हलेसी तुवाचुङ नगरपालिकाले सुकुम्बासी वस्तीबाट विस्थापितलाई घर बनाई दिने

  • प्रकाशित मितिः वैशाख २४, २०८३
  • 4 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख २४–हलेसी तुवाचुङ नगरपालिकाले काठमाडौंबाट विस्थापित भएका नगरबासीलाई घर निर्माण गरिदिने भएको छ । काठमाडौंका विभिन्न सुकुम्बासी क्षेत्रबाट विस्थापित भएका हलेसी तुवाचुङ नगरबासीले गाउँमै घर बनाउन चाहेमा त्यसका लागि सहयोग गर्ने भएको हो ।
हलेसी तुवाचुङ नगरपालिकाकी प्रमुख विमला राईका अनुसार काठमाडौंको विभिन्न सुकुम्बासी बस्तीमा डोजर चलाइएपछि विस्थापित भएपछि गाउँमै आएर बस्न चाहने तर घर नभएका नगरबासीलाई घर निर्माण गरिदिने भएको हो । बैशाख २३ गतेको नगर कार्यपालिकाको बैठकले बढीमा ५ लाखसम्म घर निर्माणमा सहयोग गर्ने निर्णय गरिएको राईले सुनाएकी छन् । काठमाडौंका सुकुम्बासी वस्तीबाट विस्थापित भएका हाम्रो नगरका बासिम्दाहरूले गाउँमै बस्न चाहे र घर छैन भने उनीहरूलाई घर निर्माणमा सहयोग गर्ने निर्णय भएको राईले बताएकी छन् ।
विस्थापितको पहिचान गर्न नगर उपप्रमुख रमेश राउतको संयोजकत्वमा नगर प्रवक्ता कमल गिरी र नगरका कर्मचारी सुनिल रिजाल सम्मिलित समिति समेत निर्माण गरिएको छ । उक्त समितिले गाउँमै बस्न चाहने विस्थापितलाई आवेदन दिन आह्वान गर्ने र आवेदन दिनेहरूमध्येबाट वास्तविक विस्थापित छनौट गरी उनीहरूलाई घर निर्माणमा सहयोग गरिने उपप्रमुख रमेश राउतले बताएका छन् । विस्थापितले नगरक्षेत्रभित्र बस्न चाहे नगरले ५ लाखसम्मको घर बनाई दिने र त्यसमा थपेर त्यो भन्दा बढी लगानीको घर बनाउन चाहनेलाई ५ लाख रूपैयाँसम्म दिने राउतले बताएका छन् ।
यसअघि पनि घर विहीन ३ परिवारलाई नगरपालिकाले घर निर्माण गरिदिएकाले त्यसै मापदण्डको आधारमा विस्थापित सुकुम्बासीलाई पनि घर निर्माण गरिदिने नगरपालिकाका प्रवक्त कमल गिरीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित