हलेसीमा निर्माणाधीन नगर अस्पताल अलपत्र (भिडिओ सहित)

  • प्रकाशित मितिः फागुन ४, २०८२
  • 269 पटक पढिएको
  • संवादताता

सविना अछामे– 
खोटाङ, फागुन ४–हलेसीमा निर्माणाधीन नगर अस्पताल अलपत्र परेको छ । निर्माणमा संलग्न कम्पनीले खटाएको कामदारले काम छाडेर गएपछि हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित निर्माणाधीन अस्पताल भवन अलपत्र परेको हो ।
हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीका अनुसार निर्माणमा संलग्न कम्पनीले कामदारलाई पैसा नदिएकाले छाडेर हिडेको हो । कामदारले गत मङ्सिरसम्म काम गरेको तर पैसा नपाएपछि छाडेर हिडेको गिरीले बताएका छन् । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशभरका ३ सय ९६ वटा अस्पताल भवन एकसाथ शिलान्यास गरेको भवनमध्ये उक्त भवन अलपत्र परेको गिरीले सुनाएका छन् । उक्त भवनको ठेक्का नमुना हिमालयन जेवी विराटनगरले लिएको हो । संघीय सरकारको भ्याट बाहेक ११ करोड ९९ लाख १९ हजार ६ सय २९ रूपैयाँ बजेटमा २०८० साउन ७ गतेसम्म सक्ने गरी २०७८ साउन ७ गते उक्त निर्माण कम्पनीले सम्झौता गरेको थियो ।
उक्त भवन बेलामा नबनेपछि पटक–पटक निर्माणअवधि थपिदै आएको छ । पछिल्लो अवधिमा २०८२ असार २९ गतेको कार्यपालिकाको बैठकले तेश्रो पटक २०८३ साउन ७ गतेसम्मका लागि म्याद थप गरेको छ । उक्त भवनको बेसको पिलर मात्र उठाएको छ । अहिलेसम्म करिब ३४ प्रतिशत बराबरको ४ करोड भुक्तानी भएको हलेसी तुवाचुङ नगरपालिकाका लेखा अधिकृत नवराज कटवालले बताएका छन् । उक्त रकम सुरुको रनिङ बिलको भुक्तानी गरिएको हो । त्यसपछि कामै अलपत्र परेपछि भुक्तानी गरिएको छैन ।
भवन अलपत्र पार्ने निर्माण कम्पनीलाई कारबाही गर्नु पर्ने जग्गादाताहरूले बताएका छन् । अस्पताल बन्छ र उपचार सुविधा पाइन्छ भनेर जग्गा दिएको तर अहिलेसम्म नबकेकोप्रति दुःख लागेको जग्गादाता प्रकाशचन्द्र गिरीले बताएका छन् । काम अलपत्र पारेकोप्रति नगरपालिका, वडा र सम्वन्धित निर्माण कम्पनीलाई गुनासो राख्दा बेवास्ता गरिएको गिरीले दुःखेसो पोखेका छन् । यसमा संलग्नलाई कारबाही गर्नु पर्ने समेत गिरीको भनाइ छ ।
काम अलपत्र पारेपछि सम्वन्धित निर्माण कम्पनीलाई ताकेता गर्दा समेट अटेर गरेकाले कारबाही प्रक्रिया बढाउने तयारी गरेको प्रवक्ता गिरीले सुनाएका छन् ।
सुरुमा भवनको डिपिआर परिवर्तन गर्नु पर्ने भएकाले निर्माणमा ढिलाइ भए पनि पछिल्लो समय डिपिआर बनिसकेपछि पनि काम नगर्दा समस्या आइपरेको गिरीले सुनाएका छन् । यसका साथै भवन निर्माणको थालनीमै पिलरहरू बाङ्गिएको र त्यसलाई भत्काएर अर्को पिलर बनाउन लगाइएको समेत गिरीले जनाएका छन् । भवनको तल्लोपट्टिको ६ वटा पिलर बाङ्गिएपछि भत्काएर बनाउन लगाइएको हो । उक्त भवन निर्माण थालेपछि पार्किङ, गेट, शव गृह, क्यान्टिन, फार्मेसी लगायतको संरचना नमिलेपछि डीपीआर परिवर्तन गर्नु परेको गिरीको भनाइ छ ।
निर्माणमा संलग्न सुशिल रेग्मीले भने अब केही दिनमै काम सुरु गर्ने बताएका छन् । 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित