नगर प्रमुख भट्टराईको माइतीघर मण्डलामा सत्याग्रह बस्ने घोषणा (भिडिओ सहित)

  • प्रकाशित मितिः साउन ४, २०८२
  • 697 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, साउन ३–स्थानीय उत्पादनको प्रबद्र्धन लगायतका विभिन्न सात सूत्रीय माग राख्दै दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई काठमाडौंको माइतीघर मण्डलामा सत्याग्रह बस्ने भएका छन् । दिक्तेलमा साउन ३ गते पत्रकार सम्मेलन गरी नगरले जेठ २३ गते र असार ६ गते प्रधानमन्त्री समक्ष पठाएको सात सूत्रीय मागबारे वर्तमान सरकार उदासीन देखिएकाले सत्याग्रह बस्नुपर्ने वाध्यता आएको भट्टराईले बताएका हुन् ।
असार ९ गते भएको नगरपालिकाको १३ औ नगरसभाले नेपाल सरकारसमक्ष राखेको विभिन्न सात बुँदे माग पूरा नगरे सत्याग्रह गर्ने निर्णय गरेकाले आगामी साउन ११ गतेदेखि सिंहदरबारको दक्षिण गेटमा कपाल मुण्डन गरी मुखमा कालोपट्टी बाँधेर खाली खुट्टा बाँसको घना बोकेर माइतीघर मण्डला पुगी विहान ९ बजेदेखि ५ बजेसम्म तीन भोक हड्ताल बस्ने भट्टराईले सुनाएका छन् । तीन दिनसम्म पनि माग पूरा नगरे साउन १४ गतेदेखि आमरण अनसनमा बस्ने भट्टराईले बताएका छन् ।
भट्टराईका अनुसार जलवायु परिवर्तनको असरलाई जोगाउन सरकारले ठोस कानुन बनाउदै धेरै प्रदुषण गर्ने देशहरूसंग क्षतिपूर्ति लिनु पर्ने, बाँस र अन्य कच्चा पदार्थ सरकारी कार्यालयमा प्रयोग गर्न विल्डिङ कोड र नम्स तयार गरी कानुनी निर्णय गर्नु पर्ने माग राखिएको छ । त्यस्तै प्लाष्टिकजन्य फोहर उत्पादन गरी प्रदुषण गर्ने उद्योगीसंग स्थानीय तहले अतिरिक्त दश प्रतिशत कर लिन पाउने कानुन बनाउनु पर्ने, जथाभावी प्रकृतिको दोहन गर्ने क्रसर, उद्योग लगायतलाई कडाइका साथ रोकी कडा कानुन बनाई कारबाही गर्नु पर्ने माग गरिएको भट्टराईले जनाएका छन् ।
त्यसैगरी वन र उद्योग मन्त्रालय र मातहतका सबै निकायले फर्निचर खरिद गर्दा बाँस, काठ, राडी, वातावरण र पर्यावरणमत्री फर्निचर र भवन संरचना बनाउने नीतिगत निर्णय गर्नुका साथै खोटाङलाई बाँसको राजधानी घोषणा गर्नु पर्ने, काठमाडौ–खोटाङ सडक खण्डका पुल, सडक अलपत्र पार्ने र्बण व्यवसायीलाई कानुनी कारबाही गरी निर्माणको काम सम्पन्न गर्नु पर्ने र पहाडी भूभागमा बाँदर तथा वन्यजन्तुको आतंकबाट बसाइ सराइको दर बढेकाले नीतिगत निर्णय गरी क्षतिपूर्ति तथा बाँदर व्यवस्थापन गर्नु पर्ने लगायतका माग राखिएको बताएका छन् ।
पत्रकार सम्मेलनमा गत साउन १ गतेदेखि नगरपालिका तथा वडाहरूको लेटरहेडमा किराती लिपी प्रयोग गरिएको जानकारी गराएका छन् । त्यस्तै प्लाष्टिकको झोला, बोतल लगायतका प्रयोगले मानिसलाई रोग लाग्ने तथा जलवायु परिवर्तनमा समेत प्लाष्टिक प्रयोगले असर गर्ने भएकाले साउन १ गतेदेखि नै नगरपालिकामा पानीको बोतल, पेय पदार्थ, प्लाष्टिकको झोला लैजान रोक लगाइएको समेत पत्रकार सम्मेलनमा बताएका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित