नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असार ३२–महालेखा परीक्षण प्रतिवेदनले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मझुवागढी क्षेत्रको बुद्धेश्वर गुफा अगाडि बनाएको भ्युटावर औचित्यहीन भएको औल्याएको छ । प्राकृतिक रूपमै चारैतिर प्रष्ट देख्न सकिने ठाउँमा भ्युटावर निर्माण गरिएकाले त्यसबाट प्राप्त हुने उपलब्धि र मुल्य सिर्जना नभएकाले उक्त संरचना निर्माणको औचित्यमाथि प्रश्न उठाएको हो ।
उपलब्धि र उत्पादकत्वलाई ध्यानमा राखेर मात्र यस्ता खाले संरचना निर्माण गर्नु पर्ने समेत आर्थिक वर्ष २०८०÷८१ को प्रतिवेदनले सुझाएको छ । उक्त भ्युटावर निर्माणका लागि आर्थिक वर्ष २०८०÷८१ मा कोशी प्रदेशको ६५ र नगरपालिकाको ३५ प्रतिशत गरी एक करोड ३६ लाख ८४ हजार विनियोजन भएको मध्ये ९६ लाख ६६ हजार दुई सय ८९ रूपैयाँ खर्च भएको छ । उक्त योजनाको मादी आर के डी कन्स्ट्रक्सन प्रालि इटहरीले ठेक्का लिएको थियो ।
डिपिआर बन्नअघि नै निर्माणको काम थालिएको समेत प्रतिवेदनले औल्याएको छ । कालिका भगवती तथा मझुवागढी सौन्दर्यकरण योजनाका लागि साउथ एसियन टुरिजम एड्भाइजर्स एण्ड इन्जिनियरिङ कन्सल्टेण्ट प्रालिले डिपिआर निर्माणको जिम्मा लिएको थियो । उक्त डिपिआर निर्माण नसकी भ्युटावरको काम थालिएको प्रतिवेदनले औल्याएको हो । उक्त डिपिआरको प्रतिवेदन २०८१ बैशाख ७ गते मात्र नगरपालिकाले प्राप्त गरे पनि २०८० माघ ९ गते नै भ्युटावर निर्माणका लागि मादी आर के डी कन्स्ट्रक्सन प्रालि इटहरीसंग संझौता गरेको देखिन्छ ।
उक्त भ्युटावर निर्माण गरिएको जग्गा देविस्थान सामुदायिक वनको भएको नगरपालिकाले दाबी गरेपनि स्थानीयले भने सामुदायिक वनको साथै व्यक्तिको समेत जग्गामा भ्युटावर बनेको गुनासो गरेका छन् । उक्त संरचना कसको जग्गामा निर्माण गरिएको भन्ने नगरपालिकाकै अमिनलाई समेत थाहा छैन । उक्त संरचना निर्माण गर्नुअघि आफूसंग परामर्श पनि नलिएकाले कसको जग्गामा बन्यो भन्ने थाहा पनि नभएकाले नगरका अमिन सुमनकुमार देवले बताएका छन् । जग्गाको एकीन नगरी संरचना बनाइएकाले त्यसको छिनोफानो गर्नु पर्ने स्थानीयको गुनासो छ ।
उक्त सामुदायिक वन उपभोक्ता समूहसंग संरचना निर्माणपछि त्यसको स्वामित्व कसको हुने, प्राप्त हुने आम्दानी कसले कसरी उठाउने जस्ता विषयको निक्र्यौल नगरी तथा सामुदायिक वन क्षेत्रमा संरचना निर्माण गर्न नेपाल सरकारबाट स्वीकृति लिनु पर्नेमा नलिई निर्माण कार्य गरेको समेत महालेखा परीक्षण प्रतिवेदनले औल्याएको छ ।
नगरपालिकाले आफूहरूलाई संलग्न नगराई मझुवागढी क्षेत्रको डिपिआर निर्माण गरेको भन्दै किरात राई यायोक्खा लगायत किराती समुदायसंग सम्बन्धित संघ–संस्थाहरूसंग आबद्धहरूले विरोध जनाएका छन् । ऐतिहासिक सांस्कृतिक धरोहर मझुवागढी क्षेत्रको डिपिआर निर्माणमा सहभागी नगराएको किरात राई यायोक्खा खोटाङका अध्यक्ष युगसन किरातले बताएका छन् ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रवक्ता दिनेशकुमार घिमिरेले भने भरसक सबैलाई सहभागी गराउन कोसिस गरिएको दाबी गरेका छन् । ‘सबैलाई सहभागी गराउने कोसिस गरियो, कसै–कसैलाई खबर गर्न छुटेको हुन सक्छ ।’
स्थानीयले समेत अनुत्पादक क्षेत्रमा लगानी गरेको भन्दै विरोध गर्दै आएका छन् । बुद्धेश्वर गुफा अगाडि सुन्दर प्राकृतिक संरचना कूरूप देखिने गरी भ्युटार बनाइएको खोटाङ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष राजु लयालुले बताएका छन् ।
नगरपालिकाले मझुवागढीको बङ्करभित्रै खानेपानी ट्याङ्की, मझुवागढीको पश्चिमतर्फको वन मासेर कङ्क्रिटको पर्खाल र मझुवागढीको वाबु परिसरमा कङ्क्रिट बिच्छ्याइएकाले गढीको अस्तित्व संकटमा परेको संस्कृतिविदहरूको गुनासो छ । यस्तो ऐतिहासिक क्षेत्रलाई आक्रमण गर्नैका लागि कस्मेटिक योजना सञ्चालन गरिएको उनीहरूको गुनासो छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २५–भारतको म�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २५–साकेला ग�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २५–जिल्लाक�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २५–जन्तेढु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २३–भारतको म�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित