हलेसी तुवाचुङ नगरपालिकामा डढेलोबाट सल्किएको आगोले एक विद्यालय र ९ घर जलेर नष्ट

  • प्रकाशित मितिः चैत ५, २०८१
  • 616 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, चैत ५–हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवामा डढेलोबाट सल्किएको आगोले एक विद्यालय र ९ घर जलेर नष्ट भएको छ । स्थानीय बाल्छीखोला सामुदायिक वनबाट सल्किएको आगोले चैत ४ गते एक सामुदायिक विद्यालय र ९ घर जलेर नष्ट भएको हो ।
हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीका अनुसार दिउसो करिब साडे तीन बजेतिर सामुदायिक वनमा लागेको डढेलोबाट सल्किएको आगोले स्थानीय बालकन्या आधारभूत विद्यालयको दुई कोठे भवन तथा स्थानीय अदम राई, सम्मरबहादुर राई, पविन्द्रकुमार राई, हिराधन राई, कृष्णबहादुर राई, चयनकुमार राई, टंकबहादुर राईको घर पूर्ण रूपमा र रणबहादुर राईको घरमा आंशिक क्षति भएको हो ।
आगो राती ९ बजेर ४५ मिनेटमा नियन्त्रणमा लिइएको गिरीले बताए । नेपाली सेना, सशस्त्र, जनपथ, नगरप्रहरी, स्थानीय लगायतले घर, विद्यालय तथा सामुदायिक वनको आगो नियन्त्रणमा लिइएको हो । आगलागी पीडितलाई चैत ४ गते राती नै प्रतिघर दश हजार रूपैयाँका दरले राहत समेत वितरण गरिएको गिरीले सुनाए । नगरप्रमुख विमला राई, उपप्रमुख रमेश राउत लगायतका टोलीले राती नै प्रतिघर दश हजारका दरले राहत वितरण गरेका हुन् । क्षति विवरण भने एकीन रूपमा आइनसकेको गिरीले बताए । प्रहरीले घटनास्थलको मुचुल्का तयार गरिरहेको र सकिएपछि एकीन विवरण खुल्ने गिरीले सुनाए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित