दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका उपप्रमुख विसन राईले २०८२ असार ९ गते प्रस्तुत गरेको बजेट तथा कार्यक्रम (भिडिओ सहित)

  • प्रकाशित मितिः असार ९, २०८२
  • 704 पटक पढिएको
  • संवादताता

आ.व.२०८२।८३ को बार्षिक बजेट तथा कार्यक्रम

यस गरीमामय नगरसभाका आदरणीय सभाध्यक्ष महोदय,

सभाका आदरणीय सदस्यज्यूहरु,

राष्ट्रसेवक कर्मचारीहरु, सञ्चारकर्मी एवं समस्त नगरवासी महानुभावहरु,

आर्थिक वर्ष २०८२/०८३ को बार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्न म यस गरिमामय नगरसभामा उपस्थित भएको छु । सर्वप्रथम राष्ट्रियता र भौगोलिक अखण्डतालाई अक्षुण्ण राख्दै लोकतान्त्रिक शासन प्रणाली स्थापना र जातीय तथा वर्गीय विभेद अन्त्य गर्ने अभिलाशाका साथ राष्ट्र र राज्य निर्माणको संघर्षपूर्ण दौरानमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने ज्ञात अज्ञात सहिदहरू प्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दछु। दशवर्षे जनयुद्ध, मधेश आन्दोलन, जनआन्दोलन लगायत अधिकार प्राप्तिसँग जोडिएको सम्पूर्ण आन्दोलनमा घाईते तथा अपाङ्ग हुनु भएका देशभक्तहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै उहांहरूको योगदान प्रति उच्च सम्मान प्रकट गर्न चाहन्छु ।

सभाध्यक्ष महोदय तथा सदस्यज्यूहरु,

हाम्रो नगर र हामी नगरवासी अवसरै अवसर र संभावनाको पहाड माथी उभिएका छौं । यिनै सम्भावनाहरुलाई उपयोग गरेर सिमित स्रोत साधनको वैज्ञानिक परिचालन र अन्य संघीय इकाईहरुसँगको सहकार्यबाट यो नगरपालिकालाई विकसित र समृद्ध बनाउने सोचका साथ आर्थिक वर्ष २०८२।८२ को यो बजेट तथा कार्यक्रम यस गरीमामय सभामा प्रस्तुत गर्न गईरहेको छु ।

हामिलाई प्रकृतिले अथाह सम्पत्ति दिएको छ । हामिले प्रकृति प्रद्धत श्रोत साधनको उचित व्यवस्थापन र परिचालनद्धारा नगरको संवृद्धी सुनिस्चित गर्नुपर्दछ । यसका लागी निम्नानुसार कार्यक्रम राखिएको छ ।

  • आर्थिक बर्ष २०८०।०८१ को आय र व्ययको यथार्थ विवरण:-
    • आर्थिक बर्ष २०८०/०८१ को आन्तरिक आय (राजस्व) बाट प्राप्त रकम रु. १ करोड २३ लाख २४ हजार ८ सय ५५ ।
    • अघिल्लो वर्ष खर्च नभएको अल्या रकम रु. ४ करोड ५२ लाख ४७ हजार ७ सय ५ ।
    • संघीय सरकार राजश्व बाँडफाँडबाट प्राप्त रु. ११ करोड २३ लाख ६८ हजार ६ सय ३५, प्रदेश सरकार राजश्व बाँडफाँडबाट प्राप्त रु. २ करोड ४७ लाख ५ हजार ५ सय २० र स्थानीय राजश्व बाँटफाँड रु. ३ लाख ८३ हजार २९ गरी राजश्व बाँडफाँडबाट प्राप्त जम्मा रु. १३ करोड ७४ लाख ५७ हजार १ सय ८५ ।
    • संघीय सरकारको वित्तीय समानीकरण अनुदान रु. १३ करोड १० लाख ३७ हजार, संघीय शसर्त अनुदान चालु रु. ४७ करोड ७९ लाख ६ हजार, शसर्त पुँजिगत अनुदान रु. ५ करोड ८५ लाख, समपूरक अनुदान रु. ९० लाख,  विशेष अनुदान रु. १ करोड ३५ लाख गरी जम्मा प्राप्त रु. ६८ करोड ९९ लाख ४३ हजार ।
    • प्रदेश सरकारबाट समानीकरण अनुदान रु. ८९ लाख ६८ हजार, सशर्त अनुदान चालु रु. ६८ लाख २३ हजार, शसर्त अनुदान पुँजीगत रु. १ करोड ८८ लाख ९४ हजार र समपूरक अनुदान रु. १ करोड ३० लाख गरी जम्मा प्राप्त अनुदान रु. ४ करोड ७६ लाख ८५ हजार ।
    • वास्तविक कुल आय रु. ९३ करोड २६ लाख ५७ हजार ७ सय ४४ मध्ये ८३ करोड ६७ लाख ६४ हजार २ सय १७ खर्च भएको । यो विनियोजित बजेटको ८५.११ प्रतिशत हुन आउँछ।
  • चालु आर्थिक बर्ष २०८१।०८२ को आय र व्ययको संशोधित अनुमान:-
    • चालु आर्थिक बर्ष २०८१।०८२ को संशोधित अनुमान रु. ९९ करोड ३८ लाख ९२ हजार ९ सय ९५ हुन गएको छ ।
    • सो रकम मध्ये समानीकरण अनुदान रु. १४ करोड १५ लाख, शसर्त अनुदान चालु रु. ४७ करोड ६६ लाख १२ हजार, शसर्त अनुदान पुँजीगत रु. ५ करोड ७ लाख ८२ हजार र समपुरक अनुदान रु ५० लाख गरी जम्मा संघीय अनुदान रु. ६६ करोड ८८ लाख ९४ हजार, त्यसैगरी प्रदेश अनुदान तर्फ समानीकरण अनुदान रु. ८९ लाख ४२ हजार, शसर्त अनुदान चालु रु. ७६ लाख ६१ हजार, शसर्त अनुदान पुँजीगत रु. ७ करोड ४५ लाख २३ हजार र समपुरक अनुदान रु. १ करोड ३० लाख गरी जम्मा प्रदेश अनुदान १० करोड ४१ लाख २६ हजार रहेको छ । कुल संशोधित बजेट रु. ९९ करोड २१ लाख २८ हजार हुन गएको छ।
    • आन्तरिक आय (राजस्व) तर्फ रु. २ करोड अनुमान गरिएकोमा २०८२ असार ८ गतेसम्म रु. १ करोड २३ लाख ४३ हजार ७ सय ६७ मात्र प्राप्त भएको छ ।
    • संघीय सरकार तर्फको राजश्व बाँडफाँडबाट रु. १४ करोड ६ लाख प्राप्त हुने अनुमान गरिएकोमा हालसम्म रु. १० करोड ९२ लाख २८ हजार ६२ मात्र प्राप्त हुन आएको छ।
    • प्रदेश सरकार राजश्व बाँडफाँडबाट रु. १ करोड ८४ लाख ८१ हजार प्राप्त हुने अनुमान गरिएकोमा हालसम्म रु. १ करोड ८५ लाख ८३ हजार ९ सय २८ प्राप्त भएको छ।
    • स्थानीय राजश्व बाँडफाँडबाट रु. ३६ लाख ५४ हजार प्राप्त हुने अनुमान गरिएकोमा हालसम्म रु. ३० लाख १ हजार ३ सय ८५ प्राप्त भएको छ।
    • कुल संशोधित बजेट रु. ९९ करोड ३८ लाख ९२ हजार ९ सय ९५ मध्ये २०८२ असार पहिलो सातासम्म पूँजीगत तर्फ रु. १६ करोड ४१ लाख ९४ हजार र चालु तर्फ रु. ५४ करोड २४ लाख ९२ हजार गरी जम्मा रु. ७० करोड ६६ लाख ८७ हजार खर्च भएको छ। जसमा पुँजीगत तर्फ .४६ प्रतिशत, चालु तर्फ ७५.५७ प्रतिशत र समग्रमा कुल बजेटको ७१.१० प्रतिशत खर्च भएको छ ।

सभाध्यक्ष महोदय, तथा सदस्यज्यूहरु,

अब म आर्थिक वर्ष २०८२/०८३ को बजेटका उद्देश्य तथा प्राथमिकताहरु प्रस्तुत गर्न गईरहेको छु ।

बजेटका उद्देश्यहरु :-

  • दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई बाँसको राजधानीको रुपमा विकास गर्ने
  • कफि खेतिको लागि व्यवसायिक हवको रुपमा विकास गर्ने
  • “उत्पादनमा कृषकको साथ, कोही पनि नबसौं खालि हात”
  • शिक्षा क्षेत्रको गुणस्तर सुधारका लागि विद्यालयहरुलाई एकीकरण गर्ने
  • स्वास्थ्य क्षेत्रको सेवा गुणस्तरमा सुधार ल्याउने
  • दिगो, गुणस्तरीय र पर्यावरणमैत्री विकास गर्ने
  • विभिन्न वर्ग, लिङ्ग, सम्प्रदाय, क्षेत्र र जातजातिको समावेशी र समन्यायिक विकास गर्ने
  • समग्र क्षेत्रको सुधार गर्दै सुशासनमैत्री नगरको रुपमा विकास गर्दै लैजाने

बजेटका प्राथमिकताहरु :-

  • कृषि र पर्या-पर्यटन क्षेत्रलाई प्रमुख आर्थिक गतिविधि मानि गरिने विकासका योजना तथा कार्यक्रमहरु
  • शिक्षा क्षेत्र सुधारलाई मुख्य प्राथामिकतामा राखि आयोजना तथा कार्यक्रमहरु
  • स्वास्थ्य क्षेत्रको गुणस्तर सुधार ल्याउने योजना तथा कार्यक्रमहरु
  • स्थानीय गौरवका आयोजनाहरु
  • आर्थिक पारदर्शिता एवं जवाफदेहीता सहित सुशासन युक्त-भ्रष्टाचार मुक्त नीतिसँग सम्बन्धित कार्यक्रमहरु
  • विपद् व्यवस्थापन सम्बन्धि कार्यक्रमहरु
  • लक्षित वर्गसँग सम्बन्धित कार्यक्रमहरु
  • मेरो नगर-म बनाउँछु भन्ने नीतिलाई कार्यान्वयन गर्न जनश्रमदानलाई प्रोत्साहित गर्ने, रोजगारी वृद्धि गर्ने, स्थानीय कृषि उत्पादनमा वृद्धि र बजारीकरण गरी स्वाबलम्बी र आत्मनिर्भर गाउँ बनाउने आयोजना तथा कार्यक्रमहरु
  • संघीय तथा प्रादेशिक आवधिक योजना, दिगो विकास लक्ष्य, आवधिक नगर विकास विकास योजनाले निर्देशन गरेका कार्यक्रमहरु

उल्लेखित उद्धेश्य तथा प्राथमिकताका आाधारमा यस नगरपालिकाको आर्थिक वर्ष २०८२।०८३ को बजेट सारमा प्रस्तुत गर्दछु ।

१) आयतर्फः

क) नगरपालिकाको आन्तरिक आय रु. २ करोड २० लाख  रहने अनुमान छ । आन्तरिक राजस्व तथा गैर राजस्वका दरमा सामान्य परिवर्तन गरिएको छ। जुन अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न वनेको विधेयक, २०८१ मा प्रस्तुत गरेको छु ।

ख) संघीय सरकार राजस्व बाँडफाँडबाट रु. १२ करोड ६७ लाख २८ हजार ६ सय ७८, प्रदेश सरकार राजश्व बाँडफाँडबाट रु. १ करोड २६ लाख ६२ हजार र स्थानीय राजश्व बाँडफाँटबाट रु. १ करोड गरी राजश्व बाँडफाँडबाट जम्मा रु. १४ करोड ९३ लाख ९० हजार ६ सय ७८ प्राप्त हुने अनुमान गरेको छु ।

ग) संघीय सरकारबाट प्राप्त हुने अनुदात तर्फः वित्तिय समानीकरण अनुदान रु. १४ करोड ६१ लाख, समपूरक अनुदान रु. १ करोड, सशर्त अनुदान चालु रु. ४९ करोड ९७ लाख, शसर्त अनुदान पुँजीगत रु. १ करोड ९७ लाख गरी जम्मा रु. ६९ करोड २० लाख प्राप्त हुने अनुमान गरेको छु ।

घ) प्रदेश सरकारबाट प्राप्त हुने अनुदान तर्फः वित्तिय समानीकरण अनुदान रु. १ करोड ३६ लाख ८९ हजार, समपूरक अनुदान रु. १ करोड, सशर्त अनुदान चालु रु. १ करोड १७ लाख ५३ हजार र शसर्त अनुदान पुँजीगत रु. ५ करोड १४ गरी जम्मा रु. ८ करोड ६८ लाख ४२ हजार प्राप्त हुने अनुमान गरेको छु ।

ङ) चालु आ.व. ०८१/८२ मा खर्च नभई बचत हुने अल्या रकम रु. ७ करोड ९० लाख १ हजार ७ सय १२ अनुमान गरेको छु ।

माथि उल्लेखित श्रोतहरूबाट आर्थिक वर्ष २०८२।०८३ को कुल बजेट रु. १ अर्ब २ करोड ९२ लाख ३४ हजार ३ सय ९१  हुने अनुमान गरेको छु।

२) विनियोजनतर्फः

क)     संघीय सशर्त अन्तर्गत चालु कार्यक्रम तर्फ रु. ४९ करोड ९७ लाख र संघीय सशर्त अन्तर्गतकै पुँजीगत कार्यक्रम तर्फ रु. १ करोड ९७ लाख विनियोजन गरेको छु।

ख)    संघीय समपूरकबाट संचालित आयोजनाहरुको लागि रु. १ करोड र प्रदेश समपूरकबाट संचालित आयोजनाहरुको लागि रु. १ करोड विनियोजन गरेको छु ।

ग)      प्रदेश सशर्त अन्तर्गत चालु कार्यक्रम तर्फ रु. १ करोड १७ लाख ५३ हजार र प्रदेश शसर्त अन्तर्गतकै पुँजीगत कार्यक्रम तर्फ रु. ५ करोड १४ लाख विनियोजन गरेको छु।

घ)     संघीय तथा प्रदेश शसर्त अनुदान साझेदारी कार्यक्रमको लागी रु. २ करोड विनियोजन गरेको छु।

ङ)     वडागत तर्फ पूँजीगत र चालु योजना तथा कार्यक्रमहरूका लागि रु. ७ करोड १४ लाख विनियोजन गरेको छु।

च)     भुक्तानी दिन बाँकी दायित्व रकमको लागि जम्मा रु. २ करोड विनियोजन गरेको छु।

छ)     कार्यालयतर्फ प्रशासनिक तथा कार्यक्रम खर्च रु. १४ करोड, विषयगत कार्यक्रम तर्फ खर्च रु. २ करोड ९२ लाख ४२ हजार ५ सय ४९, नगरस्तरीय योजना तथा कार्यक्रमको लागी रु. ४ करोड, साझा योजना तथा कार्यक्रम तर्फ ४ करोड र विभिन्न कार्यक्रमको लागत साझेदारी, विपद् व्यवस्थापन कोष, आर्थिक सहायता, फोहोरमैला व्यवस्थापन, खेलकुद प्रवर्द्ध लगायत नियमित योजना तथा कार्यक्रमहरुलाई ४ करोड ९५ लाख ३८ हजार ४ सय ८१ हजार विनियोजन गरेको छु।

विषयगत विनियोजन तर्फ

१) आर्थिक विकासः

कृषि तथा पशुपन्छी क्षेत्रलाई प्राथमिकतामा राख्दै "मेरो नगर-म बनाउँछु" भन्ने नीतिलाई आत्मसाथ गरिनेछ। अर्गानिक नगर निर्माण अभियानलाई निरन्तरता दिईनेछ । वन पैदावार लगायतका स्थानीय स्रोत साधन तथा मौलिक सीपमा आधारित लघु, घरेलु तथा साना उद्योग स्थापनामा प्रोत्साहन गरिनेछ । पर्या-पर्यटनलाई आत्मसात गर्दै पर्यटन क्षेत्रलाई आर्थिक विकासको मुल आधारको रुपमा राख्दै प्राथामिकताका साथ विकास गरिनेछ ।

कृषि तथा पशुपन्छी

  • व्यवसायिक कफि खेति प्रवर्द्धनका लागि रु. १ करोड विनियोजन गरेको छु।
  • स्थानीय उत्पादनको बजारीकरणका लागि रु. १९ लाख बजेट विनियोजन गरेको छु ।
  • मुढेमा चिस्यान केन्द्र निमार्णको लागि रु. २० लाख बजेट विनियोजन गरेको छु ।
  • रैथाने वाली संरक्षण कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
  • बाँदरबाट हुने क्षति न्यूनीकरण गर्दै वैकल्पिक बाली प्रवर्द्धन कार्यक्रमका लागि रु.३० लाख बजेट विनियोजन गरेको छु ।
  • प्रांगारिक खेती प्रवर्द्धनका लागि रु. १० लाख बजेट विनियोजन गरेको छु ।
  • कृषि कर्जाको व्याज अनुदानका आवश्यक बजेट विनियोजन गरेको छु ।
  • प्याज र बेसार उत्पादक कृषकलाई उत्पादनमा आधारीत अनुदान कार्यक्रमलाई निरन्तरता दिँदै आवश्यक बजेट विनियोजन गरेको छु ।
  • बालि संरक्षण तथा तरकारी उत्पादनका लागी विउ विजन वितरण गर्न आवश्यक बजेट विनियोजन गरेको छु ।
  • जनतालाई सुनौ उप मेयर कार्यक्रमलाई निरन्तरता दिँदै आवश्यक बजेट विनियोजन गरेको छु ।
  • घुम्ती पशु पंक्षी स्वास्थ्य शिविरका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
  • बंगुर र बाख्रा प्रवर्द्धनका लागि रु. १८ लाख बजेट व्यवस्था गरेको छु ।
  • पशुपंक्षी महामारी रोग नियन्त्रण र खोपका लागी लजिष्ट खरिदका लागी आवश्यक वजेट विनियोजन गरेको छु ।
  • तेलहन बाली प्रवर्द्धन कार्यक्रमलाई निरन्तरताको लागी बजेटको व्यवस्था गरेको छु।
  • मौरी प्रवर्द्धन कार्यक्रमका लागि बजेटको व्यवस्था गरेको छु।
  • कम्पोष्ट प्लान्ट तथा नमुना कृषि स्रोत केन्द्रलाई आवश्यक अध्ययन गरी थप व्यवस्थित गरिनेछ।
  • उन्नत खाद्यान्न बालीको बीउ उपयोगमा अनुदानको व्यवस्था गरेको छु।
  • कृतिम गर्भाधान मिसन कार्यक्रम कार्यान्वयन, औषधी तथा उपकरण खरिदका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु।
  • दुधमा आत्मनिर्भर हुनका लागी गाई तथा भैसी पकेट तथा स्रोत केन्द्र संचालनका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
  • कृषिसँग सम्बन्धित विषेश बाली उत्पादन र प्रोत्साहनका लागी आवश्यक बजेट विनियोजन गरेको छु ।
  • कृषि तथा पशुपालन क्षेत्रको उत्पादन र उत्पादकत्व बृद्धि गर्न कृषि तथा पशुपन्छी विकास कार्यक्रम अन्तर्गत रु. ३ करोड १२ लाख विनियोजन गरेको छु ।

सिंचाई

  • खेतियोग्य जमिनमा बाह्रै महिना सिंचाई सुविधा पुर्याउने उद्देश्यका साथ साना तथा मझौला सिंचाई आयोजनाहरू तर्फ संघ, प्रदेश र नगरपालिकाको समेत साझेदारी रहने गरी आवश्यक बजेट विनियोजन गरेको छु ।

रोजगारी तथा लघु उद्यम

  • वैदेशिक रोजगारीमा गएर फर्केका व्यक्तिहरुका लागी पून:एकिकरण परियोजनाका लागी संघ र नगरपालिकाको लागत साझेदारीमा रु. ६६ लाख र वैदेशिक रोजगारीमा जान चाहने युवाहरूलाई लक्षित गरी सुरक्षित आप्रवासन परियोजना अन्तर्गत रोजगार प्रबर्द्धन कार्यक्रम (SaMI) अन्तर्गत रू. २६ लाख विनियोजन गरेको छु। 
  • स्थानीय स्रोत साधन परिचालन गरी रोजगारी प्रवर्द्धन गर्ने पवित्र उद्धेश्यले लघु उद्यम विकास कार्यक्रम तर्फ आवश्यक बजेट विनियोजन गरेको छु।
  • स्थानीय श्रोत साधनवाट निर्मित फर्निचर लगायतका वस्तुहरुको प्रयोगमा जोड दिईनेछ ।
  • बाँस उद्यम प्रवर्द्धनको लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
  • नगरपालिका भित्रका सूचीकृत बेरोजगारहरूलाई रोजगारीको सुनिश्चितता गर्न राष्ट्रिय रोजगार कार्यक्रमको लागि आवश्यक बजेट विनियोजन गरेको छु।

पर्यटन पूर्वाधार

  • कालिका भगवति तथा मझुवागढी सौन्दर्यकरण निरन्तरताको लागी रु. १ करोड ५४ लाख विनियोजन गरेको छु।
  • बुईपामा प्रदेश सरकारसंगको सहकार्यमा निर्माण हुने विश्वकै सबैभन्दा अग्लो यलम्बरको मूर्ति निर्माण कार्यलाई निरन्तरता दिन रू. २ करोड ८५ लाख विनियोजन गरेको छु ।

२) सामाजिक विकासः

नगरवासीलाई सर्वसुलभ स्वास्थ्य सेवा र पोषणमा पहुँच वृद्धि गर्ने लक्ष्य रहेको छ। शिक्षा क्षेत्रमा देखिएका समस्याहरू हल गर्ने तथा समग्र सुधार गर्ने नीति लिईएको छ। नगरवासीलाई स्वच्छ पिउने पानी तथा सरसफाइको सुविधामा पहुँच बृद्धि गर्दै लाने उद्देश्य लिईएको छ। खेलकुदको विकास, युवा परिचालन एवं प्रवर्द्धन गर्दै लगिनेछ। भाषा, संस्कार, संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि खोज, अध्ययन, अनुसन्धानहरू गरिनेछ। लैङ्गिक समानता, सामाजिक समावेशीकरण सुनिश्चित गरी समावेशी विकास गर्ने लक्ष्य लिईएको छ।

शिक्षाः

  • नगर प्रमुखसँग विद्यार्थी कार्यक्रमलाई निरन्तरता दिँदै आवश्यक बजेट विनियोजन गरेको छु ।
  • डिजिटल शिक्षा विकास तथा शैक्षिक सुधार परियोजना सञ्चालनको लागि रु. १ करोड ६५ लाख बजेट विनियोजन गरेको छु ।
  • अहिलेको नयाँ प्रविधि र युगको आवश्यकतालाई मध्यनजर गर्दै विभिन्न विश्व विद्यालय, कलेज, नीजि क्षेत्र, संघ-संस्थासँग सहकार्य गर्दै "प्रविधिको उपयोग र ज्ञान-नगरको शान- विद्यार्थीको सम्मान" भन्ने नाराका साथ शिक्षालाई ए.आई. प्रविधिसँग जोड्न सुरुवातीको लागि आवश्यक बजेट व्यवस्था गरेको छु ।
  • प्रारम्भिक बाल विकास सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय लेखा कर्मचारीहरुको पारिश्रमिकका लागि नगरपालिकाको तर्फबाट आवश्यक बजेट विनियोजन गरेको छु ।
  • विद्यालयमा जीवनउपयोगी शिक्षा कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
  • प्रसुति सट्टा शिक्षक व्यवस्थापनको लागि आवश्यक बजेटको व्यवस्था गरेको छु ।
  • नगरपालिका भित्रका विभिन्न विद्यालयहरुको मर्मत, पुँजिगत सुधार र घेरावारा गर्न आवश्यक बजेट विनियोजन गरेको छु ।
  • सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको स्वास्थ्यलाई ध्यानमा राखी शैक्षिक गुणस्तर र विद्यार्थी उपस्थिति दर सुधारको लागि सेनेटरी प्याड खरिद र दिवा खाजा कार्यक्रमलाई विस्तार गर्न बजेटको व्यवस्था गरेको छु ।
  • विद्यालय शैक्षिक सुधार तथा सुशासन प्रवर्द्धनको लागी आवश्यक बजेट विनियोजन गरेको छु ।
  • उच्च शिक्षा अध्ययन गर्ने दलित, जेहेन्दार तथा गरीब विद्यार्थीहरुका लागी छात्रवृती उपलव्ध गराउन आवश्यक बजेट विनियोजन गरेको छु ।
  • शिक्षा क्षेत्रमा सबैको पहुंच पुर्याई शैक्षिक गुणस्तर सुधारको लागि शिक्षा क्षेत्रमा रु. ४१ करोड ३० लाख २९ हजार ४ सय ६० विनियोजन गरेको छु।

 युवा तथा खेलकुदः

  • दि.रु.म.न.पा. भित्रका विभिन्न खेलमैदान तथा खेलकुद पुर्वाधारहरु निर्माण तथा स्तरोन्नती गर्न आवश्यक बजेट व्यवस्थापन गरेको छु ।
  • माटिकोरे रंगशाला निर्माणको निरन्तरताको लागि आवश्यक बजेटको व्यवस्था गरेको छु ।
  • विद्यालय तहमा अध्ययनरत विद्यार्थीहरुको सर्वाङ्गीण विकासको लागी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको लागी आवश्यक वजेट विनियोजन गरेको छु ।
  • मेयर कप फुटबल, भलिवल, नगरभित्रका प्रतिष्ठित खेलकुद प्रतियोगिता संचालन गर्न, ग्रासरुट फुटवल प्रशिक्षण, सितेरियो करांते र व्याडमिण्टन खेलकुदको लागि आवश्यक बजेटको व्यवस्था गरेको छु।

स्वास्थ्यः

  • सामुदायिक स्वास्थ्य प्रवर्द्धन गर्न विद्यालय स्वास्थ्य तथा नर्सिङ कार्यक्रम सञ्चालनको लागि रु. १७ लाख २७ हजार बजेट विनियोजन गरेको छु ।
  • “म स्वस्थ, मेरो समुदाय स्वस्थ” नारा सहित घर/टोल स्वास्थ्य प्रवर्द्धनको लागि आवश्यक बजेट व्यवस्थापन गरेको छु ।
  • जनसेवा नगर अस्पताल संचालनको लागि बजेट विनियोजन गरेको छु ।
  • नेपाल सरकारद्वारा निःशुल्क वितरण गर्ने भनी तोकिएका औषधिहरू नगरका स्वास्थ्य संस्थाहरूबाट निःशुल्क उपलब्ध गर्न र स्वास्थ्य सेवा सुदृढीकरण गर्न औजार उपकरणका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु।
  • महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई प्रोत्साहन स्वरुप मासिक रु. १००० उपलब्ध गर्न बजेटको व्यवस्था गरेको छु।
  • जोखिम गर्भावस्था, प्रसुती, सुत्केरी तथा नवजात शिशुहरूलाई स्वास्थ्य संस्थाहरूबाट रेफर भएमा एकतर्फी यातायात खर्च उपलब्ध गराउन आवश्यक बजेटको व्यवस्था गरेको छु।
  • गर्भवती तथा सुत्केरी महिलाहरूलाई निःशुल्क फोलिक एसिड तथा क्याल्सियम चक्की वितरण गर्नका लागि आवश्यक व्यवस्था गरेको छु।PNC HOME VISIT कार्यक्रमलाई निरन्तरता दिएको छु।
  • स्वास्थ्य संस्थाहरुलाई प्रविधिमैत्री बनाउन बजेटको व्यवस्था गरेको छु ।
  • प्रशुती सेवा विस्तारको लागि बजेटको व्यवस्था गरेको छु ।
  • रेडक्रससँगको सहकार्यमा रक्त संचार केन्द्रलाई प्रभावकारी रूपमा संचालन गर्न निरन्तरता दिँदै आवश्यक बजेटको व्यवस्था गरेको छु।
  • कुपोषणको अबस्थामा सुधार ल्याउन बहुक्षेत्रीय पोषण योजना कार्यक्रमलाई निरन्तरता दिन व्यवस्था मिलाएको छु ।
  • स्वास्थ्य सेवामा सबैको पहुँच पुर्याई स्वास्थ्य सेवाको स्तरोन्नति कार्यको लागि स्वास्थ्य तथा पोषण क्षेत्रमा रु. ८ करोड २५ लाख विनियोजन गरेको छु।

खानेपानी

  • स्वच्छ खानेपानी विस्तार तथा पहुँच वृद्धिका लागि आवश्यक रकम विनियोजन गरेको छु।

महिला,बालबालिका, जेष्ठ नागरिक तथा समाजकल्याण

  • समावेशी र समतामूलक विकास र शसक्तिकरणको लागि महिला,बालबालिका तथा जेष्ठ नागरिक विकास कार्यक्रमको लागी रु. १४ लाख ४९ हजार ९ सय विनियोजन गरेको छु।
  • अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको निरन्तरताको लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
  • सरोकारवाला निकायहरुसँगको सहकार्यमा बालमैत्री स्थानीय तह घोषणा कार्यक्रमको लागि आवश्यक बजेट व्यवस्थापन गरेको छु ।
  • विपन्न तथा अभिभावक गुमाएका वालवालिकालाई संरक्षणको कार्यक्रम संचालन गरिनेछ ।
  • नगर तथा मावि स्तरीय बालक्लब गठन गरिने छ।
  • महिला लक्षित विपन्न तथा एकल महिलाहरुका लागि आय-आर्जन कार्यक्रम सञ्चालनको लागिआवश्यक व्यवस्थापन मिलाएको छु ।
  • जेष्ठ नागरीक, अपाङ्गता, एकल महिला र दलित वालवालिका लगायतका व्यक्तिहरुलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्न संघीय अनुदान अन्तर्गत आवश्यक बजेट विनियोजन गरेको छु ।
  • आमा समूह तथा कृषक महिलाहरुलाई आवश्यकताको आधारमा सामाग्री वितरणको लागी आवश्यक वजेट विनियोजन गरेको छु ।

भाषा, संस्कार, संस्कृति तथा संरक्षणः

  • विभिन्न भाषा, संस्कार, संस्कृतिको संरक्षण तथा सम्वर्ध्दनको लागि आवश्यक बजेट विनियोजन गरेको छु।

३) पूर्वाधार विकासः

नगर क्षेत्र भित्रका सडकहरूमा बाह्रै महिना यातायात सञ्चालन हुने गरी सडकको स्तरोन्नती कार्यलाई  प्राथमिकता दिईनेछ।नगरले आफ्नो लगानीमा निर्माण गर्न नसक्ने खालका ठूला पूर्वाधार आयोजनाहरूको लागि संघ, प्रदेश तथा अन्तर्गतका निकायहरूमा बजेटका लागि पहल गरिनेछ। नगरका स्थानीय गौरवका आयोजनाहरूलाई प्राथमिकता दिईनेछ। विद्युत विस्तार तथा वैकल्पिक उर्जा प्रयोगमा जोड दिईनेछ।

  • नगरको गौरवको आयोजना दिक्तेल-खार्मी-पाथेका-केपिलासगढी सडक स्तरोन्नतिको लागि संघ र नगरपालिकाको लागत साझेदारीमा रु. २ करोड विनियोजन गरेको छु ।
  • छेपेखोला लैकुखोला डल्ले खोला झोलुङ्गे पुल निमार्णको लागि रु. ६ लाख विनियोजन गरेको छु ।
  • लप्से पञ्चमी सिँचाई आयोजनाको लागि रु. २० लाख विनियोजन गरेको छु ।
  • विगत र चालु आवमा सुरु भएका आयोजनाहरू आगामी आ.व.मा सम्पन्न गर्न तथा निरन्तरता दिनको लागि आवश्यक रकम विनियोजन गरेको छु।
  • नगरभित्रका मुख्य कच्चि सडकहरु बाह्रै महिना संचालन हुने गरी स्तरोन्नती गर्नको लागी रोलर र व्याक हु-लोडर निरन्तर संचालन गरिने छ ।
  • नागरिक श्रमदान अभियानलाई प्रभावकारी कार्यान्वयन गरिने छ ।
  • नगरस्तरीय योजनाहरू संचालनका लागि बजेटको व्यवस्था गरेको छु।
  • नगरमा नयाँ निर्माण हुने संरचनाहरूको गुणस्तर कायम गर्नको लागी आवश्यक व्यवस्था गरेको छु।
  • विद्यालय, स्वास्थ्य चौकी तथा सामुदायिक भवनहरु आवश्यकताका आधारमा व्यवस्थापन गर्दै स्तरोन्नतीका लागि पहल गरिने छ ।
  • नविकरणीय उर्जा प्रविधिहरू (लघु तथा साना जलविद्युत, सौर्य उर्जा, वायोग्यास, वायोमास उर्जाको उत्पादन र प्रयोग ) मार्फत उर्जा उत्पादन र प्रयोगको लागि आवश्यक बजेट विनियोजन गरेको छु।

४) वन-वाताबरण, विपद व्यवस्थापन तथा सरसफाई र सामाजिक सुरक्षा तथा संरक्षण :

  • फोहरमैलाको व्यवस्थित विसर्जनका साथै यस नगरलाई अर्गानिक नगर बनाउने उद्देश्य अनुसार निर्मित कम्पोष्ट प्लान्ट तथा नमुना कृषि स्रोत केन्द्रलाई कानून बनाई निजी क्षेत्र वा सहकारीसँगको सहकार्यमा व्यवस्थित ढंगले संचालन तथा व्यवस्थापन गर्न आवश्यक वजेट व्यवस्था गरेको छु ।
  • मझुवागढीको पहाडलाई फूलै फूलको पहाडको रुपमा विकसित गर्न आवश्यक व्यवस्थाका लागि निरन्तरता दिँदै पर्यटन प्रवर्द्धनको लागि आवश्यक पहल गरिनेछ।
  • विपद व्यवस्थापनका लागि विपद व्यवस्थापन कोषमा आवश्यक बजेट विनियोजन गरेको छु।
  • दिक्तेल वजारमा दमकलको विकल्पको रुपमा प्रयोग हुने फायर हाईड्रेन्ट व्यवस्थित गरिने छ ।

             ) संस्थागत विकास, सेवा प्रवाह तथा सुशासनः

  • नगरपालिकाको आवधिक योजना र वार्षिक नगर विकास योजना बीच तादात्म्यता कायम गर्न तीन वर्षीय मध्यमकालीन योजनाको रुपमा मध्यमकालीन खर्च संरचना (MTEF) तयार गरी लागू गर्न आवश्यक व्यवस्था मिलाएको छु।
  • शिघ्र र गुणस्तरीय सेवा प्रवाहको लागि नगरपालिकाका विभिन्न शाखाहरूबाट हुने कार्यसम्पादनलाई व्यवस्थित र प्रविधिमैत्री बनाउन सफ्टवेयरहरू जडान तथा संचालनका लागि आवश्यक बजेट व्यवस्था गरेको छु ।
  • करार पदमा करार सेवामा कार्यरत कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्दै लगिने छ ।
  • नगरपालिकाको संस्थागत विकास र सेवा प्रवाहलाई गुणस्तरीय एवं सेवाग्राहीमैत्री बनाउँदै ISO गुणस्तर मापदण्ड सम्बन्धी कार्यको सुरुवात गर्न आवश्यक बजेट व्यवस्था गरेको छु ।
  • नगर प्रहरीको क्षमता विकासको लागि आवश्यक वजेट विनियोजन गरेको छु ।
  • राजश्व सुधारका कार्यक्रम, बेरुजु अद्यावधिक तथा बेरुजु फर्छ्यौट अभियान, न्यायिक समितिको कामकारवाही सुधारका लागि आवश्यक व्यवस्था मिलाएको छु।
  • नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालयहरूबाट हुने सेवा प्रवाह सुधारको लागि आवश्यक बजेट विनियोजन गरेको छु। नगर कार्यपालिकाको कार्यालयमा व्यवस्थित हेल्प डेस्क संचालन र डिजिटल नागरिक बडापत्र जडान लगायतका कार्यहरूको व्यवस्था गरिनेछ।
  • सार्वजनिक सुनुवाई, सामाजिक परीक्षण, GESI/GRB Audit लगायत सुशासनका औजारहरूको कार्यान्वयनका लागि आवश्यक व्यवस्था मिलाएको छु। नगरपालिकाको कार्य सम्पादनसँग सम्बन्धित सूचना संचारलाई व्यवस्थित गर्न सूचना अभिलेख केन्द्रको स्थापना गर्ने व्यवस्था मिलाएको छु ।
  • नगरपालिकाको सेवा प्रवाह सुधार र कर्मचारीको मानसिक तथा शारीरिक स्वस्थताको लागि तनाब व्यवस्थापन, प्राकृतिक योग, सकरात्मक सोच र नैतिक शिक्षासँग सम्बन्धी कार्यक्रमको लागि आवश्यक बजेटको व्यवस्था गरेको छु ।
  • जनप्रतिनिधि तथा राष्ट्रसेवक कर्मचारीहरूको क्षमता विकासको लागि आवश्यक बजेटको व्यवस्था गरेको छु।

सभाध्यक्ष महोदय तथा सदस्यज्यूहरु,

आगामी आर्थिक वर्षको प्रस्तुत बजेट तथा कार्यक्रमको सफल कार्यान्वयनबाट नगरबासीले सुशासनयुक्त सेवा प्रवाहको अनुभुति गर्नु हुनेछ । नगरपालिकाको आर्थिक, सामाजिक, साँस्कृतिक, पूर्वाधार, पर्यवरणीय विकासमा उल्लेखनीय प्रगति हुनेछ । स्वच्छ, सफा र हरित नगरको रुपमा अगाडि बढ्ने विश्वास लिएको छु । नगरपालिकाले लिएका सुशासन र विकासात्मक नीतिहरूको कार्यान्वयनबाट समृद्ध, सभ्य र विकसित नगर बन्ने तर्फ अग्रसर हुनेछ ।

बजेट तर्जुमाको क्रममा मार्गदर्शन गर्नु हुने अग्रज नेतृत्व गण, विभिन्न विषय क्षेत्रका विज्ञहरू, नगरप्रमुखज्यू प्रति हार्दिक आभार प्रकट गर्दछु। बजेट तर्जुमाको क्रममा प्रत्यक्ष-अप्रत्यक्ष रचनात्मक र सिर्जनात्मक सल्लाह सुझाव दिई सहयोग गर्नुहुने कार्यपालिका सदस्यज्यूहरु, विषयगत समितिका संयोजक ज्यूहरु, नगर सभा सदस्यज्यूहरू, राजनैतिक दलका नेताज्यूहरू, शिक्षक वर्ग, विभिन्न संघ-संस्था, निजी क्षेत्र, सञ्चारकर्मी एवं समस्त नगरवासी महानुभावहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु।

बजेट तथा कार्यक्रम तयारीमा प्रत्यक्ष संलग्न भई अहोरात्र खटिनु हुने सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।

अन्त्यमा, स्थानीय तहहरूको दोस्रो निर्वाचनबाट गठित सम्मानित नगर सभामा सिमित स्रोत साधन परिचालनबाट सबै विषय क्षेत्रलाई सम्बोधन गर्नु पर्ने चुनौतिका बीच प्रस्तुत भएको यो वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयनमा यहाँहरु सबैको रचनात्मक तथा सिर्जनात्मक सहयोग प्राप्त हुने कुरामा विश्वास लिएको छु ।

 धन्यवाद !

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित