मेघालय कोइलाखानी विस्फोट प्रकरण : खोटाङको थप दुई जनाको मृत्यु

  • प्रकाशित मितिः माघ २६, २०८२
  • 230 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, माघ २५–भारतको मेघालयस्थित अवैध कोइलाखानीमा विस्फोट गराउने क्रममा आगलागीमा परी खोटाङका अर्काे दुई जनाको पनि मृत्यु भएको छ । बाराहपोखरी गाउँपालिका–१ बारापोखरी भन्ज्याङका ३५ वर्षीय नरबहादुर मगरको उपचारको क्रममा र हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका ५० वर्षीय रत्न राईको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक प्रकाश बुढाथोकीका अनुसार उनका उपचारको क्रममा भारतै एक अस्पतालमा मृत्यु भएको हो । मेघालयको राजधानी सिलोङस्थित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उक्त हस्पिटलको नाम खुल्न सकेको छैन । रत्न राईको भने घटनास्थलमै मृत्यु भएको स्थानीय भोगिन्द्र राईले बताएका छन् । विस्फोटको बेला खानीभित्रै रहेकाले मृत्यु भएको भन्ने थाहा भएपछि उनको नाममा किरात संस्कार अनुसार छोराको मुन्डन समेत गरेको राईले सुनाए । ‘घटनामा मृत्यु भएको भन्ने थाहा भएपछि छोराको मुण्डन गरियो’ राईले भने । राई असोज ९ गते मेघालय गएका थिए । उक्त घटनामा नेपाल, आसाम र मेघालयका गरी २७ जनाको मृत्यु भइसकेको छ । अन्य ९ जनाको उपचार भइरहेको छ ।
उक्त घटनामा बारापोखरी सालघारी भन्ज्याङका एउटै घरका दाजुभाइको मृत्यु भएको थियो । बिहीबार विहान करिब ११ बजेतिर भएको विस्फोटपछि आगालागीमा परी बाराहपोखरी गाउँपालिका–१ बाराहपोखरीस्थित सालघारीभञ्ज्याङ निवासी २७ वर्षीय पूर्णीराम मगर र उनका भाइ २४ वर्षीय सुरेन्द्र मगरको घटनास्थलमै मृत्यु भएको थियो ।
मृतकका आफन्त प्रकाश खपाङ्गी मगरका अनुसार उक्त घटनामा बाराहपोखरीस्थित भञ्ज्याङका ३५ वर्षीय नरबहादुर सहित ४० वर्षीय बमबहादुर मगर र ४५ वर्षीय कर्णबहादुर मगर घाइते भएका थिए । उक्त घटनामा उदयपुर साउनेका ललितबहादुर मगर पनि घाइते भएका छन् ।
मेघालय पुगेर कोइलाखानीमा काम गर्ने ७ जनाको टोलीमध्ये बाराहपोखरीस्थित वालम्पाका ताराबल मगर मात्र सकुशल छन् । विस्फोटपछि ताराबलले नै फोनमार्फत आफन्तलाई घटनाका बारेमा जानकारी गराएका थिए । दुर्घटनाका मृतक तथा घाइतेहरू रोजगारीका लागि गत पुस ३ गते घरबाट मेघालय गएको आफन्तले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित