चोरी शिकारीले रेडपाण्डा सखाप (भिडिओ सहित)

  • प्रकाशित मितिः चैत १७, २०८२
  • 57 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, चैत १७–जिल्लाको केपिलासगढी गाउँपालिका–७ सुङ्देलका सामुदायिक वनहरूमा चोरी शिकारीले रेडपाण्डा मासिएको खुलेको छ । चैत १७ गते दिक्तेलको होटल शुभदिनमा आयोजित रेडपाण्डासम्वन्धी जिल्लास्तरीय सरोकारवालाहरूसंगको समीक्षा बैठकमा उक्त जानकारी गराइएको हो ।
सुङ्देलको दयालुबमा, देवीखर्क र बुङबुङे सामुदायिक वनमा भएको रेडपाण्डा चोरी शिकारीले नष्ट गरेको खोटाङमा रेडपाण्डा संरक्षणको क्षेत्रमा काम गरिरहेको जनकल्याण समाज नेपालका अध्यक्ष विरेन्द्र मगरले सुनाएका छन् । उनका अनुसार ठाउँमा पासोमा पारेर रेडपाण्डा मारिने गरेको हो । त्यस क्षेत्रमा रेडपाण्डाको चिन्ह पाइए पनि अहिलेसम्म कसैले नदेखेको र क्यामेर ट्रयाप राखिए पनि अहिलेसम्म नदेखिएको मगरले जनाएका छन् ।
रेडपाण्डा नेटवर्क र सहयोगमा जनकल्याण सेवा समाजको सहकार्यमा जिल्लाको दुई स्थानीय तहको १० वटा सामुदायिक वनहरूमा समुदायमा आधारित रेडपाण्डा संरक्षण कार्यक्रम सञ्चालन गरिएको छ । केपिलासगढी गाउँपालिका–७ सुङ्देलको दयालुबमा, देवीखर्क र बुङबुङे, वडा नं १ फेदीको चिलिम लाहुरे, बगाले, फुङ्गालुङ, छिमालुङ, बैशाखे वालिखा तथा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाको कोप्चे र मेरुङ सामुदायिक वनमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।
सुङ्देलका सामुदायिक वनहरूमा बाहेक अन्य सामुदायिक वनहरूमा भने रेडपाण्डा फेला परेको समुदायमा आधारित रेडपाण्डा संरक्षण कार्यक्रम अधिकृत तेजविनोद पोखरेलले बताएका छन् । रेडपाण्डा संरक्षणका लागि हेरालु समेत राखिएको छ । १० मध्ये ७ वटा सामुदायिक वनमा दुई जनाका दरले हेरालु राखिएको पोखरेलले सुनाएका छन् । फुङ्गालुङ, बगाले, कोप्चे, मेरुङ, चिलिम लाहुरे, छिमालुङ र बुङ्बुङ्गे सामुदायिक वनमा हेरालु राखिएको हो । देवीखर्क, दयालुबमा र बैशाखे वालिखामा भने हेरालु नियुक्ति गर्ने तयारी गरिएको छ । हेरालुले प्रत्येक ३ महिनामा एक चोटी गरी वर्षमा ४ पटक रेडपाण्डा अनुगमन गर्ने गरेका छन् । उनीहरूले रेडपाण्डा अनुगमन गरेवापत एक चोटीमा जनही ४ हजार रूपैयाँका दरले पाउने पोखरेलले जनाएका छन् ।
रेडपाण्डा संरक्षण कार्यक्रमका लागि ६८ लाख ६ हजार ३० रूपैयाँ बजेट विनियोजन भएको छ । यसमध्ये कार्यालय खर्च १ लाख ५१ हजार ५ सय, कर्मचारी तलव ३ लाख १६ हजार ८ सय, अनुसन्धान तथा अनुगमनमा १६ लाख ३० हजार दुई सय ९०, रेडपाण्डासम्वन्धी शिक्षा कार्यक्रममा १३ लाख १२ हजार ६ सय ९०, वासस्थनको व्यवस्थापन २१ लख ५८ हजार ४ सय ७०, दीगो जिविकोपार्जन ६ लाख ४४ हजार ५ सय र अनुगमन तथा क्षमता अभिवृद्धिमा ५ लाख ९१ हजार ७ सय ८० रूपैयाँ विनियोजन भएको पोखरेलले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित