हलेसी महिला फुटबल प्रतियोगिताको उपाधि हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानलाई

  • प्रकाशित मितिः मंसिर १०, २०८१
  • 642 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, मङ्सिर १०–हलेसीमा मङ्सिर १० गते सम्पन्न खुला महिला फुटबल प्रतियोगिताको उपाधि हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानले चुमेको छ । ट्राइबे्रकर सुटआउटमा ३–२ ले पद्मा स्पोर्टस् क्लब ओखलढुङ्गालाई पराजित गर्दै उपाधि चुमेको हो ।
विजेता टिमले नगद एक लाख ११ हजार एक सय ११ रूपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । उपविजेता पद्मा स्पोर्टस् क्लब ओखलढुङ्गाले ५५ हजार पाँच सय ५५ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।

सेमिफाइनलिस्ट जन्तेढुङ्गा गाउँपालिका र भोजपुर नगरपालिका–१० ले २२ हजार दुई सय २२ रूपैयाँ सहित प्रमाणपत्र पाएका छन् ।
उत्कृष्ट खेलाडी हलेसी तुवाचुङकी प्रतिक्षा खत्री घोषित भएकी छन् । उनले एक हजार पाँच सय ५५ रूपैयाँ सहित मेडल र प्रमाणपत्र पाएकी छन् । त्यस्तै उत्कृष्ट डिफेण्डरमा हलेसी तुवाचुङकी वर्षा वली, उत्कृष्ट मिडफिल्डर पद्मा स्पोर्टस् ओखलढुङ्गाकी खुस्मा राई, उत्कृष्ट गोल रक्षक हलेसी तुवाचुङकी सुजता तामाङ, उत्कृष्ट कोच हलेसी तुवाचुङका लोकेन्द्र केसी, हाइस्कोरर पद्मा स्पोर्टस् क्लव ओखलढुङ्गाकी सुप्रिया श्रेष्ठ घोषित भएका छन् । उनीहरूले जनही एक हजार एक सय ११ रूपैयाँ सहित मेडल र प्रमाणपत्र पाएका हुन् ।
लैङ्गिक हिङ्साविरूद्धको १६ दिने अभियानको अवसर पारेर ‘मेरो गोल, लैङ्गिक हिंसाविरूद्धको बोल’ नारासहित हलेसी तुवाचुङ नगरपालिकाले प्रतियोगिता आयोजना गरेको हो । उक्त प्रतियोगितमा विभिन्न ठाउँका १६ टिम सहभागी थिए । खेलको उद्घाटन कोसी प्रदेश भौतिक पूर्वाधार तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राईले मङ्सिर ८ गते गरेका थिए । खेलको समापन कोसी प्रदेश सामाजिक विकास मन्त्री पाँचकर्ण राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित