अबरुद्ध हुर्लुङ–जालपा–ऐसेलुखर्क बाक्सिला सडक एक सातापछि खुल्यो (भिडियो सहित)

  • प्रकाशित मितिः भदौ २८, २०८१
  • 207 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, भदौ २८–जिल्लाको उत्तरी क्षेत्र जोड्ने हुर्लुङ–जालपा–ऐसेलुखर्क बाक्सिला सडक एक सातापछि खुलेको छ । गत भदौ २० गते उक्त सडक खण्डको खोरोलुमा गएको पहिरोले अबरुद्ध सडक भदौ २८ गते दिउसोबाट खुलेको हो ।
भदौ २६ गतेदेखि जोडर प्रयोग गरेर पहिरोले थुपारेका ढुङ्गा हटाइएपछि सडक खुलेको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विसन राईले बताएका छन् । पहिरोले ठूला–ठूला ढुङ्गा झारेकाले पन्छाउन समय लागेको राईको भनाई छ । मध्यपहाडी लोकमार्गको हुर्लुङबाट उत्तरी क्षेत्र जोडिएको उक्त सडक अबरुद्ध भएपछि उत्तरी क्षेत्रमा पर्ने जालपा, खार्मी लगायत केपिलासगढी गाउँपालिका, ऐसेलुखर्क गाउँपालिकाबासीको जिल्ला सदरमुकाम दिक्तेल, काठमाडौं, विराटनगर लगायतका शहरहरूसंग सिधा यातायात सम्वन्ध विच्छेद भएको थियो ।
जालपा–खार्मी सडक अन्तरगत जालपाको पैरेनीमा अबरुद्ध सडक भने खुलाइएको छैन । उक्त सडक मर्मतका लागि नगरपालिकाको जोडर पर्खिरहेको खार्मी साब्रुका विजय राईले बताएका छन् । ‘सडक अबरुद्ध भएपछि नानीहरूलाई स्कुलदेखि कोही विरामी परे अस्पताल जानसम्म सडक छैन’ राईले भने–‘सडक मर्मतका लागि नगरपालिकाको डोजर पर्खिएको, छिट्टै पठाई दिए हुने थियो ।’
मुढे–खार्मी सडक अन्तरगत लोचामा अबरुद्ध सडक मर्मत भइरहेको खार्मीका वडाअध्यक्ष इखबहादुर राईले बताए । नगरपालिकाले व्यवस्था गरेको डोजरले उक्त सडक मर्मत भइरहेको हो ।
ऐसेलुखर्क गाउँपालिकामा पहिरोले क्षति पु¥याएका सडकहरूको पनि मर्मत भइरहेको गाउँपालिका अध्यक्ष गिरेन्द्रबहादुर राईले बताएका छन् । उक्त गाउँपालिकाको सातै वडामा पहिरोले अबरुद्ध १६ सडकमध्ये १४ वटा खुलाइएको राईको भनाई छ । जलेश्वरी, ज्यामिरे लगायतका सडकहरू खुलाउन अझै दुई–तीन दिन लाग्ने राईले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित