उद्घाटनको पर्खाइमा यलम्बरको सालिक (भिडिओ सहित)

  • प्रकाशित मितिः भदौ १८, २०८२
  • 508 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, भदौ १८–अधिकांश योजनाहरू सम्पन्न हुनेसाथ उद्घाटन गर्ने हतारो हुन्छ । तर करौडौं खर्च गरेर बनाइएको एक सय १० फिट अग्लो यलम्बरको सालिक उद्घाटन गर्न भने हतारो छैन ।
खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाको पञ्चदोबाटोमा निर्माण गरिएको सालिक उद्घाटन गर्ने कुनै छाँटकाँट नदेखिएको स्थानीयको गुनासो छ । पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले निर्माण गरिएको उक्त सालिक उद्घाटन नभएको स्थानीयले गुनासो गरेका हुन् । पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले सालिक बनाइएको भए पनि उद्घाटन नै नभएको स्थानीय धनबहादुर श्रेष्ठले बताए ।
कोशी प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गत जेठ १८ गते उद्घाटन गर्ने कार्यक्रम राखिए पनि किरात राई यायोक्खाको अवरोधका कारण रोकिएको थियो । यायोक्खाका केन्द्रीय समितिले पहिचान विरोधीबाट उद्घाटन गर्न नहुने भन्दै नगरपालिकालाई पत्राचार गरेको थियो । मध्यमन्त्री कार्कीको प्रदेशको नीति तथा कार्यक्रमका कारण समय अभाव देखाउदै उद्घाटन स्थगित गरिएको थियो । त्यसपछि पछिल्लो अवधिमा उद्घाटनको चर्चा हुन छाडेको हो ।
यायोक्खाले पत्र पठाएपछि दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विसन राई, वडा नं १४ का वडाअध्यक्ष दिनेश राई र किरात राई यायोक्खाका केन्द्रीय महासचिव भीम राई बीच छलफल भए पनि सहमती हुन नसकेको नगरप्रमुख तीर्थराज भट्टराईले बताएका छन् । यद्यपि आगामी असोजभित्र उद्घाटन गर्ने गरी योजना बनाइएको साउन ३० गते आयोजित पत्रकार सम्मेलनमा भट्टराईले बताएका थिए ।
कोशी प्रदेश र स्थानीय तहको करिब १३ करोड १६ हजार चार सय ६९ रूपैयाँको लागतमा एक सय १० फिट अग्लो सालिक बनाइएको हो । १८ महिनाभित्र सक्ने गरी उमा तुवाचुङ अन्सुली जेभीले २०७८ असार २८ गते संझौता गरेको थियो । तर संझौतामा उल्लेख भए अनुसार काम गर्न नसकेपछि पटक–पटक गरी २०८२ असोज १८ गतेसम्म सक्ने गरी म्याद थप गरिएको म्याद थप गरिएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका सूचना अधिकारी मोहनकुमार भट्टराईले बताएका छन् ।
भट्टराईका अनुसार योजनामा १० करोड १० लाख ३८ हजार तीन सय ४३ रूपैयाँ भुक्तानी भएको भएको छ । अब दुई करोड ८९ लाख ७८ हजार एक सय २५ रूपैयाँ भुक्तानी गर्न बाँकी रहेको भट्टराईले बताएका छन् । उक्त भुक्तानीको लागि चालु आर्थिक वर्ष दुई करोड ८५ लाख रूपैयाँ कोशी प्रदेशले पठाइसकेको समेत भट्टराईले सुनाएका छन् । उक्त रकम अब तत्काल भुक्तानी गरिने भट्टराईले बताए ।
नगर उपप्रमुख विसन राईले भने उक्त संरचना निर्माण भइनसकेको र कोशी प्रदेशको दायित्व अनुसार बजेट पनि नआइसकेकाले उद्घाटन ढिलाई भएको बताएका छन् । अब भने बजेट पनि आइसकेकाले निकासा हुना साथ उद्घाटन गरिने राईको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित