प्रधानन्यायधिस प्रकाशमान सिंह राउतलाई बाँसको कुर्सी र टेबल उपहार (भिडिओ सहित)

  • प्रकाशित मितिः साउन १०, २०८२
  • 538 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, साउन ९–दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले प्रधानन्यायधिस प्रकाशमान सिंह राउतलाई बाँसबाट बनेको कुर्सी र टेबल उपहार दिएका छन् । बाँस लगायतका स्थानीय सामग्रीहरूको उपयोग गर्न नीति निर्माण र कार्यान्वयनको माग गर्दै साउन ९ गते सर्वोच्च पुगेर बाँसको कुर्सी र टेबल उपहार दिएका हुन् ।
बाँसलाई विल्डिङ कोडमा समावेश गरी सरकारी मूल्याङ्कन गर्न नम्स बनाई स्थानीय सामाग्री प्रयोग गर्ने नीति निर्माण गर्नु पर्ने, बाँसको सदुपयोगबाट स्थानीय स्तरमा साना घरेलु उद्योग सञ्चालन गरी विदेश पलायन हुने युवाहरूलाई स्वरोजगार बनाई आयआर्जनको गर्न सकिने भएकाले यसका लागि सरकारले नीति निर्माण र कार्यान्वयन गर्नु पर्ने माग राख्दै स्थानीय जनशक्तिबाट निमार्ण गरिएको बाँसको कुर्सी र टेबल उपहार हस्तान्तरण गरेको भट्टराईले सुनाएका छन् ।
भट्टराईले बिहीबार सभामुख देवराज घिमिरेलाई पनि बाँसकै कुर्सी र टेबल उपचार दिएका थिए । ‘बाँसजन्य वस्तुको प्रबद्र्धनका लागि आज प्रधानन्यायधिसज्यूलाई बाँसको कुर्सी र टेबल उपहार दिइएको छ’ भट्टराईले भने–‘बाँसलाई उत्पादन र रोजगारीसंग जोड्न स्थानीय हस्तकला तथा सिपलाई राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा पहिचान गराउँदै आयआर्जन वृद्धि गरी रोजगारी सिर्जना गर्ने अभियानलाई सफल नभइन्जेलसम्म विभिन्न गतिविधि सञ्चालन गरिने छ ।’
बाँसले भू–क्षय नियन्त्रण, वातावरण संरक्षण, जलवायू प्रदुषणको नियन्त्रण, पर्यावरणीय संरक्षण तथा अत्याधिक कार्बन सञ्चिती गर्ने भएकाले यसको संरक्षण र प्रबद्र्धन गर्नु पर्ने भट्टराईको भनाई छ ।
स्थानीय उत्पादनको प्रबद्र्धन लगायतका विभिन्न सात सूत्रीय मागलाई सरकारले पूरा नगरेको भन्दै सत्याग्रह बस्ने भन्दै गत साउन ४ गते काठमाडौं हिडेका हुन् । गत जेठ २३ गते र असार ६ गते बाँस लगायतका स्थानीय उत्पादको प्रबद्र्धन गर्नु पर्ने लगायतका विभिन्न सात सूत्रीय माग प्रधानमन्त्री समक्ष पठाएको तर कार्यान्वयन गर्न सरकार उदासीन बनेको भन्दै बाँसको मान्द्रो, गुन्द्री, राडी, पराल, बाँस लगायत बोकेर काठमाडौंतर्फ गएका थिए । उनका अनुसार साउन ११ गते सिंहदरबारको दक्षिण गेटमा कपाल मुण्डन गरी मुखमा कालोपट्टी बाँधेर खाली खुट्टा बाँसको घना बोकेर माइतीघर मण्डला पुगी विहान ९ बजेदेखि ५ बजेसम्म तीन भोक हड्ताल बस्ने छन् । तीन दिनसम्म पनि माग पूरा नगरे साउन १४ गतेदेखि आमरण अनसनमा बस्ने भट्टराईले बताएका छन् । ‘विभिन्न मागलाई सरकारले बेवास्ता गरेकाले सत्याग्रह बस्नु पर्ने अवस्था भएको हो’ भट्टराईले भने–‘तीन दिनसम्म सत्याग्रह बस्ने त्यसले पनि भएन भने आमरण अनसन बस्ने र त्यसले पनि भएन भने आर्यघाटसम्मको यात्रा तय गरेर काठमाडौं हिडेको हुँ।’

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित