थामे बाढी : हिमताल फुटेर बाढी आएको पुष्टि (भिडियो सहित)

  • प्रकाशित मितिः भदौ १, २०८१
  • 749 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, भदौ १–सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे गाउँभन्दा माथिको खुम्बु क्षेत्रका दुई वटा हिमताल फुटेर साउन ३२ गते थामेमा बाढी आएको पुष्टि भएको छ । रक्षामन्त्री मानवीर राई नेतृत्वको सुरक्षा अधिकारीहरुको टोलीले भदौ १ गते बिहान बाढी प्रभावित क्षेत्रको हेलिकप्टरबाट निरीक्षण गर्दा थामेभन्दा माथि रहेको पाँचमध्ये दुई वटा हिमताल फुटेर बाढी आएको पुष्टि भएको हो ।
सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डेका अनुसार गाउँभन्दा माथि रहेका पाँच वटा हिमतालमध्ये दुई वटा फुटेर बाढी आएको देखिएको छ । अरु दुई वटा हिमताल फुट्ने जोखिममा रहेको र एउटा हिमताल भने सुरक्षित देखिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताइन् ।
अझै दुई वटा ताल फुट्न सक्ने जोखिम देखिएकाले थामे तथा नदी आसपासका क्षेत्रमा बसोबास गर्नेहरूलाई सतर्कता अपनाउन आग्रह गरिएको बताइन् ।
साउन ३२ गते दिउँसो थामे खोलामा आएको बाढीले थामेका २० घर तथा होटल लज, एउटा विद्यालय, स्वास्थ्यचौकी र स्थानीय विद्युत् आयोजनाको विद्युत् गृह पूर्ण रूपले क्षतिग्रस्त बनाएको थियो । यसका साथै खुम्बु पासाङल्हामु–३ फाक्दिङदेखि नाम्चे क्षेत्रमा करिब दुई सय मिटर पदमार्ग कटान गरेको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित