भारतको मेघालय कोइलाखानीमा विस्फोटमा परी खोटाङका एउटै घरका दाजुभाइको मृत्यु

  • प्रकाशित मितिः माघ २४, २०८२
  • 616 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, माघ २३–भारतको मेघालयस्थित कोइलाखानीमा भएको विस्फोटमा परी खोटाङ बाराहपोखरी गाउँपालिका–१ का एउटै घरका दाजुभाइको मृत्यु भएको छ । मेघालयस्थित उम्साङघाटमा सञ्चालित कोइलाखानीमा माघ २२ गते भएको विस्फोटमा परी बाराहपोखरी गाउँपालिका–१ बाराहपोखरीस्थित सालघारीभञ्ज्याङ निवासी २७ वर्षीय पूर्णबहादुर खपाङ्गी मगर र उनका भाइ २४ वर्षीय सुरेन्द्र खपाङ्गी मगरको घटनास्थलमै मृत्यु भएको हो ।
वडाअध्यक्ष ढकबहादुर कार्कीका अनुसार उक्त घटनामा बाराहपोखरीस्थित भञ्ज्याङका ३५ वर्षीय नरबहादुर खपाङ्गी मगर, ४५ वर्षीय बमबहादुर खपाङ्गी मगर र ४० वर्षीय कर्णबहादुर खपाङ्गी मगर घाइते भएका छन् । उनीहरूमध्ये नरबहादुर र बमबहादुर गम्भिर रहेको समेत कार्कीले सुनाए । उक्त घटनामा उदयपुर साउनेका ललितबहादुर मगर पनि घाइते भएका छन् ।
मेघालय पुगेर कोइलाखानीमा काम गर्ने ७ जनाको टोलीमध्ये बाराहपोखरीस्थित वालम्पाका ताराबल मगर मात्र सकुशल छन् । विस्फोटपछि ताराबलले नै फोनमार्फत आफन्तलाई घटनाका बारेमा जानकारी गराएका हुन् । दुर्घटनाका मृतक तथा घाइतेहरू रोजगारीका लागि गत पुस ३ गते घरबाट मेघालय गएको आफन्तले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित