्यायो वमको प्रस्तुतिपछि । कवि टंक राईको लोकलययुक्त गीतले त अझ पुऱ्यायो आफ्नै गाउँघर र बाल्यकालको सम्झनामा । त्यो गीतमा भूगोल बोलिरहेको र स्वरमा थियो सभ्यता गाइरहेको ।
८७ वर्षीय पर्खनबहादुर राई हुनुहुन्थ्यो कार्यक्रमका प्रमुख अतिथि । उत्साह, स्मरणशक्ति र निस्वार्थ जीवनको प्रतिमुर्ति । दोर्पाका गाउँगाउँमा पानी पुर्याउन उहाँले गरेको योगदान अझै जनमानसको भगवानरूपि जेष्ठनागरिकको छ पहिचान । न पैसाको दम्भ न विद्वताको अहंकार । उहाँको सरलता र सामाजिक सम्पित यगि नै हो परिचय ।
अर्को सुन्दर दृश्य थियो- किराँत राई यायोक्खाका जिल्ला अध्यक्ष युक्सन किराँतकी सात वर्षिया छोरीहरूको स्वागत र निष्चल चंचलता पूर्ण सम्मान । प्रकृतिपूजक किराँत भेषभूषामा सजिएका ती नानीहरूलाई देख्दा लोकसंस्कृतिको फूल अझै ओइलाई सकेको छैन र जिवन्त छ खोटॅागमा भन्ने दिईरहेको थियो अव्यक्त सन्देश । माझकिराँतको साझा संस्कृति र सहिष्णुताले हुर्काएको त्यो दृश्य साँच्चै मनमोहक र थियो गर्विलो सम्पत्ति ।
मनमा आएको नमिठो भाव :
व्याकुल माइलाजस्तो राष्ट्रिय व्यक्तित्वको उपस्थितिले थियो निकै ओजिलो र गौरवान्वित कार्यक्रम । राष्ट्रिय गानका रचनाकार भएर पनि उहाँमा न अहंकार थियो न कुनै अभिमान । उहाँको सरलता र आत्मीय व्यवहारले विद्वताको असली उचाइ मैले विनम्रतामा हुन्छ भन्ने गरिरहेको थिएं मापन । मेरा मित्र वरिष्ठ चित्र तथा मुर्तिकार प्राज्ञ धनबहादुर याक्खाको काठमाडौं स्थित निवासमा भेट्टाएको थिए २०८० साल जेठमा ।
दिनहॅु नेपालको सभ्यता र संस्कृति गाउने व्याकुल माइलालाई भेट्दा मेरो कान्छो छोरा भएको थियो सीमा वाहिर प्रफुल्लित र खुशी । मलाई एक सातासम्म मोवाइलमा देखाईरहन्थे उनले सॅगै खिचेको फोटो । त्यो व्यक्तित्व अनि बॅास झैं पृथ्वीमा धनुष्टंकार गर्न निहुरिए जस्तै स्वभाव । आहा ! विद्वान र सर्जकको मन र समाजलाई छरेको सुगन्ध ।
शुभम् फाउण्डेशन नेपालमा आधुनिक परिवेशमा ठूले अध्यन केन्द्र हो । सञ्चालक सूर्यबहादुर राई शिक्षालाई व्यवहारिक र सीपमूलक बनाउनुपर्ने अडानमा दृढ र विचारमा स्पष्ट । निरन्तरको त्याग , निस्वार्थ समर्पणको प्रतिमूर्ति हो सूर्य । हरेक विधाका पारॅगत सूर्य राई लोकसंस्कृति , भाका, भाषा र प्रकृति संरक्षणका पछिल्लो वुद्ध हुन् भन्दा नहोला अस्वभाविक । मान्छे हो कमजोरी र स्वार्थ नभएको त को नै होला र तर निर्धक्क भन्न र लेख्न सकिन्छ कम स्वार्थ र समाज सुधारक मानिस ।
प्रकृति, लोकभाषा र सॅस्कृति जोगाउने कार्यक्रम चलिरहॅदा मलाई तीतो अनुभूति भयो । नजिकै कुर्सीमा वसेका बालबालिका मोबाइलको हराई रहेका थिए । संस्कृतिको संरक्षण गर्ने अगुवा युक्सन किरॅात कै सन्तान आधुनिक प्रविधिको प्रयोगबाट हिन्दी सिरियलको आकर्षणमा डुबिरहेका ।
यो दृ्ष्य प्रतिनिधिमूलक मात्र हुन प्रत्येक संस्कृति र भाषाविद्को घर भित्रको यथार्थ दर्पण हो त्यो । यो दृश्यले मेरो मनमा आयो- राज्यले शिक्षा नीति र संस्कार सही ढंगले नदिंदा नयाँ पुस्तालाई नेपाली सभ्यता र लोक भाषाको पर्दैछ खडेरी । जरूरी छ सबै तहका सरकारले ध्यान दिन र व्यवहारमा कार्यान्वयन गराउन । जरूरी छ प्रत्येक परिवारले त्यो परिवेश र वातावरण बनाउन ।
अर्कोतर्फ मेरो मन दुख्यो संस्कृति जोगाउने कार्यक्रमको बसाइँ प्लास्टिकका कुर्सीमा । बाँसको राजधानी भनेर घोषणा भयो तर सकेनौं हामीले परिणाम देखाउन । हुन त यो चेतना फैलाएर जागरूक बनाउने र विस्तारै व्यवहारमा लागु गर्ने हो आफूबाटै । परम्परा खानपान, प्रयोग र रैथाने पहिचान हराउँदै गएको अनुभूतिले भतभत पोल्यो मेरो मन । दिक्तेलका सडकछेउ, फूलबारी र सार्वजनिक स्थलमा छरिएका प्लास्टिकका फोहोरले झन् शिर निहुऱ्याउनु पर्ने । प्रयोगकर्तामा अनुशासन व्यवस्थापन छ फितलो । काम सम्वन्धित शाखाले नगर्ने अपजश नगर र नेतृत्वले बोक्नुपर्ने विडम्बना । यी सबै जसअपजसबाट भाग्न पनि मिलेन नेतृत्वले ।
प्रकृति र संस्कृति चुम्न मझुवागढी :
कार्यक्रमपछि प्राकृतिक तथा सांस्कृतिक केन्द्र मझुवाकालिका भगवतीको दर्शन र गढीको अवलोकन गर्ने बन्यो कार्यक्रम । ७८३ वटा सिँढी पार गर्दै पदमार्ग चढ्दा विद्वानहरूको अनुहारमा थकानभन्दा उत्साह बढी देखिन्थ्यो । मन्दिर पुगेपछि जप, ध्यान र आराधनामा डुबेको त्यो क्षणले अनुभूति गरायो -मन्दिर केवल धर्म होइन थाकेको मनको बिसौनी रहेछ आस्थाको चौतारा ।
कोहि इतिहासको खोजि त कोहि फोटो खिचाउन मस्त । सबैमा स्फूर्ती र थियो ताजगी । आ-आफ्नै तन र मन वहलाउनुभयो त्यो आस्थाको केन्द्रमा । गढी निक्लिन राति भएकोले भएव सम्भव । तर त्यहॅाको ऐतिहासिकता साहित्यकार डा. धनप्रसाद सुवेदीले सुनाउॅदै पार्नुभयो मन्त्रमुग्ध ।
विस्तारै सिंढीबाट ओर्लियौं बुधेश्वर गुफा र त्यहॅाको रहस्यमय वातावरणले सबैलाई बनायो मन्त्रमुग्ध । माथि चमेरा उडिरहेका, भित्र मधुरो उज्यालो, अनि प्राकृतिक बनोटले सजिएको गुफाले खोटाङको प्रकृति र संस्कृतिको अनुपम सौन्दर्य उजागर गरिरहेको थियो ।
दिनभरको लामो यात्रा र संगोष्ठीको पट्यार लाग्दो बसाईबाट पनि अतिथिको अनुहारमा थिएनन् थकान चित्रहरू । बरु नयाँ कुरा सिक्ने उत्साह र लोकसंस्कृतिलाई स्मृतिमा सुरक्षित राख्ने चाहना झल्किरहेको देखिन्थ्यो गहिरो अभिरूची । आठ बजे राति दिक्तेल फर्कँदा मेरो मनमा एउटै अनुभूति थियो-लोकसंस्कृति केवल गीत, भाका र पोशाकमा सीमित हुने होइन त्यो समाजको आत्मा, पुस्तौँ पुस्ताको स्मृति र सभ्यताको अनुपम सम्पत्ति हो ।

निष्कर्ष
१४औँ लोकवार्ता सङ्गोष्ठीले दिक्तेललाई केही घण्टाका लागि मात्र होइन भावनाले सदाका लागि उज्यालो छरेको छ । लोकसंस्कृति जोगाउने भाषणभन्दा ठूलो कुरा त्यसलाई व्यवहारमा उतार्नु रहेछ भन्ने अनुभूति गरायो कार्यक्रमले । खोटाङको माटोमा अझै लोक सॅस्कृति र लोकधुन बाँचेको छ । रैथाने आत्मालाई जोगाइराख्ने जिम्मा अब हाम्रो पुस्ताकै काँधमा आएको छ ।
शान्त वातावरण, वरिपरि हरियाली डाँडाकाँडा, मझुवागढीतर्फ उक्लिने बाटाका दुवै किनारामा रोपिएका फूल, अनि रूपाकोटको काखमा बसेको सुन्दर दिक्तेल । आहा ! क्या रमाइलो परिवेश थियो त्यो क्षण । साँच्चै लोकसभ्यताको साझा चौतारी बनेको हाम्रो त्यो क्षणलाई तगारो हाल्दै आयो समय । त्यो परिवेश र रमाइलो वातावरणलाई पूर्णविराम लगाएर म घर झरें र अतिथिहरू जानुभयो वासस्थान शुभम् । लोक सॅस्कृति, भाषा, सभ्यता र प्रकृतिको अनुपम सुन्दर दिक्तेल नगरीलाई अंगालो हालेर विश्राम गरे ।
( स्तम्भकार-दिक्तेल रूपाकोट मझुवागढीका नगर प्रमुख हुन् । )
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, जेठ ३–तेश्रो बृहत खोटाङ हले... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २–नेपाल पत्�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख ३१–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख २९–जिल्ल�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख २४–हलेसी �... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित