विद्यालय भवन निर्माणमा भ्रष्ट्राचार आरोपमा शिक्षा अधिकारी सहित ९ जना विरुद्ध मुद्दा दायर (भिडिओ सहित)

  • प्रकाशित मितिः जेठ २४, २०८२
  • 707 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, जेठ २३–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला शिक्षा कार्यालय खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपाल सहित ९ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मास्थित कृष्ण माविको भवन निर्माणमा अनियमितता गरेको आरोपमा जेठ २३ गते मुद्दा दायर गरेको हो ।
उक्त विद्यालय भवनमा बदनियतपूर्ण तरिकाले २५ लाख ५० हजार रूपैयाँ अनियमितता गरेको आरोपमा विशेष अदालतमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले प्रेस विज्ञप्ती मार्फत जनाएका छन् । विज्ञप्तीमा तत्कालीन शिक्षा अधिकारी नेपाल, जिल्ला शिक्षा कार्यालय खोटाङका तत्कालीन इञ्जिनियर बृधन यादव, सब–इञ्जिनियर शिवराज भट्टराई, लेखा अधिकृत भुवनप्रसाद आचार्य र लेखापाल सुरेशकुमार श्रेष्ठ छन् । त्यस्तै कृष्ण माविका तत्कालीन प्रअ खेमराज मगर, भवन निर्माणताका विद्यालय व्यवस्थापन समितिको अध्यक्षता गरेका टीकाराम राई, हरिनारायण राई र भवन निर्माण गर्ने जयप्रसाद राई विरुद्ध मुद्दा दायर भएको हो । प्रतिवादीहरू विरुद्ध जनही २५ लाख ५० हजार रूपैयाँ बिगो दाबी गरिएको विज्ञप्तीमा उल्लेख छ ।
कृष्ण माविको चारकोठे आरसीसी भवन निर्माणका लागि तत्कालीन जिल्ला शिक्षा कार्यालयको २४ लाख अनुदान र जनसहभागिताबाट २१ लाख १० हजार ८९२ गरी ४५ लाख १० हजार ८९२ रूपैयाँमा सम्झौता भएको थियो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित